Comments Add Comment

लकडाउन डायरी : यस्तो छ कराँते खेलाडी अनु अधिकारीको दैनिकी

२२ चैत, काठमाडौं । नेपाल मात्र होइन कोरोना भाइरसले सारा विश्वलाई नै असर गरेको छ । नेपाल अहिले लकडाउनमा छ । हामी खेलाडीहरुको काम तालिम गर्ने, खेल्ने हो । तर अहिले लकडाउनले गर्दा घरमै बस्न बाध्य छौं । म ओलम्पिक छनोटको तयारीमा पनि थिएँ । त्यो पनि कोरोनाले अर्को वर्षलाई सरेको छ ।

अहिले मेरो मुख्य फोकस भनेको आफूलाई फिट राख्ने अध्ययनलाई पनि निरन्तर दिने अनि परिवारसँग समय बिताउने गरेर नै बितिरहेको छ । घरभित्र बस्दा पहिलेको जस्तो तालिम त छैन, तर घरमै केही तालिम गरिरहेको छु ।

म अहिले लकडाउनको समयमा पनि पहिले जस्तै बिहान ५ बजे उठ्छु । त्यसपछि एक कप ग्रीन टी पिउँछु । ५ः३० देखि ६ बजेसम्म मेडिटेसन गर्छु । किन कि पहिले नियमित तालिम प्रशिक्षकसँग गरिन्थ्यो । अहिले त्यो सम्भव नभएकाले ध्यान एकदमै आवश्यक हुन्छ ।

त्यसपछि लाइट ब्रेकफास्ट लिन्छु । साथै खेलाडीको लागि शारीरिक र मानसिक रुपमा फिट राख्नु पर्ने भएकोले घरकै छतमा २ घण्टा शारीरिक कसरत गर्छु । त्यसमा स्ट्रेचिङ, किकिङ, पन्चिङ, मुभमेन्टहरु हुन्छ । म खेलाडी भएकाले पनि पूर्ण रुपमा फिट रहन केन्दि्रत हुन्छु । लकडाउनले त्यसमा असर गर्दैन ।

कोरोनाले गर्दा आउँदो जुलाई-अगष्टमा जापानमा हुने भनिएको टोकियो ओलम्पिक एक वर्षपछि सरेको छ । म पनि कराँतेबाट ओलम्पिकको लागि छनोट खेल्ने तयारीमा थिएँ । जुनसुकै खेलाडीको लागि ओलम्पिक खेल्ने ठूलो सपना हुन्छ । म पनि २०२० टोकियो ओलम्पिक अन्तर्गत सोलिडारिटी स्कलरसिपमा परेको छु । सोही अनुरुप नेपाल ओलम्पिक कमिटीले ट्रेनिङ क्याम्प शुरु गरिसकेको थियो, तर कोरोनाले गर्दा ओलम्पिक पछि सर्‍यो ।

साथै फ्रान्समा हुने भनिएको क्वालिफिकेसन टुर्नामेन्टमा भाग लिने भनिए पनि त्यो पनि अहिले स्थगित भएको छ । जसले गर्दा प्रत्यक्ष रुपमा खेलाडीहरुमा असर परेको छ । जस्तै उमेर हदबन्दी, मानसिक असर, तौल स्थिर राख्ने आदि । त्यसका बाबजुद पनि हामीले आफ्नो गतिलाई बढाउनभन्दा स्थिर कायम गर्न सके केही समय अर्थात लकडाउन खुलेपछि पहिलेकै फर्ममा आउन सक्छौं ।

यदि भोलिको दिनमा म ओलम्पिकमा छनोट हुनु छ भने अहिलेदेखि नै कडा मिहेनत गर्नु जरुरी छ । अहिले लकडाउन छ, पछि गरौंला भनेर बस्यो भने त्यो समय धेरै गाह्रो हुन सक्छ । पछि गर्छु भनेर बस्यो भने आफ्नो खेलको र्फम बिग्रन्छ र शरीरलाई त्यो इन्डुरेन्स र स्टामिना प्राप्त गर्न पनि गाह्रो हुन्छ । त्यसकारण पनि बिहानको समय २ घण्टा मैले घरमै आफैं तालिम गरिरहेको छु ।

तालिम बाहेकको समय म परिवारलाई पनि दिन्छु । यो बेला परिवारलाई समेत धेरै समय दिन पाइरहेको छु ।

बिहान तालिमपछि म ममीलाई किचेनमा सघाउने, परिवारसँग समय बिताउने गर्छु । दिउँसोको समयमा म पढाइमा केन्दि्रत हुन्छु । म एमबीएस सेकेण्ड सेमेस्टरको परीक्षाको तयारीमा थिएँ । कोरोनाले परीक्षा पनि स्थगित भएको छ । यद्यपि खेलका साथै मैले आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेको छु ।

मेरा दुई जना दाजुहरु विदेशमा हुनुहुन्छ । उहाँहरुसँग भिडियो च्याट पनि गर्छु । साँझको समयमा इन्टरनेटमा समाचारहरु हेर्छु । देश विदेशमा कहाँ के भइरहेको छ भनेर जानकारी लिन्छु ।

बेलुका म लाइट खानेकुरा खान्छु । भातचाहिँ खादिनँ, किनकी मैले तौल पनि मेन्टेन गर्नुपर्ने छ ।

त्यसपछि इन्टरनेटमै विश्व वरियताका खेलाडीहरुको फाइट हेर्छु । जसबाट मैले विभिन्न टेक्निकहरु सिक्ने अवसर पाउँछु । अनि प्वाइन्ट क्याच गर्न सकिन्छ र अपोनेन्टको कसरी डिफेन्स गर्ने थाहा हुन्छ । साथै नयाँ-नयाँ नियमहरुको बारेमा पनि अध्ययन गर्छु । खेलका भिडियोहरु हेर्छु । कहिलेकाँही फ्रेस हुन म्युजिक सुन्छ । मुभी हेर्ने पनि गर्छु । बेलुका अबेरसम्म बस्दिनँ । १० बजे सम्म सुतिसक्छु ।

यो पनि पढ्नुहोस त्यो १६ सेकेण्डले देशलाई जिताउन चुकेँ

मेरो अहिलेको लकडाउनको दैनिकी यसरी नै बितिरहेको छ । जे होस् आफ्नो लक्ष्य प्रोफेसन भनेको मेरो गेम कराँते नै हो । त्यसलाई घरभित्र बसेर जे जति आफूलाई फिट राख्नु सक्छु, जे जति गर्न सक्छु गरिरहेको छ ।

अहिले कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ । नेपालमा पनि प्रभाव देखिसकेको छ । त्यसैलै सरकारले लकडाउन गरेको छ । यस बेला घर बाहिर निस्कन मिल्दैन । खेल सबै बन्द छ । यो बेला हामी सबैले सुरक्षित रहनु जरुरी छ । अरुलाई पनि घरमै बसेर सुरक्षित हुन म आग्रह गर्छ । साथै कोरोनाबाट बच्नका लागि नेपाल सरकार र डब्लुएचओले जारी गरेका निर्देशनहरुको पालना गर्न अनुरोध गर्छु ।

प्रस्तुती : गोविन्दराज नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment