Comments Add Comment

भारतीय शहरमा नेपालीको बिचल्ली, सडकपेटीमै दिनरात बिताउँदै   

गड्डाचौकी नाकाको फाइल तस्वीर

२८ चैत, भीमदत्तनगर (कञ्चनपुर)। विगत छ वर्षदेखि महाराष्ट्रको मुम्बई स्थित दादरको एक होटलमा चाइनिज कुकमा कार्यरत कञ्चनपुरको दोधारा चाँदनीका सुरजसिंह कार्कीको दैनिकी विगत एक महिनायता फेरिएको छ ।

निरन्तरको बसाइँले त्यहाँ धेरै घुलमिल भएका उनी त्यतिबेला कोरोना भाइरसको जोखिम हुन नदिन भारतले गरेको लकडाउनपछि बिचल्लीमा परेका नेपालीलाई सम्पर्कमा ल्याउन व्यस्त छन् । ‘घरबाट बुबा/आमाको रातो टीका र धन कमाउने आशीर्वाद लिएर बिदा सकेर चार महिनाअघि मात्रै काममा फर्किए’ मुम्बईबाट टेलिफोनमा उनले भने, ‘अब त धन कमाएर घर पठाउनेभन्दा पनि बाँच्न नै मुस्किल पर्‍यो ।’

उनीसँग उक्त होटलमा कार्यरत दोधारा चाँदनीका चार युवक लकडाउनदेखि आश्रय लिइरहेका छन्। उनले  कञ्चनपुर, कैलाली र बैतडीलगायत जिल्लाका दैनिक ज्यालादारीमा काम गर्ने मजदुर लकडाउनका कारण सडक पेटीमा रात बिताइरहेको जानकारी दिए ।

‘धेरैलाई त घरबेटी नै निकाल्दैछन्’ उनले भने, ‘जहान परिवार र लालाबाला लिएर यो विपतको घडीमा कहाँ जाऊन् ।’ उनले आफूहरु सकुशल घर फर्किने पाए भन्ने ठूलो आशमा बसेको बताए । ‘सुदूरपश्चिमका मात्रै यहाँ अलपत्र परेका तीन सय जति सम्पर्कमा छन्’ उनले भने, ‘सबैको एक स्वर छ, हामीलाई सरकारले स्वदेश फर्काउने वातावरण बनाइदेओस् ।’

कार्कीले दैनिक जसो मुम्बई र आसपासका क्षेत्रमा नेपाली मजदुरहरुले व्यहोरिरहेको समस्या सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । ‘यहाँ रहेकाको वेदना कसैले सुन्छन् कि भनेर सामाजिक सञ्जालको साहारा लिइरहेका छौँ ‘ उनले भने, ‘हामीलाई उद्धारका लागि पहल गर्न आग्रह गर्छौँ ।’

उनले सीमा क्षेत्रको अवस्था केही समयका लागि सामान्य बनाएर नेपालीलाई स्वदेशकै क्वारेन्टाइनमा पुर्‍याउन माग गरे । ‘कोरोनाको जोखिमप्रति हामी पनि चिन्तित छौँ’ उनले भने, ‘नेपालबाट हामीलाई लिन बस पठाइदिए हामी आफैँ बस भाडा तिर्थ्यौं भन्नेमा छौँ ।’

बैतडीका जगदीश भण्डारीले ६० जना मजदुर मुम्बईमा अलपत्र परेको जानकारी दिए । ‘होटलको स्टाफ रुपमा कोचिएर रात दिन काट्नुपर्ने अवस्था छ’ उनले भने, ‘अरु बिरामी पर्दा औषधि लिन सुरक्षाकर्मीले जान दिएको अवस्था छैन ।’

त्यसैगरी मुम्बईको अन्धेरीमा होटलमा काम गर्दै आइरहेका कञ्चनपुरको दोधारा चाँदनीका राजेन्द्र चन्दले लकडाउनका कारण होटल साहुले घर जान दबाब दिइरहेको बताए । ‘खान, बस्न त अहिलेसम्म ठिकै थियो’ चन्दले भने, ‘हिजो साहुले लकडाउन लम्बिन्छ घर जाऊ भन्यो ।’

उनले आफू पारिवारिक परिस्थितिले तीन महिनाघि मुम्बई आएको बताउँदै उद्धारका लागि सरकारले ध्यान दिनुपर्ने बताए । ‘भारतीय सरकारसँग यहाँ रहेका अलपत्र नेपालीको खानपिन र बसोबासका लागि समन्वय गरिदिए पनि हुन्थ्यो’ उनले दुखेसो गरे, ‘नेपाली बिरामी परे पनि अस्पताल पुर्‍याइदिने छाँट छैन ।’

त्यसैगरी, कञ्चनपुरको बेल्डाँडी-३ का जनकराज भट्ट पनि मुम्बईमा समस्यामा परेका छन् । उनले दिल्लीमा रहेको दूतावासको टेलिफोन नै रिसिभ नहुने गरेको दुखेसो पोखे । ‘दूतावासको फोन नै उठ्दैन’ उनले भने, ‘उठाइहाले पनि कोही बोल्दैनन् ।’

यसअघि पनि भारतमा समस्यामा रहेका धेरै नेपालीले दूतावासप्रति गुनासो पोखेका थिए । सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका नागरिक रोजगारीका लागि नयाँ दिल्ली, मुम्बई, पुना, ब्याङ्ग्लोर, पञ्जाव, हरिद्वार, लोहाघाट, पिथौरागढलगायतका क्षेत्रमा जाने गर्छन् ।

सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट कोरोना भाइरसको संक्रमणको त्रासदी र लकडाउनपछि गरेर एक लाख ४३ हजार नागरिक यहाँका नाकाबाट घर फर्किएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।

भारतबाट घर फर्किएकामध्ये कञ्चनपुरको बेदकोट नगरपालिकाका र कैलालीको लम्कीचुहा नगरपालिकाकाका एक/एक जनामा कोरोनाका संक्रमण देखिएको छ । दुबै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

दार्चुलाको सीमावर्ती भारतीय बजार धार्चुलादेखि कञ्चनपुरको टनकपुरहुँदै बनवासासम्म गरी करिब एक हजार एक सयभन्दा बढी नेपाली त्यहाँ क्वारेन्टाइनमा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment