Comments Add Comment

आईपीएल अनिश्चितकालका लागि स्थगित

३ वैशाख, काठमाडौं । बुधबारदेखि सुरु गर्ने भनिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट अनिश्चितकालका लागि स्थगित भएको छ । कोरोनाविरुद्ध लड्न भारत सरकारले लकडाउन अवधि बढाएपछि अप्रिल १५ बाट हुने तय भएको आईपीएल स्थगित हुन पुगेको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईनले लकडाउन लम्बिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सम्बोधन गर्दै लकडाउन अवधि मे ३ सम्मका लागि थपिएको बताएका थिए । जसले गर्दा अहिले क्रिकेट लिग गर्ने कुनै अवस्था छैन ।

यद्यपि, बीसीसीआईले आईपीएल स्थगितबारे अहिलेसम्म औपचारिक रूपमा केही बताएको छैन । उसले विभिन्न स्टेकहोल्डर सहभागी ८ फ्रेन्चाइज, ब्रोडकास्टरहरूसँग सम्पर्क गरेर आईपीएल रोकिएको तर रद्द नभएको जानकारी दिएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

एक फ्रेन्चाइज अफिसियलले यसबारे जानकारी दिएको समेत टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । ‘बीसीसीआईले हामीलाई तत्कालको लागि आइपीएल स्थगित भएको जनाएको छ । तर उनीहरू यही वर्षको अन्त्यमा आईपीएल गर्न विन्डो पाउनेमा आशावादी छन् ।

बीसीसीआई अध्यक्ष सौरभ गांगुली र सचिव जय शाह भारत सरकारको निर्णय कुरिरहेको अवस्थामा सरकारले मे ३ सम्मका लागि लकडाउनको समय बढाएपछि अप्रिल/मेमा आईपीएल हुने सम्भावना टरेको हो ।

बीसीसीआई अध्यक्ष गांगुलीले बारम्बार देशले संकट झेलेका बेला खेल प्राथमिकतामा नरहने भन्दै आएका छन् ।

भारतमा अहिलेसम्म १० हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ । ३ सय ७७ को ज्यान गइसकेको छ ।

आईपीएलको १३ औं संस्करण सुरुमा मार्च २९ देखि मे २४ सम्म हुने तय थियो । तर विश्वभर कोरोना महामारी फैलिएपछि र भारत सरकारले विदेशीको भिसा रोकेपछि बीसीसीआईले मार्च १३ मा आईपीएल स्थगन गर्दै अप्रिल १५ मा गर्ने जनाएको थियो ।

आईपीएलका लागि अब सेप्टेम्बर/नोभेम्बरको विकल्प बाँकी छ । त्यसका लागि क्रिकेट अस्ट्रेलिया र आईसीसीले अक्टोबर/नोभेम्बरमा हुने टी–२० विश्वकपको मिति सार्न सहमति जनाउनु पर्नेछ ।

अस्ट्रलिया सरकारले ६ महिना भ्रमणका लागि रोक लगाएको छ । र, त्यो पनि सेप्टेम्बर अन्तिममा सकिँदैछ । जसले गर्दा अक्टोबर नोभेम्बरमा टी–२० विश्वकपका लागि सहज हुनसक्ने अनुमान गरिएको छ ।

अर्को विकल्प भनेको आईपीएल सेप्टेम्बरदेखि अक्टोबर सुरुसम्म गरेर ६ हप्तामै सकाउनुपर्नेछ । त्यसका लागि एसिया कप नहुने सम्भावना बढी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment