३० चैत, काठमाडौं । महाराजगञ्जका बाटाहरु सुनसान छन् । सडक छेउका सबै सटरहरु बन्द । खाली सडकमा प्रहरी, आर्मी र सेतो प्लेटका गाडी बेगवान देखिन्छन् । आकाश खुलेको छ, सायद सडक जामविनाको तीनहप्ते धुलोरहित मौसमले हुन सक्छ । बाटो टन्टलापुर घामको प्रकाशले ज्वाजल्यमान छ ।
यो उज्यालो मौसममा अँध्यारो मुख लगाएर कान्ति बाल अस्पतालपछिको ओरालो झर्दैछन् एक वृद्ध । दाह्री हेर्दा साधुजस्तो लाग्छ । फुलेको दाह्री पनि अनुहारसँगै अँध्यारिएको छ । काँधमा उस्तै फोहोरले मैलिएर अँध्यारो भएको खाली बोरा छ । अँध्यारै रङको कपडा लगाएका उनी मन्द बेगमा लखर–लखर हिँडिरहेछन् ।
न उनलाई लकडाउनको डर छ । न दुनियाँको मतलव । प्लास्टिकको खाली बोतल देख्यो कि ट्याप्प टिप्छन् अनि आफूले बोकेको बोरामा फाल्छन् । अक्सर पानीका खाली बोतल ।
शायद खाली सडकमा खाली बोतल पनि कमै भेटिन्छन् । ६५ वर्षीय सानोकान्छा महर्जनले यतिबेलासम्म पानी पिउन पाएका छैनन् । काकाकुल छन् । हामीले उनलाई भेट्दा अपराह्नको ३ बजेको छ ।
आज लकडाउनको १९ औँ दिन हो । कोरोना भाइरस संक्रमण कोभिड १९ ले संसारका मानिसहरुलाई हायल–कायल पारेको छ । करिब–करिब विश्व नै ठप्प छ । १९ दिनदेखि नै काठमाडौंका गल्ली र मुख्य सडकहरु सुनसान बनेका छन् । अत्यावश्यक काम बाहेक नागरिकलाई आफ्नै देशका बाटोमा हिँड्न अनुमति छैन । देशभरका मानिसको दैनिकीमा परिवर्तन आएको छ । विश्वकै मानिसहरुले कल्पनै नगरेको जीवनशैली अपनाइरहेका छन् ।
तर, सडकलाई नै छक पार्दै हिँडिरहेछन् सानो कान्छा । लकडाउनअघि र पछिको उनको जीवनमा खास परिवर्तन आएको छैन । लकडाउनपछि मास्क लगाएर मात्र सडकमा निस्कन सरकार र चिकित्सकको उर्दी छ । अनावश्यक सामानहरु नछुन र बाहिर निस्किएर घर फर्कनेवित्तिकै साबुनपानीले हात धुने, नत्र सेनिटाइजर लगाउने हुकुम छ । तर, सानोकान्छासँग न मास्क छ, न हात धुने साबुन । र, पनि उनी सडकमा निस्फिक्री हिँडिरहेकै छन् । उनी हिँडेनन् भने उनको पेट भोकै बस्छ । हातमुख चल्दैन ।
०००
टंगालको ढुंगेधारास्थित छाप्रोमा बस्छन् सानो कान्छा । त्यो छाप्रोको जमीन उनको होइन । तैपनि उनैले छाप्रो हालेका हुन् । सानोकान्छा भन्छन्, ‘नारानथानको नेवारको जग्गा हो त्यो । छाप्राको भाडा तिर्नुपर्दैन ।’
त्यही छाप्रोबाट सदाको जस्तै आजको दिन पनि सानोकान्छा विहानै पाँच बजे निस्किए । उनी बोतल टिप्दै चक्रपथ पुगे । अनि चक्रपथबाट एक घुम्ती लगाएर महाराजगञ्जसम्म आइपुगे ।
यति लामो घुम्ती पार गर्दा पनि खाली बोतलले बोरा भरिएको छैन । दिउँसो ३ बज्दा बोरा भरिन एक ‘क्वार्टर’जति बाँकी छ । र, पनि उनी त्यति दुःखी छैनन् । किनकि, सानोकान्छाको जिन्दगी नै दुःखै दुःखले भरिएको छ ।
सानोकान्छाकी श्रीमती छैनन् । उपचार गर्न नसकेपछि आठ वर्षअघि रोगले लग्यो । दुई छोरालाई पनि उनले रोगबाट बचाउन सकेनन् । भन्छन्, ‘उपचार गर्न पनि सकिएन । कहिल्यै नआउने बाटो गए ।’
उनका लागि उपचार भनेको डाक्टरसँग लैजानु होइन कि कसैलाई सोधेर सामान्य औषधी किनेर खुवाउनु हो । किनकि उनले गर्ने ज्यामी कामले परिवारलाई अस्पताल पुर्याउन असमर्थ थियो ।
अन्ततः ज्यामी कामलाई पनि साइड लगाएर सानो कान्छाले २२ वर्षदेखि लगातार प्लास्टिकको बोतल टिपिरहेका छन् । अब यो टिपेको बोतल उनले टंगालको कवाडी पसलमा गएर बेच्छन् ।
यति बोतलको कति रुपैयाँ आउँला रु सानोकान्छा भन्छन्, ‘२५ रुपैयाँ जति आउँछ कि १’ उनको खाली बोतललाई खरिद गरेर कवाडीवालाले के बनाउँछ, सानोकान्छालाई केही थाहा छैन । उनलाई थाहा पाउनु पनि छैन । बस् उनलाई त यही २५ रुपैयाँले एकदिनको छाक टार्नु छ ।
लकडाउनअघि पनि सानोकान्छाको अधिक आम्दानी भएको दिनमा ७० देखि ८० रुपैयाँसम्म हो । सरकारले घोषणा गरेको यो लकडाउनमा धन्न पुलिसको लाठीले उनको छाक खोसेको छैन । कवाडीवालाको काम पनि चलिरहेको छ । आधा पेट भरेर भए पनि उनको सास बचेको छ । उनी भन्छन्, ‘नपुगे पनि पुर्याउनुपर्छ, यो बन्दको समयमा धेरैमा ३०/४० रुपैयाँसम्म कमाइ भएको छ ।’
उनका हात फोहोरले कट्कटिएका छन् । तर, विश्वलाई नै थर्कमान गराइरहेको कोरो भाइरसँग सानोकान्छालाई एकरत्ति डर छैन । कोरोना संक्रमणसँग कसरी बँच्ने रु यसका उपायबारे पनि उनी जानकार छैनन् । किनकि, उनका लागि कारोनाबाट बच्नुभन्दा भइङ्कर ठूलो कुरा दैनिकी गुजार्नु हो ।
यहीबेला सरकार र स्थानीय तहले धमाधम राहत प्याकेज घोषणा गरिरहेका छन् । रकम संकलन गरिरहेका छन् । तर, सानोकान्छालाई न सरकार थाहा छ, न राहत ।
सानोकान्छाले अहिलेसम्म न राहत पाएका छन्, न त हात हुने साबुनपानी वा सेनिटाइजर नै !