Comments Add Comment

‘र्‍यापिड टेस्टका नाममा जनस्वास्थ्यमाथि खेलवाड भइरहेको छ’

३ बैशाख, काठमाडौं । कोरोना महामारीको जोखिम नियन्त्रण गर्न सरकारले यतिबेला र्‍यापिड र पीसीआर टेस्टबाट जाँच गरिरहेको छ । र्‍यापिड टेस्ट व्यक्ति विशेषलाई नभएर महामारीका बेला समुदाय स्तरमा गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

समुदाय स्तरमा र्‍यापिड टेस्ट गर्दा कोही एकलाई पोजेटिभ देखिए पूरै समुदायमा बसोबास गर्ने मानिसको नमुना लिएर पीसीआर जाँच अनिवार्य गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

तर, नेपालमा यो अभ्यास भएको देखिन्न । जसको कारण समाजमा संक्रमित व्यक्‍तिहरु लुकिछिपी रहेको हुन सक्ने आशंका गर्न सकिन्छ ।

र्‍यापिड र पीसीआर टेस्टको सबल र दुर्बल पक्ष नेपालमा भएको अभ्यास र यसले निम्त्याउने खतराबारे जीवाणु वैज्ञानिक सुदीप खड्कासँग अनलाइनखबरले गरेको कुराकानीको अंश :

महामारी नफैलिसकेको अवस्थामा समुदायमा भाइरसको संक्रमण भए नभएको परीक्षण गर्न कत्तिको जरुरी हुन्छ ?

कुनै पनि संक्रमणका कारण हुने बिमारीलाई उचित उपचार गर्न के कस्तो संक्रमण भएको हो र संक्रमण कुन चरणमा छ भनेर जान्न जरुरी हुन्छ । सूक्ष्म परजीवीहरुमध्ये केहीलाई माइक्रोस्कोपको माध्यमबाट देख्न सकिन्छ भने कोरोना जस्ता भाइरसहरु साधारण माइक्रोस्कोपबाट देख्न सकिँदैन ।

इलेक्ट्रोन माइक्रोस्कोप जस्ता अत्यन्तै जटिल प्रविधि प्रयोग गर्न सकिए पनि यस्तो प्रयोग केवल विशेष अनुसन्धानमा मात्र सम्भव हुन्छ ।

ब्याक्टेरिया, मलेरियाजस्ता परजीवीलाई माइक्रोस्कोपको सहायताले चिन्न सकिन्छ तर भाइरसलाई माइक्रोस्कोपले देख्न नसकिने हुनाले यसलाई पत्ता लगाउन विशिष्ट प्रविधिको प्रयोग गर्नुपर्ने हुन्छ ।

कोरोनाजस्ता खतरनाक भाइरस पत्ता लगाउने आधारहरु के–के हुन सक्छन् ?

सबैभन्दा पहिले संक्रमणका आधारभूत दुई पक्ष बुझ्नुपर्ने हुन्छ । भाइरसको संक्रमणपश्चात हुने वृद्धि पहिलो पक्ष हो । जब भाइरस मानिसको शरीरमा प्रवेश गर्छ, त्यतिबेला यसको संख्या अत्यन्तै न्यून हुन्छ ।

जुनसुकै प्रविधि अपनाए पनि ती प्रविधिका केही सकारात्मक तथा नकारात्मक पक्ष हुन्छन् । विश्वसनीय नतिजा प्राप्त गर्न प्रयोग भएको प्रविधिका सवल तथा दुर्बल पक्ष हेरेर पुन: परीक्षण गर्नुपर्ने हुन सक्छ ।

समय बढ्दै गएपछि त्यो भाइरसको संख्या वृद्धि भई संक्रमितको शरीरमा असंख्य भाइरसको उत्पत्ति हुन्छ । भाइरसको संख्या बढ्दै जाँदा यो भाइरसको जैविक तत्व तथा यसले बनाउने प्रोटिन पनि मानव शरीरमा जम्मा हुन थाल्छ । कोरोना संक्रमण भएको अवस्थामा पनि यो भाइरस को जैविक तत्व (RNA ) र यसले बनाउने प्रोटिन तथा भाइरसहरुको मात्रा शरीरमा बढ्दै जान्छ ।

भाइरस संक्रमणको दोस्रो पक्ष भनेको संक्रमणविरुद्ध हाम्रो शरीरले गर्ने प्रतिरोध हो । कुनै पनि भाइरस संक्रमण भएको अवस्थामा हाम्रो शरीरको प्रतिरोध प्रणालीले परजीवीको उपस्थिति महसुस गर्न सक्छ । पहिलो चरणमा भाइरसविरुद्ध लड्न शरीरले केही रासायनिक वस्तुहरु (cytokines) उत्पादन गर्छ जसले भाइरस तथा परजीवीहरुलाई निस्तेज पार्न भूमिका खेल्छ ।

त्यतिबेला शरीरमा एन्टिबडी बडीजस्ता अणुहरु उत्पादन हुन्छन । एण्डीबडीले भाइरसलाई सोझै सम्पर्क गरेर निस्तेज पार्छ वा भाइरसका कणलाई ध्वस्त पार्न कोषिकासम्म पुर्‍याउँछन् । यी एन्टिबडी अणुहरु जुन भाइरसको संक्रमण भएको हो, त्यसैप्रति लक्षित हुन्छन् र सामान्यतया त्यही भाइरसबाहेक अरुलाई असर गर्न सक्दैनन् ।

शरीरमा सुरुमा संक्रमण गर्ने भाइरसको संख्या बढ्छ अनि लगत्तै सोही भाइरसविरुद्ध लक्षित एन्टिबडीको मात्रा बढ्न थाल्छ । यही संक्रमणका दुई पक्षलाई नै संक्रमण पत्ता लगाउन उपयोग गरिन्छ । कि त सोझै भाइरसको जैविक तत्व वा यसको प्रोटिन छ कि छैन भनेर जाँचिन्छ कि त यो भाइरसकोविरुद्ध एन्टिबडी उत्पादन भएको छ कि छैन भनेर जाचिन्छ ।

कोरोना भाइरस संक्रमणको पहिचान गर्न जाँच गरिने नमूनाहरु के के हुन् ?

मानव शरीरमा भाइरस प्रवेश गरेको थाहा पाउन आशंकित मानिसबाट (कोरोनाको केसमा स्वासप्रस्वास प्रणाली वा रगत) स्याम्पल लिएर परीक्षण गरिन्छ । स्वास–प्रश्वास प्रणालीबाट लिएको नमूनामा भाइरसमा जैविक तत्व वा प्रोटिन छ कि छैन भनेर जाँच्न सकिन्छ ।

त्यसैगरी रगतमा यो भाइरसविरुद्ध एन्टिबडी छ कि छैन भनेर जाँच्ने गरिन्छ । कुनै पनि विधिमा नतिजा सकारात्मक आएमा संक्रमण भएको मानिन्छ ।

जुनसुकै प्रविधि अपनाए पनि ती प्रविधिका केही सकारात्मक तथा नकारात्मक पक्ष हुन्छन् । विश्वसनीय नतिजा प्राप्त गर्न प्रयोग भएको प्रविधिका सवल तथा दुर्बल पक्ष हेरेर पुन परीक्षण गर्नुपर्ने हुन सक्छ । पहिचान गर्ने प्रविधिको उपलब्धता, सञ्चालन गर्न सक्ने तालिम प्राप्त जनशक्ति र संक्रमण पहिचान गर्न सकिने न्यून मात्रा (लेबल अफ डिटेक्सन) का कारण ले गर्दा पनि कुनै एक परिवेशमा एक वा अर्को प्रविधि प्रयोग गर्न पर्ने अवस्था हुन्छ ।

पहिचान गर्न सकिने न्यून मात्रा (लेबल अफ डिटेक्सन) भनेको के हो ? यसलाई सजिलो भाषामा कसरी बुझ्न सकिन्छ ?

जुनसुकै प्रविधिको पनि एउटा पहिचान गर्न सकिने न्यून मात्रा (लेबल अफ डिटेक्सन) हुन्छ । यसलाई म एउटा उदाहरण दिएर थप स्पष्ट पार्न चाहन्छु ।

मानौं, तपाईसँग एउटा तराजु छ र त्यसमा प्रयोग हुने ढकहरु एकदेखि २० किलोसम्मका छन् । अब एकजना आएर तपाईलाई १० किलो कालो दाल र पाँच किलो रातो दाल जोखी माग्छ । त्यो सजिलै जोख्न सक्नुहुन्छ ।

अब अर्को व्यक्ति आएर तपाईंलाई त्यही वस्तुहरु तर जम्मा २०० ग्राम र ३०० ग्राम मिलाएर माग्छ भने त्यो दिन तपाईंलाई गाह्रो हुन्छ । किनकी एक किलोभन्दा थोरै जोख्ने सामर्थ्य तपाईंको ढक– तराजुको छैन ।

यो उदाहरणमा एक किलो तपाईंको पहिचान गर्न सकिने न्यून मात्रा (लेबल अफ डिटेक्सन) हो ।

कोरोनाको हकमा प्रयोग भएका अहिलेका प्रविधिमा पनि कुनै निश्चित स्तरमा जीवाणुको संख्या वा एण्डीबडीको मात्रा नपुगेसम्म यिनले ठोस रुपमा संक्रमण भएको वा नभएको पत्ता लगाउन सक्दैनन् । विशेष गरी संक्रमणको प्रारम्भिक चरणमा भाइरस तथा एन्टिबडी दुवैको मात्रा शरीरमा ज्यादै न्यून हुन सक्छ, जसले गर्दा यी प्रविधिले फेल खान्छन् । तर, यस्तो अवस्थामा पनि संक्रमितले संक्रमण भने सार्न सक्छन्।

हाल नेपालमा कोरोना परीक्षण जाँच गर्न प्रयोग भइरहेको र्‍यापिड र पीसीआर प्रविधिले कसरी काम गर्छन् ?

कोरोनाको संक्रमण पत्ता लगाउन प्रयोग हुने पीसीआर प्रणालीले नमुनामा भाइरसको जैविक तत्व (आरएनए) छ कि छैन भनेर जाँच्ने गर्छ । यो प्रविधिले थोरैभन्दा थोरै भाइरसको उपस्थिति पनि निर्क्यौल गर्न सक्छ र अन्य परीक्षणभन्दा विश्वसनीय पनि छ । भाइरसकै एकभन्दा बढी विभिन्न जिन पहिचान गर्न सकिने हुनाले पीसीआर प्रविधि सबैभन्दा भरपर्दो मानिन्छ ।

र्‍यापिड टेस्टमा मुख्यतया एन्टिबडीको सहायताले भाइरस संक्रमण छ कि छैन भन्ने जाँच गरिन्छ । मैले अघि भने जस्तै भाइरस संक्रमण भएपछि शरीरले एन्टिबडी उत्पादन गर्न थाल्छ । त्यसका दुई प्रकार इम्युनोग्लोब्युलिन–एम र इम्युनोग्लोब्युलिन– जी हुन् । इम्युनोग्लोब्युलिन–एम संक्रमण भएको केही दिनमै उत्पादन हुन्छ भने इम्युनोग्लोब्युलिन– जी संक्रमण भएको केही पछि उत्पादन हुन्छ ।

यी दुवै प्रकारका एन्टिबडीको उपस्थितिलाई र्‍यापिड टेस्टले जाँच्ने गर्छ र कुनै पनि एन्टिबडी भएको खण्डमा कोरोना संक्रमण भएको निर्क्यौल गर्छ ।

पीसीआर र र्‍यापिड दुवै प्रविधिको सबल र दुर्बल पक्षहरु के–के हुन् ?

हाल विश्वभरि नै सबैभन्दा भरपर्दो रुपमा पीसीआर प्रविधि प्रयोग हुन्छ । तर, यो प्रविधि खर्चिलो तथा केही जटिल पनि छ । यो प्रविधिका लागि नमुना संकलन गर्न तथा प्रशोधन गर्न विशेष प्रविधि प्रयोग गर्नुपर्ने हुन्छ ।

उपकरण सञ्चालन गर्न र नतिजा निर्क्यौल गर्न पनि विशेषज्ञको आवश्यकता हुन्छ । थोरैभन्दा थोरै भाइरस पनि जाँच्न सक्ने यो प्रविधिमा अलिकति मात्र पनि ‘कन्टामिनेसन’ भयो भने पनि पोजेटिभ नतिजा आउँछ ।

र्‍यापिड टेस्ट किट सस्तो, छोटो समयमा गर्न सकिने तथा अत्यन्तै सरल हुन्छ । नतिजा निकाल्न कुनै विशेष मेसिनको प्रयोग गर्न नपर्ने हुनाले दुर्गम क्षेत्रमा समेत सहज रुपमा परीक्षण गर्न सकिन्छ । तर, यसले सोझै भाइरसको उपस्थिति पत्ता लगाउने होइन केवल भाइरसविरुद्ध एन्टिबडी शरीरमा छ कि छैन पत्ता लगाउने हो ।

सोझो अर्थमा भन्नु पर्दा संक्रमणको १-२ दिन मै पीसीआरले संक्रमण पत्ता लगाउन सक्छ भने र्‍यापिड टेस्टले पत्ता लाग्न थप केही दिन कुर्नु पर्ने हुन सक्छ ।

केही दिनको अन्तरालमा एउटा मानिसको नमुना परीक्षण गर्दा र्‍यापिड टेस्टमा किन फरक आउँछ ? एउटै व्यक्तिको नतिजा केही समयको अन्तरालमा गर्दा फरक देखिनुको कारण के होला ?

र्‍यापिड टेस्ट कोरोना संक्रमणका लागि आफैँमा नयाँ प्रविधि हो । गुणस्तरीय स्रोतको अभावका कारण यसको त्यति उल्लेख्य विश्वसनीयता छैन ।

सुरुवाती चरणमा मानिसको शरीरमा भाइरस प्रवेश गरे पनि एन्टिबडीको मात्रा उल्लेख्य रुपमा नबनिसकेको अवस्थामा यो किटले संक्रमण पुष्टि गर्न सक्दैन । तर, त्यही व्यक्तिमा केही समयको अन्तरालमा धेरै एन्टिबडी उत्पादन हुन्छ । सो अवस्थामा भने र्‍यापिड टेस्टले पनि संक्रमण देखाउन सक्छ ।

संक्रमणपश्चात् केही समयपछि शरीरमा भएको एन्टिबडी नष्ट भएपछि फेरि संक्रमण नदेखिन पनि सक्छ । कुनै–कुनै संक्रमितमा अन्य रोग वा शारीरिक अवस्थाका कारण एन्टिबडीको उत्पादनमा कमी वा ढिलो चाँडो हुन जाँदा पनि नतिजा सोचेको जस्तो नदेखिन सक्छ । नमुना संकलन गर्दा वा प्रशोधन गर्दा केही प्राविधिक गडबडी भयो भने पनि फरक नतिजा आउने सम्भावना र्‍यापिड किटमा ज्यादा हुन्छ ।

कोरोना जस्ता भाइरसहरु समयसँगै परिवर्तन हुँदै जान्छन । जसै यो परिवर्तनले गर्दा नयाँ फरक प्रकारको भाइरस देखिन्छ, यी एन्टिबडीमा आधारित किटले काम नगर्ने सम्भावना बढ्दै जान्छ किनकी एन्टिबडी जुन प्रकारको भाइरसविरुद्ध बनेको हो त्यसले त्यही प्रकारको भाइरससँग मात्रै लड्न सक्छ ।

भनेपछि पीसीआर र र्‍यापिड टेस्ट किटको नतिजा फरक आउनु नौलो होइन ? यस्तो अवस्थामा केलाई विश्वास गर्ने ?

विश्व स्वास्थ्य संगठन तथा अमेरिकाको अधिकारिक प्रमाणीकरण गर्ने निकायले समेत पीसीआर टेस्टलाई मान्यता दिएको हुनाले सधै पीसीआरलाई नै आधिकारिक मान्नु पर्ने हुन्छ ।

नमुना प्रशोधनको क्रममा केही कमी कमजोरी भयो भने मात्र पीसीआरमा गलत नतिजा आउँछ । कहिलेकाहीँ संक्रमण भएर निको भइसकेको अवस्थामा पीसीआरले संक्रमण नदेखिनु स्वाभाविक भए पनि र्‍यापिड टेस्टले पोजेटिभ नै देखाउन सक्छ ।

त्यसो भए र्‍यापिड टेस्ट किटको प्रयोग गर्नुको अर्थ के त ?

संक्रमित भएको केही समयपछि मात्र बिरामीमा यो भाइरसविरुद्धको एन्टिबडी देख्न सकिन्छ । तर, त्यति बेलासम्म औसत संक्रमितमा रोग निको हुने चरणमा पुगिसकेका हुन्छन् ।

तसर्थ, अन्य कुनै उपाय नभएको खण्डमा यो उपाय अपनाउन सकिए पनि यो उपाय मुख्यतः भाइरससँग प्रतिरोध क्षमता छ कि छैन भनेर जाँच्न वा पहिले नै भाइरसको संक्रमण भएको थियो कि थिएन भनेर थाहा पाउन ज्यादा उपलब्धिमूलक हुन्छ । सुरुवाती चरणको संक्रमण त यो किटले पहिचान गर्नै सक्दैन ।

र्‍यापिड टेस्ट व्यक्ति विशेषको संक्रमण अवस्था निर्क्यौल गर्न प्रयोग हुने उपाय नै । यो प्रविधि समुदायमा प्रयोग गर्ने हो । समुदायका कुनै एक मात्र व्यक्तिमा यो प्रविधिबाट नतिजा पोजेटिभ देखियो भने सम्पूर्ण समूह तथा सम्भावित संक्रमितहरु पहिचान गरेर भरपर्दो परीक्षण गर्नुपर्छ ।

यसलाई म एउटा उदाहरणको माध्यमबाट थप प्रस्ट्याउन चाहन्छु । मानौँ, कुनै एक जिल्लामा उपल्लो, तल्लो, दायाँ र बायाँ गरी चार गाउँ छन् । प्रत्येक गाउँमा ५-५ व्यक्ति विदेशबाट आएका छन् र हाल संक्रमण को आशंकामा क्वारेन्टाइनमा छन् । प्रत्येक गाउँमा थप २५-२५ जना व्यक्तिहरु ती आशंकितसँगको उठबसका आधारमा संक्रमित आशंका गरिएको छ र घरमै क्वारेन्टाइनमा बसेका छन् ।

प्रत्येक गाउँमा क्वारेन्टाइनमा बसेका ५-५ जनाको र्‍यापिड टेस्ट परीक्षण गरिन्छ । उपल्लो गाउँमा सबै असंक्रमित देखिन्छन्, तल्लो गाउँमा एक संक्रमित देखिन्छन्, दायाँ गाउँमा एक संक्रमित देखिन्छन् भने बायाँ गाउँमा सबै असंक्रमित देखिए पनि एकजनामा श्वासप्रश्वाससम्बन्धी लक्षण छ ।

अब सबै संक्रमित तथा असंक्रमित भए पनि लक्षण देखिएका एकको गरी तीनै जनाको पीसीआर टेस्ट गर्न पठाइन्छ । पीसीआरमा दायाँ र बायाँ गाउँका संक्रमित देखिन्छन् भने तल्लो गाउँको असंक्रमित देखिन्छन् ।

यो अवस्था पीसीआरबाट संक्रमित देखिने दुवै जनामा (अर्थात् र्‍यापिड टेस्टमा पोजेटिभ र नेगेटिभ दुवै) संक्रमण छ र यो संक्रमण अरुमा सरेको हुन सक्छ । र्‍यापिड टेस्टमा पोजेटिभ तर पीसीआरमा नेगेटिभ देखिएका बिरामीको हकमा संक्रमण हाल सक्रिय नभए पनि पहिले कुनै समयमा संक्रमण थियो भन्ने मान्न पर्ने हुन्छ ।

त्यसैले यी तीन परिवेशमा (तल्लो, दायाँ र बायाँ गाउँका ) बाँकी २५/२५ जना घरमै क्वारेन्टिनमा राखिएकाहरुको पनि पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ ।

महामारी फैलिएको खण्डमा यो प्रविधि प्रयोग गरेर हजारौं गाउँ, टोल वा समूहका लाखौं सम्भावित संक्रमितको परीक्षा द्रूत गतिमा गरेर त्यहाँ कोही एक मात्र पनि संक्रमित भएको देखिएमा सो टोल र गाउँ वा समुदायको पहिचान गरी तुरून्तै भरपर्दो पीसीआर प्रविधि प्रयोग गरेर थप निर्क्यौल गर्न सकिन्छ । यसरी चाँडोभन्दा चाँडो संक्रमण फैलिन सक्ने ‘क्लस्टर’ पहिचान गरेर महामारी फैलिनबाट जोगाउन भने यो प्रविधि उपलब्धिमूलक हुन्छ ।

अहिले नेपालमा जसरी र्‍यापिड टेस्ट किटको प्रयोग भएको छ के यो सही छ त ?

नेपालमा अहिले जे जसरी परीक्षण भइराखेको छ त्यो बिल्कुल गलत छ । प्रविधिको सही प्रयोग भनेको केवल त्यसको प्रयोगले संक्रमित वा असंक्रमित निर्क्योल गर्नु मात्र होइन, सो प्रविधिको फाइदा तथा बेफाइदा पहिचान गरेर उचित कदम चाल्न सक्नु पनि हो ।

अहिले नेपालमा केवल र्‍यापिड टेस्ट किटको प्रयोग गरेर संक्रमण देखिएमा थप परीक्षण गर्ने तर संक्रमण नदेखिएमा असंक्रमित भनेर घर पठाउने रिएको छ । यो गलत मात्र नभएर जनस्वास्थ्यमाथिको ठूलो खेलबाड पनि हो ।

र्‍यापिड टेस्ट किटमा संक्रमण भए पनि असंक्रमित देखिने (असत्य असंक्रमित) वा असंक्रमित हुँदा पनि संक्रमित देखिने (असत्य संक्रमित) दुवै प्रकारका कमजोरी छन् । संक्रमण नहुदाँ पनि संक्रमण देखिए (असत्य संक्रमित) बरू उतिसारो फरक पर्दैन । संक्रमण छ भन्ने ठानिन्छ । थप सतर्कता अपनाइन्छ ।

तर, संक्रमण नभएको हुँदा अन्यलाई वास्तविक जोखिम भने हुँदैन । तर, संक्रमण हुँदाहुँदै असंक्रमित नतिजा (असत्य असंक्रमित) देखिएर सो व्यक्ति घरसमुदायमा फर्किनु भनेको सारै ठूलो जोखिम हो । यस्तो व्यक्तिमा वास्तविकतामा संक्रमण हुने हुँदा अरुलाई सार्न सक्छन् भने असंक्रमित भएको झुटो विश्वासमा अन्य व्यक्ति, परिवार, स्वास्थ्यकर्मी इत्यादिले पनि यी संक्रमितका वरिपरि उचित सावधानी अपनाउँदैनन् ।

तसर्थ, कुनै पनि हालतमा र्‍यापिड टेस्ट किट संक्रमणबाट जाँच गर्दा संक्रमण भए पनि या नभएपनि त्यसलाई प्रमाणको रुपमा लिनु हुँदैन । यसलाई समुदायको निगरानी गर्न सामुदायिक रुपमा मात्र प्रयोग गर्नुपर्छ । समुदायमा र्‍यापिड टेस्ट गर्दा कुनै एक जनाको रिपोर्ट पोजेटिभ आयो भने सम्पूर्ण समुदायको गम्भीर रुपमा पीसीआर परीक्षण गर्नुपर्छ ।

भविष्यमा अरू भरपर्दो र्‍यापिड टेस्ट किट प्रविधि आउने सम्भावना छ ?

हाल कोरोना भाइरस नयाँ भएको हुँदा यसविरुद्ध अझै पनि उच्च कोटीका एन्टिबडी उपलब्ध छैनन् जसले गर्दा एन्टिबडीमा आधारित टेस्टहरु त्यति भरपर्दा छैनन् । समयसँगै नयाँ नयाँ एन्टिबडीको विकास हुनेछन र, नयाँ नयाँ किटहरु पहिलेभन्दा धेरै प्रभावकारी हुने नै छन् ।

साथै, भरपर्दा एन्टिबडी उपलब्ध हुनासाथ कोरोनाको भाइरस नै पहिचान गर्न सक्ने र्‍यापिड टेस्ट पनि आउन सक्छ । त्यसले सोझै भाइरस नै पहिचान गर्न सक्ने हुनाले अहिले उपलब्ध टेस्टभन्दा चाँडै संक्रमण पहिचान गर्न सक्छ ।

कोभिड-१९ का लागि किन एन्टिजिन र एन्टिबडी टेस्टको जरूरी हुन्छ ?

यो दुवै विधि र्‍यापिड टेस्टमा प्रयोग हुन्छ । एन्टिजिन टेस्टले सोझै भाइरसलाई डिटेक्ट गर्छ । एन्टिबडी टेस्टले त्यो भाइरसविरुद्धमा एन्टिबडी छ कि छैन, डिटेक्ट गर्छ । अरु नयाँ किसिमका एन्टिजिन टेस्टहरु पनि विकास भइरहेको छ ।

यो पनि पढ्नुहोस आरडीटी र पीसीआर टेस्टको अलमल र वास्तविकता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment