Comments Add Comment

भारतमा सहसचिवदेखि माथिका कर्मचारीलाई कार्यालयमा हाजिर हुन निर्देशन

३० चैत, काठमाडौं । भारत सरकारले उच्च ओहोदाका सबै कर्मचारीहरुलाई कार्यालयमा आएर काम गर्न निर्देशन दिएको छ ।

सहसचिवदेखि माथिका सबै कर्मचारीलाई सोमबारदेखि कार्यालयमा हाजिर भएर काममा खटिन भारतको केन्द्र सरकारले निर्देशन दिएको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तदारुकताका साथ काम गर्नुपर्ने भएकाले सरकारी सुविधाको गाडी प्रयोग गर्ने सहसचिवदेखि माथिका सबै कर्मचारीलाई आआफ्नो कार्यालयमा हाजिर हुन सरकारले भनेको हो ।

हरेक मन्त्रालयहरुमा कम्तिमा एक तिहाइ कर्मचारीको उपस्थिति अनिवार्य भएको भारत सरकारको ठहर छ ।

भारतमा १४ अप्रिलसम्म लकडाउन छ । महाराष्ट्र, पश्चिम बंगाल र तेलंगना प्रदेशहरुले भने ३० अप्रिलसम्म लकडाउन लम्ब्याउने निर्णय गरिसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि लकडाउन लम्बिएको बताइसकेका छन् ।

शनिबारै प्रधानमन्त्री नरेन्द्र मोदीले सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो वार्ता गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भइरहेका काम र गर्नुपर्ने थप कामबारे छलफल गरेका छन् । छलफलको क्रममा सबै राज्यका मुख्यमन्त्रीहरुले कम्तिमा दुई हप्तासम्म लकडाउन लम्ब्याउनुपर्ने मत दिएका थिए ।

भारतमा कोरोना भाइरसबाट हालासम्म दुई सय ४२ जनाको मृत्यु भइसकेको छ भने सात हजार ५ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment