Comments Add Comment

२० सेकेन्ड गीत गाउँदै यसरी हात धुनुस !

सन् १८४६ मा जब डाक्टर र चिकित्सा अध्ययनरत विद्यार्थीहरु पोष्टमार्टम कक्षमा मृत शरीर चिरफार गरेर सिधै प्रसुति गृहमा प्रसुति गराउन जान्थे । त्यसबेला गर्भवती महिलाको मृत्युदर १८ प्रतिशत थियो । जबकी स्वास्थ्य स्वयंसेविकाले प्रसुति गराउँदा महिलाको मृत्युदर केवल १ प्रतिशत देखियो ।

यस्तो किन भएको होला भनेर खोजी गर्ने क्रममा डा. इग्नाज सेम्मेल्विजले शवबाट डाक्टर र विद्यार्थीहरुमा किटाणु संक्रमण भएको हुन सक्ने परिकल्पना गरे । यो सिद्धान्त परीक्षण गर्न उनले डाक्टर र विद्यार्थीहरुलाई पोष्टमार्टम कक्षबाट निस्केपछि र प्रसुति गराउनुअघि क्लोरिनयुक्त कागती पानीले हात धुन लगाए ।

उनको यो सानो प्रयासले महिलाको मृत्यु दर १८ बाट ३ प्रतिशतमा  झर्‍यो । उनले चिकित्सा समुदायलाई हातबाट किटाणुु संक्रमण हुने भएकाले हात धुनुको महत्वबारे ध्यानाकर्षण गराए । त्यसपछिका धेरै अध्ययनहरुले हात धुनाले अस्पतालबाट हुने संक्रमण कम गर्न सकिन्छ भन्ने कुरालाई पुनः पुष्टि गरेका छन् ।

डा.इग्नाजको परीक्षणको केही समय पछिसम्म पनि चिकित्सा विज्ञानमा खराब गन्धबाट मात्र किटाणु संक्रमण हुने विश्वास थियो । यद्यपि चिकित्सा विज्ञानमा हात धुने विधि व्यापक रुपमा फैलिन उनको युगदेखि धेरै समय लाग्यो, जसलाई १८५४ मा फ्लोरेन्स नाइटिङ्गेलले क्रिमियन युद्धमा घाइते सैनिकहरुको उपचारमा यस विधिको प्रयोग गरेकी थिइन् ।

त्यस बेलामा पनि उक्त विधिद्वारा संक्रमणको कमी हुन्छ भन्ने संकेत देखिएको थियो । तर सन् १९८० मा मात्र संयुक्त राज्य अमेरिकामा फैलिएको स्वास्थ्यसम्बन्धी संक्रमण र खानामार्फत फैलिने संक्रमणको माहामारीले स्वच्छ हातको महत्व स्पष्ट गरायो ।

त्यसबखत विश्वमा एचआईभी, त्यसबेलाको नोबेल र घातक भाइरसको त्रास पनि बढ्दै गैरहेको थियो । सोही समयमा पहिलोपटक हात धुने राष्ट्रिय दिशानिर्देशन संयुक्त राज्य अमेरिकामा जारी गरिएको थियो ।

चिकित्सा विज्ञानमा नभए पनि हात धुनु र हातको सरसफाइ कायम राख्नु धार्मिक परम्परामा युगौंदेखि चलिआएको छ । हिन्दु, इसाइ, यहुदी, र सिख धर्ममा धार्मिक कार्यअगाडि हात धुनुपर्ने कडा नियम छन् । कोभिड १९ को महामारी र त्रासको बेलामा वैज्ञानिक, जनस्वास्थ्य विज्ञ र स्वास्थ्यकर्मीहरुको एउटै नारा ‘हात धुनु’ रहेको छ ।

विश्व स्वास्थ्य संगठनद्वारा हात धुने ठोस विधि सिर्जना गरी विश्वभर प्रचार प्रसार भइरहेको छ । कोरोना भाइरसबाट बच्नको लागि धेरै मुलुकहरुमा (खासगरी स्वास्थ्य सेवा प्रणाली कमजोर भएका मुलुक, जस्तै नेपाल) हात धुनुले प्रभावकारी काम गर्न सक्छ र स्वस्थ्य सेवा प्रणालीको क्षमतालाई टेवा पुर्‍याउन सक्छ ।

नेपालका गाउँमा हामीले एक गैरसरकारी संस्थामार्फत सन् २०१३ देखि हात धुने कार्यक्रमबाट ब्यवहारिक परिवर्तन कसरी गर्ने भनेर अभियान चलाउदै आएका छौं । यस संस्थाले स्वयंसेवकमार्फत विद्यार्थीहरुलाई विधिपूर्वक हात धुने बानी बसाल्नुलाई प्राथमिकतामा राखेको छ । हामीले सिर्जना गरेको र परीक्षण गरेको हात धुने विधि निम्न लिखित छ :

हात धुँदा यी कुरा हरुमा ध्यान दिनुपर्छ

१. हातलाई किटाणुमुक्त गर्न साबुन र पानीले कम्तिमा २० सेकेण्डसम्म धुनुपर्छ ।

२. हात धुँदा प्राय भुल्ने भागहरु भनेको औलाको बीचभाग, बुढीऔंलाको भाग र नङ हुन् ।

हात धुनको लागि हामीले डेनी डेङजोङपाको स्वरमा रहेको प्रख्यात नेपाली गीत ‘रातो रानी’ को लयमा २० सेकेण्डको गीत पनि तयार पारेका छौं । जुन यसप्रकार छः

वास्तविक गीत

रातो रानी फुलेझैं साँझमा

तिमी फुल्यौ कलेजी माझमा

मनको रहर

टुङटुङ

कान्छीलाई घुमाउने काठमाडौं शहर

हात धुँदा यही लयमा हामीले बनाएको गीत

‘धुन्छौँ हात साबुन र पानीले

हुन्छौँ स्वस्थ यो राम्रो बानीले

मनको रहर

टुङ टुङ

किटाणुमुक्त होस हाम्रो गाउँघर’

यो गीत सजिलै सम्झिन सकिने भएकाले यसको राम्रो प्रभाव परेको पाएका छौं । यसले विद्यार्थी भाइ–बहिनीहरुलाई हात धुने विधि व्यवहारमा उतार्न सजिलो भएको छ । यो गीत गाउँदै हात धोएमा निर्धक्कले २० सेकेण्ड सम्म हात धोएको मान्न सकिन्छ ।

हात धुने प्रक्रिया सिक्न सजिलो र जीवनोपयोगी छ । यसबारेमा ज्ञान हुँदाहुदै पनि हात धुने व्यवहारमा परिवर्तन ल्याउन जनस्वास्थ्य क्षेत्रमा ठुलो चुनौती रहेको छ । त्यसमाथि कोभिड १९ को महामारीले हात धुनुको महत्व सिकाए पनि यसलाई व्यवहारमा उतार्नु नै मुख्य चुनौती हो ।

कुनै पनि महामारीको बेला मात्र नभएर दैनिक रुपमा हात धुने बानी बसाल्न अत्यन्त जरुरी छ । यही एउटा सानो व्यवहार परिवर्तनले ठुलो महामारीलाई जित्न सफल भएको इतिहासले देखाएको छ । डा. इग्नाज र फ्लोरेन्स नाइटिङ्गल यही तरिका अपनाएर नै इतिहासमा आफ्नो नाम राखेका छन् ।

अब पालो हाम्रो, कोभिड १९ लाइ जित्न यही कुरा अपनाउनु पर्छ । कोभिड १९  पछि हाम्रो समाजमा आउनसक्ने जस्तोसुकै संक्रमणलाई पनि अहिले परिवर्तन गरेको व्यवहार ले निश्चय नै मद्धत गर्नेछ । आउनुहोस् गीत गाउँदै हात धोऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment