Comments Add Comment

भान्साको शोभा : परम्परागत भाँडावर्तन 

तपाईं आफ्नो पूख्र्यौली घरमा गएर खोज्नुहोस्, धेरै कुरा परम्पागत पाउनुहुनेछ । खाना पकाउने चुल्हो (अगेना), दही जमाउने र मोही पार्ने काठको ठेक्की, दुध दुहुने काठको ढुंग्रो, दाल–चामल राख्ने काठको भाँडा ।

हुनसक्छ त्यसबेला अहिले जस्तो घरायसी सर–सामन उपलब्ध थिएनन् । प्रविधि थिएन । त्यही अभाव टार्न उनीहरुले आफुसँग भएको सीप र श्रमको उपयोग गरेर आफ्नो आवश्यक्ता अनुसारको सामाग्री तयार गरे । जस्तो, दाल चामल राख्ने काठको भाँडा बनाए । दही जमाउन ठेकी बनाए । माटोको घैलामा पानी राखेर पिउने गरे ।

यसरी उनीहरुले जे–जति सामाग्रीहरु बनाए, प्रयोग गरे त्यसमा उनीहरुको सीप मात्र झल्कदैन, स्वास्थ्य चेत र प्राविधिक निपूर्णता पनि झल्कन्छ ।

जस्तो उनीहरुले त्यसबेला भाँडा लगायत सामाग्री बनाउन जथाभावी रुख (काठ) प्रयोग गर्दैनथे । उक्त काठ प्रयोग गर्न कति स्वस्थ्यवद्र्धक छ भन्ने खोज, अभ्यास पनि गरेका थिए । सोही अनुरुप हाम्रा पितापूर्खाले प्रयोग गरेका धेरैजसो घरायसी एवं भान्साको सामाग्री स्वास्थ्यका हिसाबले निकै उपयोगी मानिन्छ, आजको दिनमा ।

तर, आज हामीले परम्परागत कुरालाई त्याग्दैछौं । बजारमा सहजै उपलब्ध हुने सरसामनले परम्परागत सामाग्रीहरु विस्थापित गरेको छ । आज हामीलाई छिटो, छरितो, सजिलो र सस्तो चिजबिज चाहिएको छ । त्यसैले त तपाईं-हाम्रो घर एवं भान्सा प्लाष्टिकजन्य उत्पादनले भरिभराउ छ ।

आधुनिक प्रविधिको उपयोग गर्नु, जीवनलाई छिटो र सजिलो बनाउने प्रयास गर्नु हाम्रो दोष होइन । यद्यपि हाम्रा पूर्खाले बर्षौं बर्षको खोज, अभ्यास र प्रयोगबाट आर्जन गरेका ज्ञान र सीपलाई उपेक्षा गर्नु उचित छैन । किनभने आधुनिकताको नाममा हामीले आज जुन जीवनशैली अंगाल्दैछौं, त्यो आफैमा प्रत्युत्पादक हुन थालेको छ ।

आधुनिकताको नाममा हामीले अपनाइरहेका जीवनशैली र प्रयोग गरिरहेका सरसामानहरु स्वास्थ्यमैत्री छैन ।

यसको अर्थ आधुनिकताको नाममा ऐशआरम र सुखको खोजी नगरौं । प्राकृतिक ढंगबाट जीवनयापन गर्ने पूर्खाको शैलीलाई अपनाऔं ।

हामी ढुंगे युगमा फर्कनुपर्छ भन्ने होइन । जीवनलाई जटिल बनऔं भन्ने होइन । हरेक कुरा पुरातन ढर्राले गर्नुपर्छ भन्ने होइन । तर, बर्षौं बर्षको खोज र प्रयोगबाट हाम्रा पूर्खाहरुले आर्जेका कुरालाई निरन्तता दिनुपर्छ ।

जस्तो हामीले प्लाष्टिकको भाँडावर्तनको ठाउँमा काठका भाँडावर्तनलाई स्थान दिन सक्छौं । भलै प्लाष्टिक जस्तो यो सुलभ, सस्तो र छरितो नहोला । तर, भोलिका संभावित खतराबाट हामीलाई सुरक्षित राख्नेछ । हाम्रा पुस्तालाई बचाउनेछ । हाम्रो स्वास्थ्य र पर्यावरणलाई बचाउने छ ।

अहिले बजारमा पनि काठका त्यस्ता सामाग्रीहरु उपलब्ध हुन थालेका छन्, जो भान्साम दैनिक प्रयोग गर्न सकिन्छ । बाँसबाट बनाइएका सामग्रीहरु पनि प्रयोगमा आउन थालेका छन् । माटोबाट बनेका घैलादेखि अन्य सामाग्री त सहज रुपमै पाइन्छ ।

प्लाष्टिक लगायत कतिपय धातुमा खानेकुरा तयार गर्दा, सेवन गर्दा त्यसको रसायनले स्वास्थ्यमा हानी गर्छ । उक्त रसायनको असरले पाचन यन्त्रमा समस्या ल्याउनेदेखि क्यान्सरसम्म लाग्ने बताइन्छ । त्यसैले हाम्रा पूर्खाहरुले परम्परादेखि प्रयोग गर्दै आएका भाँडावर्तन वा सरसामन निकै उपयोगी हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment