Comments Add Comment

लकडाउनमा बालबालिकालाई घरमै यसरी पढाऔँ

सरकारले फेरि सात दिनको लागि लकडाउन थप्ने घोषणा गरेको छ । विगत दुई सातादेखि सिँगो मुलुक बन्द छ । सबै जनता घरभित्र छन् । कलकारखाना र उद्योगधन्दा, यातायात, कार्यालय बन्द छन् ।

स्कुल, कलेज र विश्वविद्यालय सबै बन्द छन् । विश्वका धेरै देशमा स्कुल बन्द हुँदा बालबालिकाको नियमित पठन पाठन र सिकाइलाई निरन्तरता दिन सकियोस् भनेर सञ्चारमाध्यम र डिजिटल एपका माध्यमबाट सरकार तथा सम्बन्धित विद्यालयबाट नै कक्षा सञ्चालन हुँदै आएका छन् । नेपालमा पनि केही विद्यालयले यस किसिमको अभ्यास सुरु गरेका छन् ।

तर, अधिकांश विद्यालय र अभिभावकलाई लामो विदाको समयमा बालबालिकाको सिकाइलाई कसरी सुरु गर्ने भन्ने विषयले पिरोलेको छ । यस लेखमा होम स्कुलिङ्ग अन्तर्गत् कसरी अभिभावकले बालबालिकाको सिकाइ प्रक्रियामा सहयोग पुर्‍याउन सक्छन् भन्ने चर्चा गरिएको छ ।

होम स्कुलिङ भनेको के हो ?

घर पहिलो पाठशाला हो । बाबुआमा पहिलो गुरू हुन् । बालबालिकाले घरमा धेरै कुरा सिक्ने गर्छन् । विश्वमा विद्यालय नहुँदा पनि मानिसले सिक्ने र नयाँ कुराको खोज र आविष्कार गर्न कहिल्यै छोडेनन् । त्यसैले सिकाइ विद्यालयमा मात्र हुन्छ भन्ने छैन । घरमा रहेर पनि बालबालिकाले धेरै कुरा सिक्न सक्छन् । बाबुआमा र अभिभावकले घरमै सिकाइको वातावरण निर्माण गरेर बालबालिकालाई सिक्न प्रेरित वा सहयोग गर्नु नै होम स्कुलिङ हो ।

होम स्कुलिङ कसरी गर्ने ?

सिकाइलाई वर्गीकरण गर्नुहोस् । छोराछोरीको उमेरअनुसार उनीहरुलाई के सिकाउँदा उपयुक्त हुन्छ, छलफल गर्नुहोस् । अहिलेलाई स्कुलको पुस्तक, परीक्षा, नतिजा सबै छाडिदिनुहोस् । स्कुल लागे पछि त्यहीँ सिक्छन् । घरमा रहँदा यस्तो कुरा सिकाउनुहोस्, जुन कुरा पुस्तकमा पढ्न पाइन्न र विद्यालयमा पनि सिक्न सकिन्न । तर, त्यस्तो के चाहिँ हुनसक्ला त ?

१. घरायसी जीवनका लागि आवश्यक जीवनोपयोगी सीप सिकाउनुहोस् ।

बिहानै उठेर आफ्नो ओच्छ्यान आफैँ मिलाउन सिकाउनुहोस् । ग्यास स्टोभ बाल्न र निभाउन सिकाउनुहोस् । किचनमा भएका सबै भाँडाकुँडाका नाम बताइदिनुहोस् । खाना पकाउँदा चाहिने सबै मसलाको नाम बताइदिनुहोस् । तरकारी काट्न, प्रेसर कुकरको बिर्को लगाउन, चामलमा पानी अड्कल्न, नुन र चिनीको मात्रा अड्कल्न लगायत सबै सिकाउनुहोस् । उनीहरुले आफूले लगाएको कपडा आफैँ धुन सिकाउनुहोस् । धोएको कपडालाई मिल्ने भए मिलाएर आइरन लगाउन सिकाउनुहोस् । सहरका बालबालिका गाउँघरमा भए घाँस काट्ने हँसिया, खेत खन्ने कोदालो, डोको, थुन्से, ढिकी, जाँतो, ठेकी लगायत सबै देखाइदिनुहोस् । सम्भव भए प्रयोग गर्न सिकाउनुहोस् ।

२. आफ्नो संस्कार र सभ्यता सिकाउनुहोस् ।

एक जना प्रख्यात शिक्षाविद् गिजुभाइले भनेका छन् ‘घरमा बिगि्रएको बालबालिकालाई भगवानले पनि सपार्न सक्दैनन् । अर्थात्, घर नै संस्कार र सभ्यताको स्रोत हो । हामी जस्तो छौं र जस्तो व्यवहार गर्छौं । हाम्रा बालबालिकाले त्यस्तै सिक्ने गर्छन् । उनीहरु हाम्रा फोटोकपी हुन् । त्यसैले उनीहरुलाई कस्तो कुरा सिकाउँदै छौं भन्ने कुरा हामी आफैँले विचार गर्नु पर्छ । हामीले प्रयोग गर्ने भाषा, शिष्टता, विनम्रता, इमान्दारिता लगायत सबैकुरा हामीबाट नै उनीहरुले ग्रहण गर्ने भएकोले यो विषयमा बडो सचेत रहनुपर्छ ।

३.उनीहरुलाई आफ्ना आफन्त र छिमेकी को हुन् भनेर चिनाउनुहोस् ।

४.आफ्नो परिवार र पूर्खा कहाँबाट आए ? क-कसले के-के पेसा गर्छन् र अहिले कहाँ छन् भनेर भनिदिनुहोस् ।

५.पूर्खाको इतिहास बताउनुहोस् । यसले धर्म, संस्कृति र इतिहास सिकाउनुहोस् ।

आफ्नो परिवार वा समुदायका मौलिक परम्परा के हुन् ? चाडपर्व के-के हुन् ? कसरी मनाइन्छ ? तिनको महत्व के छ ? लगायत सबै बताइदिनुहोस् । मौलिक नाच, गीत र सँगीत कस्ता छन् ? भाका कस्ता छन् ? बाजागाजा कस्ता छन्, कसरी बजाउने ? सम्भव भएसम्म सबै देखाइदिनुहोस् । तपाईंको समुदाय, धर्म, संस्कारसँग जोडिएका गीत गाउनुहोस्, परम्परागत नाच भए नाच्नुहोस, कथा र किंवदन्ती सुनाउनुहोस् ।

६. अहिले सबैको हातमा मोबाइल छ । घरभित्रकै व्यक्तिको अन्तर्वार्ता लिन लगाउनुहोस । टेलिभिजन र युट्युब हेरेर कसरी प्रश्न सोध्नुपर्ने रहेछ बुझ्न लगाउनुहोस् । उनीहरुले बोलेका कुरा क्यामरामा खिच्न लगाउनुहोस् । यो उनीहरुको पब्लिक स्पिकिङको कक्षा हुनेछ ।

अब एकछिन हेरौँ त, तपाईंले घरभित्रै छोराछोरीलाई स्कुलमा पढाइ हुने सबै विषय :

-अब तपाईंएले सिकाएका, देखाएका, भनेका विषय वा नामलाई लेख्न लगाउनुहोस् । तिनीहरुको प्रयोग किन गरिने रहेछ अझ विस्तृतमा लेख्न लगाउनुहोस् । उनीहरुले लेखेको कुरालाई मिल्छ भने आफ्नो मातृभाषा, नेपाली तथा अंग्रेजी भाषामा भन्न लगाउनुहोस् ।

भाषाको कक्षा भएन त ? उमेर र क्षमता अनुसार उनीहरुले आफैँ मिलाएर लेख्छन् अनि बोल्छन् ।

-तपाईंले किचनमा देखाएका भाँडाका आकार, तौल, संख्या सबैको मापन गर्न लगाउनुहोस् । कुन बढी, कुन कम, कुन कतिले बढी र कम ? किन बढी, किन कम ? सबै खोज्न लगाउनुहोस् । एउटा आलुलाई कति चाना बनाएर काटियो ? प्याजलाई कति टुक्रा पारियो ? कुनकुन आकारमा काटियो ? सबै भन्न लगाउनुहोस् ।

कोठालाई नाप्न लगाउनुहोस् । लम्बाइ र चौडाइ कति फिट रहेछ ? उचाइ कति रहेछ ? यसको आधारमा क्षेत्रफल र आयतन निकाल्न लगाउनुहोस् । कोठामा कति मिटर कार्पेट चाहिने रहेछ ? ट्याङ्कीमा कति लिटर पानी अट्ने रहेछ ? त्यसलाई दश लिटरको ग्यालिनमा भर्दा कति ग्यालिन भरिने रहेछ ? सबै खोज्न लगाउनुहोस् ।

तपाईंको घरमा मासिक कति खर्च हुन्छ ? कति कमाइ हुन्छ ? कति प्रतिशत शिक्षामा र कति प्रतिशत खाद्यान्नमा खर्च हुँदोरहेछ निकाल्न लगाउनुहोस् । दश प्रतिशत छुटमा किनेको सामानमा कति रुपैयाँ घट्दो रहेछ सबै खोज्न लगाउनुहोस् ।

गणित यही हो । बालबालिकाले कागजमा सिकेको गणितभन्दा यो सिकाइ हजार गुणा प्रभावकारी र व्यवहारिक हुन्छ ।

-कतिओटा भाँडा कुन पदार्थले बनेका रहेछन् ? प्लाष्टिकले बनेका, तामाले बनेका, फलामले बनेका, काँचले बनेका, पित्तललगायतले बनेका समान केके रहेछन् घरमा खोज्न लगाउनुहोस् । पङ्खा कसरी घुम्दोरहेछ ? खाना तथा अन्न पानीमा भिजाउँदा किन नरम बन्दोरहेछ ? ग्यास कसरी बल्दोरहेछ ? पि|mजले किन चिसो बनाउँछ, आगोले किन तताउँछ सबै खोज्न लगाउनुहोस् । तरकारीको रंग किन हरियो भएको, दूध किन सेतो भएको, खुर्सानी किन पीरो भएको ? कुन खानेकुरामा कुन पौष्टिक आहार पाइन्छ ? चक्कुले किन सजिलै काटेको ? सिलौटोले कसरी पिस्छ ? सिलौटालाई मिक्सरले कसरी विस्थापित गर्‍यो ? लगायत सबै बुझ्न लगाउनुहोस् ।

यो सबै विज्ञान हो

-त्यस्तै, आफन्त, छिमेकी, परम्परा, धर्म-संस्कार, चाडपर्व, बाजागाजा, भेषभुषा लगायतका विषय सामाजिक अध्ययनमा समेटिने विषय हुन् । घरपरिवार, पारस्परिक सहयोग, सामूहिक कार्य, मेलमिलाप, एकता लगायतका विषय उनीहरुले घर परिवार भित्रैबाट सिक्ने मौका पाउने गर्छन् ।

नियमित हात धुने कुरा, सरसफाई गर्ने कुरा, रोगबाट बच्न अपनाउनु पर्ने सजगताका कुराहरु हुन् । भाइरस र ब्याक्टेरियाका कुरा, सरुवा रोगका कुरा यी सबै स्वास्थ्य शिक्षासँग सम्बन्धित कुरा हुन् । जसरी स्कुलको पुस्तक नपढी बालबालिकाले कोरोनाका विषयमा जानकारी पाए । अन्य धेरै कुरा उनीहरुले सूचना र प्रविधिका माध्यमबाट थाहा पाउन सक्छन ।

साथै, युट्युब र गुगलमा खोजेर घरभित्रै उपलब्ध भएका वस्तुलाई प्रयोग गरेर चित्र बनाउनु, सजावटका सामग्री बनाउनु, कागजका कलात्मक सामग्री बनाउनु सृजनात्मक कला विषयअन्तर्गत् पर्ने सिकाइ हुन् ।

-यसरी सबै प्रश्नको उत्तर थाहा नभएपनि उनीहरू आफैँ खोज्न थाल्नेछन् । यो उत्सुकताको विकास हो । कतिपय विषयमा घण्टौं सोच्नुपर्ने, सामान चलाउनुपर्ने हुनसक्छ । त्यो स्वसिकाइ हो । अनुसन्धान हो । कहिलेकाहीँ साथीसँग सल्लाह गरेर यसको उत्तर पत्ता लगाउनुपर्ने हुन्छ । कतिपय अवस्थामा दाइ, दिदी, शिक्षक  लगायतलाई सोध्नुपर्ने स्थिति आउनसक्छ । यो ‘पीर लर्निङ’ हो । कहिलेकाहीँ गुगल तथा युट्युबबाट समाधान खोज्नुपर्ने हुनसक्छ । कहिले पुस्तकको सहारा लिनुपर्ने हुनसक्छ । यसरी कुनै एउटा खोजमूलक समस्या वा विषय लिएर जुनसुकै माध्यमबाट विस्तृतमा खोज्न अनि लेख्न लगाई पत्ता लागेको कुरा प्रस्तुति दिन लगाउनुभयो भने त्यो परियोजना सफल भयो ।

-यसरी तपाईंले सिकाउँदा तपाईं आफू विषयवस्तुको विज्ञ हुनुपर्छ भन्ने जरूरी छैन । तपाईंले मात्र वातावरण निर्माण गरिदिने हो । सिक्ने काम बालबालिका आफैँ गर्नेछन् । अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘म मेरा विद्यार्थीलाई पढ्न कहिल्यै पनि दबाब दिन्न, बरु उनीहरुले आफैँले सिक्न सक्ने वातावरणको निर्माण गरिदिन्छु ।’ तपाईंले घरमा निर्माण गरिदिने वातावरण उनीहरुको सिकाइका लागि सबैभन्दा उत्तम बन्नसक्छ ।

-सुनेर, हेरेर, छोएर, गरेर, भोगेर, प्रयोग गरेर सिकेको ज्ञान सबैभन्दा महत्वपूर्ण हुन्छ । यस्तो सिकाइ दीर्घकालीन र व्यवहारिक पनि हुन्छ । यसमा न त तोकिएको बाध्यकारी पाठ्यक्रम नै छ, न त पट्यारलाग्दा पाठ्यपुस्तक नै । यस्तो किसिमको सिकाइले बालबालिकालाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा सहभागी बनाउँछ । उत्सुक बनाउँछ । अनुसन्धानात्मक र अध्ययनशील बनाउँछ । सोचाइलाई बहुआयामिक बनाउँछ । समालोचनात्मक सोचको विकास गर्दछ ।

-अहिले विश्वमा सिकाइलाई कक्षाकोठाभन्दा बाहिर पनि लैजाने विषयमा थुप्रै अध्ययन हुँदैछन् । सोही अनुरुपका पाठ्यक्रम बन्दैछन् । तसर्थ, तपाईं अभिभावकका लागि सिकाइको नवीनतम अभ्यासको पाइलोटिङ गरेर यस्तो पो सिकाइ भनेर प्रमाणित गर्ने अवसर पनि हो । भोलि विद्यालयलाई बाटो देखाउने अवसर पनि हो ।

(घिमिरे वृहद् राष्ट्रिय शिक्षा अभियानका संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment