Comments Add Comment

माइक्रोसफ्ट एजले पछि पार्यो फायरफक्सलाई

यी हुन् सर्वाधिक लोकप्रिय इन्टरनेट ब्राउजर

निकट अतीतमा कुनै समय मानिसहरूले जोक गर्ने गर्दथे कि इन्टरनेट प्रयोगकर्ताहरू इन्टरनेट एक्सप्लोरर अर्थात् माइक्रोसफ्ट एज ब्राउजरलाई केवल अन्य ब्राउजर डाउनलोड गर्न मात्र प्रयोग गर्दछन् ।

त्यो एक हदसम्म सही पनि थियो । तर यदि पछिल्लो तथ्यांकलाई हेर्दा माइक्रोसफ्टले इन्टरनेट ब्राउजरको बजारमा जबरजस्त पुनरागमन गरेको देखिन्छ ।

इन्टरनेट प्रविधिहरूको बजार हिस्साको अध्ययन गरी तथ्यांक प्रस्तुत गर्ने वेबसाइट netmarketshare.com को पछिल्लो रिपोर्टअनुसार माइक्रोसफ्ट कम्पनीको पछिल्लो वेब ब्राउजर माइक्रोसफ्ट एज विश्वमा सर्वाधिक दोश्रो लोकप्रिय इन्टरनेट ब्राउजर बन्न सफल भएको छ ।

मोजिल्ला फायरफक्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको माइक्रोसफ्ट एजको बजार हिस्सा ७.५९ प्रतिशत रहेको छ । जबकि तेस्रो स्थानको मोजिल्ला फायरफक्सको बजार हिस्सा ७.१९ प्रतिशतमा झरेको छ ।

चौथो स्थानमा माइक्रोसफ्टकै इन्टरनेट ब्राउजरको रूपमा रहेको इन्टरनेट एक्सप्लोरर ११ रहेको छ, जसको बजार हिस्सा ५.६ प्रतिशत छ ।

सन् २०१९ को मार्चमा मोजिल्लाको बजार हिस्सा ९.२ प्रतिशत थियो भने माइक्रोसफ्ट एजको बजार हिस्सा ५.२ प्रतिशत थियो । यो एक वर्षमा फायरफक्सले गुमाएको बजारको हिस्सा माइक्रोसफ्ट एजले क्यास गर्न सफल भएको देखिएको छ । मोजिल्लाले फायरफक्सलाई सबैभन्दा सुरक्षित ब्राउजर दाबी गर्दै आएको छ ।

त्यस्तै टप फाइभमा पर्न सफल एप्पलको सफारी ब्राउजरको बजार हिस्साचाहिँ ३.६२ प्रतिशत रहेको छ ।

गुगल क्रोमको साम्राज्य कायमै

इन्टरनेट ब्राउजरको दुनियाँमा गुगल क्रोमले एकछत्र राज कायमै देखिएको छ । मार्च महिनासम्मको तथ्यांकअनुसार, इन्टरनेट ब्राउजरको बजारमा गुगलको क्रोमको हिस्सा दुई तिहाइभन्दा बढी अर्थात् ६८.५ प्रतिशत रहेको छ ।

शीर्ष दशभित्र पर्न सफल अन्य ब्राउजरहरूमा क्यूक्यू, ओपेरा, यान्डेक्स, सोगोउ एक्सप्लोरर तथा युसी ब्राउजर रहेका छन् ।

माइक्रोसफ्टको एज ब्राउजर अहिले क्रोममा आधारित ब्राउजर बनिसकेको छ र यसका धेरै एक्सटेन्सनहरू क्रोम वेब स्टोरमा पनि उपलब्ध छन् ।

गुगल क्रोमजत्तिकै सरल उत्कृष्ट नभएता पनि माइक्रोसफ्ट एजमा पछिल्लो समयमा निकै सुधार भएको छ र धेरै खालका डिभाइसमा सजिलोसँग चलाउन सकिने बनाइएको छ ।

माइक्रोसफ्टको विन्डोज १० मा डिफल्ट ब्राउजरको रूपमा रहेको माइक्रोसफ्ट एजको लोकप्रियता विन्डोज १० को लोकप्रियतासँगै बढिरहेको छ । विन्डोज १० अपरेटिङ सिस्टम विश्वमा १ अर्ब डिभाइसमा इन्स्टल भइसकेको छ, त्यसैले पनि माइक्रोसफ्ट एजका प्रयोगकर्ताको संख्या मनग्ग भएको हो ।

यद्यपि, दुई तिहाइ बजारमा कब्जा जमाएको गुगल क्रोमभन्दा माइक्रोसफ्ट एज निकै पछाडि छ । तथापि, फायरफक्सलाई पछि पार्नुलाई माइक्रोसफ्ट एजको ठूलो सफलता मानिएको छ ।

मोबाइल ब्राउजरमा सामसुङ तेस्रो

डेस्कटप प्रयोगकर्ताहरूमाझ सर्वाधिक लोकप्रिय रहेको गुगल क्रोम स्मार्टफोन प्रयोगकर्ताहरूमा पनि उत्तिकै लोकप्रिय छ । स्मार्टफोनको इन्टरनेट ब्राउजरमा गुगल क्रोम ६३.६७ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा छ ।

डेस्कटप ब्राउजरको बजार हिस्सामा निकै कमजोर रहेको एप्पलको सफारी ब्राउजर स्मार्टफोन ब्राउजरको बजार हिस्सामा भने मजबुत देखिएको छ ।

स्मार्टफोनमा सफारी ब्राउजर दोस्रो लोकप्रिय ब्राउजरको रूपमा रहेको छ । जसको बजार हिस्सा २६.४६ प्रतिशत रहेको छ । त्यस्तै तेस्रो स्थानको सामसुङ ब्राउजरको बजार हिस्सा ४.२४ प्रतिशत रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment