+
+
Shares

माइक्रोसफ्ट एजले पछि पार्यो फायरफक्सलाई

यी हुन् सर्वाधिक लोकप्रिय इन्टरनेट ब्राउजर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते ८:३९

निकट अतीतमा कुनै समय मानिसहरूले जोक गर्ने गर्दथे कि इन्टरनेट प्रयोगकर्ताहरू इन्टरनेट एक्सप्लोरर अर्थात् माइक्रोसफ्ट एज ब्राउजरलाई केवल अन्य ब्राउजर डाउनलोड गर्न मात्र प्रयोग गर्दछन् ।

त्यो एक हदसम्म सही पनि थियो । तर यदि पछिल्लो तथ्यांकलाई हेर्दा माइक्रोसफ्टले इन्टरनेट ब्राउजरको बजारमा जबरजस्त पुनरागमन गरेको देखिन्छ ।

इन्टरनेट प्रविधिहरूको बजार हिस्साको अध्ययन गरी तथ्यांक प्रस्तुत गर्ने वेबसाइट netmarketshare.com को पछिल्लो रिपोर्टअनुसार माइक्रोसफ्ट कम्पनीको पछिल्लो वेब ब्राउजर माइक्रोसफ्ट एज विश्वमा सर्वाधिक दोश्रो लोकप्रिय इन्टरनेट ब्राउजर बन्न सफल भएको छ ।

मोजिल्ला फायरफक्सलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको माइक्रोसफ्ट एजको बजार हिस्सा ७.५९ प्रतिशत रहेको छ । जबकि तेस्रो स्थानको मोजिल्ला फायरफक्सको बजार हिस्सा ७.१९ प्रतिशतमा झरेको छ ।

चौथो स्थानमा माइक्रोसफ्टकै इन्टरनेट ब्राउजरको रूपमा रहेको इन्टरनेट एक्सप्लोरर ११ रहेको छ, जसको बजार हिस्सा ५.६ प्रतिशत छ ।

सन् २०१९ को मार्चमा मोजिल्लाको बजार हिस्सा ९.२ प्रतिशत थियो भने माइक्रोसफ्ट एजको बजार हिस्सा ५.२ प्रतिशत थियो । यो एक वर्षमा फायरफक्सले गुमाएको बजारको हिस्सा माइक्रोसफ्ट एजले क्यास गर्न सफल भएको देखिएको छ । मोजिल्लाले फायरफक्सलाई सबैभन्दा सुरक्षित ब्राउजर दाबी गर्दै आएको छ ।

त्यस्तै टप फाइभमा पर्न सफल एप्पलको सफारी ब्राउजरको बजार हिस्साचाहिँ ३.६२ प्रतिशत रहेको छ ।

गुगल क्रोमको साम्राज्य कायमै

इन्टरनेट ब्राउजरको दुनियाँमा गुगल क्रोमले एकछत्र राज कायमै देखिएको छ । मार्च महिनासम्मको तथ्यांकअनुसार, इन्टरनेट ब्राउजरको बजारमा गुगलको क्रोमको हिस्सा दुई तिहाइभन्दा बढी अर्थात् ६८.५ प्रतिशत रहेको छ ।

शीर्ष दशभित्र पर्न सफल अन्य ब्राउजरहरूमा क्यूक्यू, ओपेरा, यान्डेक्स, सोगोउ एक्सप्लोरर तथा युसी ब्राउजर रहेका छन् ।

माइक्रोसफ्टको एज ब्राउजर अहिले क्रोममा आधारित ब्राउजर बनिसकेको छ र यसका धेरै एक्सटेन्सनहरू क्रोम वेब स्टोरमा पनि उपलब्ध छन् ।

गुगल क्रोमजत्तिकै सरल उत्कृष्ट नभएता पनि माइक्रोसफ्ट एजमा पछिल्लो समयमा निकै सुधार भएको छ र धेरै खालका डिभाइसमा सजिलोसँग चलाउन सकिने बनाइएको छ ।

माइक्रोसफ्टको विन्डोज १० मा डिफल्ट ब्राउजरको रूपमा रहेको माइक्रोसफ्ट एजको लोकप्रियता विन्डोज १० को लोकप्रियतासँगै बढिरहेको छ । विन्डोज १० अपरेटिङ सिस्टम विश्वमा १ अर्ब डिभाइसमा इन्स्टल भइसकेको छ, त्यसैले पनि माइक्रोसफ्ट एजका प्रयोगकर्ताको संख्या मनग्ग भएको हो ।

यद्यपि, दुई तिहाइ बजारमा कब्जा जमाएको गुगल क्रोमभन्दा माइक्रोसफ्ट एज निकै पछाडि छ । तथापि, फायरफक्सलाई पछि पार्नुलाई माइक्रोसफ्ट एजको ठूलो सफलता मानिएको छ ।

मोबाइल ब्राउजरमा सामसुङ तेस्रो

डेस्कटप प्रयोगकर्ताहरूमाझ सर्वाधिक लोकप्रिय रहेको गुगल क्रोम स्मार्टफोन प्रयोगकर्ताहरूमा पनि उत्तिकै लोकप्रिय छ । स्मार्टफोनको इन्टरनेट ब्राउजरमा गुगल क्रोम ६३.६७ प्रतिशत बजार हिस्सासहित पहिलो स्थानमा छ ।

डेस्कटप ब्राउजरको बजार हिस्सामा निकै कमजोर रहेको एप्पलको सफारी ब्राउजर स्मार्टफोन ब्राउजरको बजार हिस्सामा भने मजबुत देखिएको छ ।

स्मार्टफोनमा सफारी ब्राउजर दोस्रो लोकप्रिय ब्राउजरको रूपमा रहेको छ । जसको बजार हिस्सा २६.४६ प्रतिशत रहेको छ । त्यस्तै तेस्रो स्थानको सामसुङ ब्राउजरको बजार हिस्सा ४.२४ प्रतिशत रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?