Comments Add Comment

युरोपको सर्वाधिक गोलकर्तामा सिरो इम्मोबाइल अगाडि

३० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) ले गर्दा अहिले विश्व फुटबल पूर्ण रुपमा प्रभावित छ । युरोपका चर्चित लिगहरु अनिश्चितकालका लागि स्थगित छन् ।

फुटबल प्रतियोगिताहरु प्रभावित बनेका कारण खेलाडीहरु समेत आराममा छन् । जर्मनीका केही क्लबहरुले कोरोना त्रासकै बीच सामाजिक दुरी कायम गर्दे ट्रेनिङ गर्न थालेका छन् । तर यस सिजनका बाँकी खेल हुने नहुने निश्चित छैन ।

यस्तोमा युरोपियन गोल्डेन बुटको लागि अहिले धेरै गोल गर्ने खेलाडी नै मुख्य दाबेदार हुनेछन् ।

वर्तमान विश्व फुटबलमा लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल स्कोरर समेत हुन् । तर यस सिजन भने यी दुई खेलाडी धेरै गोल गर्नेमा पछि छन् ।

यदी फुटबल मैदान फर्किएन भने युरोपियन गोल्डेबल बुटको अवार्ड मेसीले यस पटक गुमाउने पक्का छ । मेसी ला लिगामा सर्वाधिक गोलकर्ताको रुपमा रहेपनि अन्य देशको लिगमा धेरै गोल गर्ने खेलाडी छन् ।

स्पानिस क्लब बार्सिलोनाले सिजन शुरु गर्दा मेसी चोटका कारण मैदान बाहिरै थिए । उनी पाँच खेलपछि मात्रै मैदान फर्किएका थिए ।

यस सिजन मेसीको गोल स्कोरिङ बिलो पार रहेको छ । उनले ला लिगामा पहिलो गोल ६ अक्टोबर २०१९ मा सेभिया विरुद्ध क्याम्प नोउमा गरेका थिए । उक्त खेल बार्सिलोनाले ४-० ले जितेको थियो ।

युरोपमा सिरो इम्मोबाइल अगाडि, मेसी छैटौँमा

६ पटकको गोल्डेन बुट अवार्ड विजेता मेसी युरोपमा सर्वाधिक गोल गर्नेमा छैटौं स्थानमा छन् । उनले ला लिगामा १९ गोल गरेका छन् । मेसीले पछिल्लो तीन वर्ष यो अवार्ड जित्दै आएका थिए । यस सिजन उनको र प्रिमियर लिग क्लब लस्टर सिटीका जेमी भार्डीको गोल बराबर छ ।

इटालियन क्लब लाजियोका फरवार्ड सिरो इम्मोबाइल युरोपको लिगमा सर्वाधिक गोलकर्तामा अघि छन् । उनले सिरी ए मा २६ खेलमा २७ गोल गरेका छन् ।

उनलाई जर्मन बुण्डेशलिगा क्लब वायर्न म्युनिखमा रोवर्ट लेवान्डोस्की युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो बोरुसिया डर्टमण्डका एर्लिन हालान्ड र आरबी लेइपजिगका टिमो वेरनरले पछ्याइरहेका छन् ।

लेवान्डोस्कीले २५ र रोनाल्डो र वेर्नरले २१ गोल गरेका छन् । हालान्डले डर्टमण्ड र साल्जवर्गमा गरेर २४ गोल गरेका छन् । तर साल्जवर्गमा गरेको गोलको अंक कम हुने हुँदा उनको गोल संख्या युरोपको शीर्ष पाँचसँग तुलना गर्दा २१ हुन्छ ।

युरोपियन च्याम्पियन्स लिगमा भने लेवान्डोस्की ११ गोलसहित सर्वाधिक गोलकर्तामा अगाडि छन् । हालान्डले १० गोल गरेका छन् ।

ला लिगामा मेसी अगाडि

स्पानिस ला लिगामा भने अर्जेन्टाइन फरवार्ड मेसीले सर्वाधिक गोल गरेका छन् । मेसीको १९ गोल छ । उनी पछि रहेका रियल मड्रिडका करिम बेन्जामाले १४ गोल गरेका छन् । यस्तै बार्सिलोनाकै लुइस सुअरेज भियारियालका जेरार्ड मोरेनो अलाभेजका लुकास पेरेज र लेभान्टेका रोजर मारटीले समान ११ गोल गरेका छन् ।

स्पानिस ला लिगा, स्पानिस फुटबल फेडेरेसन र स्पानिस फुटबलर एसोसिएसन ला लिगा सकाउन प्रयासरत रहिरहेकोले यो सिजनको भविष्य अझै अन्योल छ ।

यदी यस सिजनको फुटबल फेरि सुरु भए मेसीले युरोपियन गोल्डेन बुटको लागि समेत दाबेदारी प्रस्तुत गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment