Comments Add Comment

सीमावर्ती भारतीय क्षेत्रमा कोरोना देखिएपछि रुपन्देहीको मर्चबारीमा उच्च निगरानी

तस्वीर सौजन्य : हृदयराम गुप्ता

२८ चैत, बुटवल । सीमावर्ती भारतको कोल्हुई गाउँमा कोरोना संक्रमित बिरामी भेटिएपछि रुपन्देहीको मर्चवार क्षेत्रलाई स्थानीय प्रशासनले उच्च निगरानीमा राखेको छ ।

तर सोही क्षेत्रबाट लकडाउनको समयमा लुकिछिपी एकजना व्यक्ति नेपाल भित्रिएका छन् । नेपाल प्रवेश गरेका एक व्यक्तिसहित परिवारका चारै जनालाई तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

नेपाल भारत दुवैतर्फ लकडाउन भएको अवस्थामा लुकिछिपी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ८ मा आएका एक व्यक्ति र उनको परिवारका चारै जनालाई शंकरनगरस्थित क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।

रुपन्देहीको मर्चवारी गाउँपालिका १ खैराघाटबाट करिब ४ किलोमिटरको दुरी रहेको कोल्हुई क्षेत्रमा ६ जना भारतीयमा कोरोनाको संक्रमण देखिएपछि भारतसंग जोडिएको रुपन्देहीको सबै नाकाहरुमा उच्च निगरानी गरिएको प्रशासनको दावी छ ।

भारतबाट आवत जावत रोक्न र रुपन्देहीमा आउने अधिकांश तरकारी भारतको कोल्हुई क्षेत्रबाट आउने गरेकाले तरकारी व्यापारीहरुलाई आउन नदिन निगरानी उच्च बनाइएको हो ।

भैरहवा विमानस्थल दक्षिणको सीमादेखि कपिलवस्तुको सीमासम्म रहेका एउटा इलाका प्रहरी कार्यालय र १० वटा प्रहरी चौकीका गरी करिब सय जना जनपद प्रहरीलाई लकडाउन अवधिभरका लागि पूर्णतया सीमाको निगरानीमा खटाइएको रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले बताए ।

‘नेपाल प्रहरीका १० वटा चौकी र एउटा इलाका प्रहरीका सबै जनशक्तिलाई पूर्णतया सीमामा आवतजावत रोक्न खटाएका छौं’ एसपी थापाले भने । यस्तै सशस्त्र प्रहरी बलले साविक संख्यामा दुई सय जना जनशक्ति थपेर सीमा क्षेत्रमा निगरानी कडा बनाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

भारतसंग खुल्ला सिमाना रहेको विभिन्न स्थानबाट भारतमा रोजगारीका लागि गएका नेपाली र सीमा क्षेत्रका किसानले भारतीय बजारमा किनमेलका लागि आवतजावत गर्न नछाडेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरेर निगरानी बढाइएको उनले जानकारी दिए ।

‘रुपन्देहीको दक्षिणी क्षेत्रका साना ठूला सबै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त समन्वयमा एक प्रहरीले अर्को प्रहरीलाई देख्नसक्ने गरी आउने जाने गतिविधिलाई निगरानी शुरु गरेका छौं, भारतबाट नेपाल र नेपालबाट भारततर्फ कोही पनि जान नसक्ने गरी मर्चवारमा सुरक्षा तैनाथी बढाइएको छ ।’

प्रहरी तथा विभिन्न संघ–संस्थासंग समन्वय गरी कोरोना संक्रमण रोकथामको लागि दिनरात खटिएको मर्चवारी गाउँपालिका अध्यक्ष केशवनन्द बानियाँले बताए ।

भारतीय तरकारी रोक्न माग

सुरक्षा निकायले निगरानी उच्च बनाएको बताए पनि भारतीय नागरिकहरु साइकल र मोटरसाइकलमा तरकारी बेच्न घरको ढोका–ढोकामै आउन नरोकिएकाले कोरोना संक्रमण सर्न सक्ने जोखिम रहेको भैरहवाका नागरिक अगुवा विजय सागरले बताए ।

तरकारीबाट कोरोनाको संक्रमण पनि सँगसँगै भित्रिन सक्ने खतरा रहेको उनले आंैल्याए । ‘भारतबाट तरकारी ल्याउन पूर्णतया रोक लगाइनुपर्छ’–उनले भने–‘स्थानीय सरकारहरुले स्थानीय किसानले उत्पादन गरेका तरकारी किसानबाट खरिद गरेर टोलटोलमा विक्रीवितरण गर्ने व्यवस्था गर्नुपर्छ ।’

धेरैजसो स्थानीय सरकारहरु अझै पनि गम्भीर नभएको उनको ठम्याइ छ । भारतबाट ल्याएर तरकारी बेच्नेहरुले संक्रमण फैलाउन सक्ने भन्दै तिलोत्तमा नगरपालिकाले भने चारदिन अगाडि भारतीय तरकारी नगर भित्र प्रवेशमा प्रतिबन्ध नै लगाएको छ ।

सिद्धार्थनगर नगरपालिका–८ का वडा सदस्य उमेश थापा मगरले भारतीय क्षेत्रबाट आउने सबै साइकल यात्रीलाई पनि तत्काल रोक्नुपर्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment