Comments Add Comment

परीक्षणविनै शिक्षण अस्पतालमा पीपीई बुथ

Photo Credit : विकास श्रेष्ठ/अनलाइनखबर

२४ चैत, काठमाडौं । कोरोनाको त्रास फैलिएसँगै देशभरका अस्पताल तथा स्वास्थ्यकर्मीहरु पीपीई (पर्सनल प्रोटेक्टिभ इक्वीपमेन्ट) को अभावमा छट्पटाइरहेका छन् । सरकारले पर्याप्त संख्यामा पीपीई उपलब्ध गराउन नसकेका बेला काठमाडौंमा एउटा कारखानाले पीपीईको विकल्पका रुपमा ‘पीपीई बुथ’ बनाउन थालेको छ ।

भक्तपुरमा रहेको महालक्ष्मी फर्निचरले पीपीई बुथ निर्माण सुरु गरेको छ । अहिलेसम्म ४ वटा बुथ निर्माण भइसकेको र तीमध्ये तीनवटा प्रयोगमा समेत आइसकेको महालक्ष्मी फर्निचरका प्रोप्राइटर सञ्जिब प्रधानाङ्गले बताए । तर, यसको अहिलेसम्म कुनै सरकारी निकायबाट परीक्षण भने भएको छैन ।

‘भुकम्प प्रतिरोधात्मक भवनहरु बनाउने गोर्खा इकोप्यानलको सीइओ कृष्णभक्त दुवालजीले डिजाइन लिएर आउनुभयो, हामीलाई पनि त्यो सही लागेर निर्माण गरेका हौं । यसका लागि आवश्यक केमिकलहरु पनि उहाँले नै दिनुभएको हो,’ प्रधानाङ्गले भने ।
प्रधानाङ्गका अनुसार आल्मुनियम र सिसाले बनेको पीपीई बुथ पूरै एयरटाइट छ । यसमा पानी र हावा दुबै पस्न नसक्ने उनले बताए ।

दुवालले दिएका केमिकल प्रयोग गरेर उक्त बुथलाई ‘एयरटाइट’ बनाइएको प्रधानाङ्गको भनाइ छ । तर, ती केमिकल के हुन् भन्ने चाहिँ आफूलाई जानकारी नभएको उनी बताउँछन् ।

एउटा पीपीई बुथ बनाउन करिब ६० हजार रुपैयाँ परेको भन्दै उनले केही अस्पतालहरुबाट अर्डर आइरहेको र मागबमोजिम आपूर्ति गर्न आफूहरुलाई कुनै समस्या नरहेको उल्लेख गरे ।

परीक्षणबिनै प्रयोगमा
महालक्ष्मी कारखानाले बनाएका चारवटा मध्ये तीनवटा पीपीई बुथहरु प्रयोगमा आइसकेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा, भक्तपुर अस्पताल र जनस्वास्थ्य अस्पताल भक्तपुरमा तीनवटा पीपीई बुथरु लगिएका छन् । एउटा चाहिँ अहिले कारखानामै छ ।

शिक्षण अस्पतालले हिजैबाट सो पीपीई बुथलाई प्रयोगमा ल्याएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । कोरोनाको जस्तै लक्षण भएका बिरामीहरुको स्वाब संकलन गर्दा सो बुथ प्रयोग गरिने उनले जानकारी दिए ।

‘कोरोनाको आशंका भएका बिरामीलाई यहाँभित्र बसेर पीपीई नलगाइकन पनि डाक्टरले जाँच्न सक्छन् । उपयोगी देखेर नै लिएका हौं,’ उनले भने, ‘तर, त्यसखालका बिरामी अहिले आएका छैनन् ।’

खड्काका अनुसार अमेरिका–नेपाल फाउन्डेसन भन्ने संस्थाले खरिद गरेर टिचिङ अस्पताललाई सो पीपीई बक्स अनुदान दिएको हो ।

एउटा निजी कारखानले बनाएको पीपीई बुथको कुनै निकायले परिक्षण गरेको छैन । टिचिङले पनि परीक्षणविनै प्रयोगमा ल्याएको हो । यस विषयमा प्रश्न गर्दा खड्काले परीक्षण गरिरहनु नपर्ने बताए ।

‘परिक्षण गर्नै पर्दैन । यसको ग्लासबाट हावा छिर्न सक्दैन । जाबो एउटा प्लास्टिकको एप्रोनले त भाइरस रोक्छ भने सिसाले रोक्दैन ?’ उनले प्रश्न गरे ।

कारखानाका प्रोपाइटर प्रधानांगलाई यसको विश्वसनीयतामा कसरी निश्चिन्त हुन सकिन्छ भन्ने प्रश्न गर्दा उनले जवाफ दिए, ‘दुवालजीले दिनुभएको डिजाइनमा उहाँले नै दिनुभएको केमिकल प्रयोग गरेर हामीले बनाएका हौं, बाँकी कुरा दुवालजीलाई नै सोध्नुहोला,’ उनले भने ।

यस्तो छ बुथ

बाकसको आकारमा रहेको पीपीई बुथको पछाडिपट्टि ढोका हुन्छ । डाक्टर भित्र छिरेपछि ढोका टम्म लाग्छ । बुथ बाहिर एउटा टेबलमा चिकित्सकको हातले भेट्ने गरी स्टेथेस्कोप लगायत आवश्यक सामग्री राखिएको हून्छ । बुथको अगाडी भागमा दुईवटा प्वाल पारेर त्यसमा एयरटाइट हुने गरी दुईवटा ग्लोभ्स जोडिएका हुन्छन् । डाक्टरले ती ग्लोभ्समा दुई हात छिराएर बिरामीलाई छुन र जाँच्न सक्छन् । भित्रबाट डाक्टरले बिरामीलाई हेर्न र उसले बोलेको सुन्न भने सकिने प्रधानांगले बताए ।

यस्ता बुथहरु अन्य केही देशहरुमा पनि प्रचलनमा आएका छन् । कोरोनाको प्रकोपसँगै पीपीईको अभाव भएपछि यस्तो बुथको डिजाइन गरिएको हो । एउटै बुध लामो समय प्रयोगमा आउने र धेरै डाक्टरहरुले प्रयोग गर्न सक्ने भएकाले यो पीपीईभन्दा मितव्ययी हुने मानिन्छ । पीपीई प्रयोग गर्न डाक्टरहरुलाई निकै झण्झटिलो पनि हुन्छ । यो शौचालय जाँदा पनि खाना खानेबेला यो खोल्नुपर्छ । साथै, एकपटक खोपछि त्यसलाई तत्कालै फेरि लगाउन मिल्दैन ।

पीपीई बुथ भने सरल तरिकाले प्रयोग गर्न सकिन्छ । भित्र पसेपछि डाक्टरले सामान्य कपडामै आरामसँग बिरामी जाँच्न सक्छन् । तर, अहिले बनाएर प्रयोगमा ल्याइएका बुथ कति विश्वसनीय र भरपर्दा छन् भन्ने चाहिँ परीक्षण आवश्यक देखिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment