Comments Add Comment

प्रकोप कोषमा तिलोत्तमाका जनप्रतिनिधिको साढे चार लाख

३ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधिले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चार लाख ५० हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेका छन् ।

नगर कार्यपालिकाको बुधबार बसेको बैठकले कार्यपालिका सदस्यहरुले कम्तीमा पाँच हजार र नगरसभा सदस्यहरुले कम्तीमा दुई हजारको दरले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस संक्रमणको रोकथाम र उपचारका लागि स्थापना गरिएको कोषमा देशभरका स्थानीय तहमध्ये तिलोत्तमाले जम्मा गर्ने रकम हालसम्मकै धेरै भएको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

कार्यपालिका सदस्यसहित ९० जना जनप्रतिनिधि रहेको तिलोत्तमामा नगर प्रमुख घिमिरेले ५० हजार, उपप्रमुख जागेश्वर चौधरीले १० हजार रुपैयाँ र अन्य केही जनप्रतिनिधिले यसअघि नै स्वेच्छिक रूपमा कोषमा रकम जम्मा गरिसकेका थिए ।

बुधबारको निर्णयपछि सबै जनप्रतिनिधिले यसै हप्ताभित्र अनिवार्य रूपमा रकम जम्मा गर्ने प्रवक्ता सुरेन्द्र श्रीले बताए ।

नगरपालिकाकामा कार्यरत कर्मचारी तथा शिक्षकहरुको तीन दिन बराबरको तलबबाट १७ लाख दुई हजार ६ सय ६५ रुपैयाँ कोषमा जम्मा गरिसकेका छन् ।

स्वास्थ्य शाखामा कार्यरत चार जना कर्मचारीले अलग्गै २५ हजारका दरले एक लाख रुपैयाँ कोषमा जम्मा गरिसकेका छन् । नगरपालिकाको आह्वानअनुसार कोषमा हालसम्म झण्डै नगद ५५ लाख रुपैयाँ संकलन भएको छ ।

नगदको अतिरिक्त ७६ क्विन्टल चामल, एक क्विन्टल दाललगायतका खाद्यवस्तु समेत नगरपालिकालाई विभिन्न व्यक्ति तथा वित्तीय संस्थाहरुले प्रदान गरेका छन् ।

कोषमा जम्मा भएको रकमबाट नगरपालिकाले हालसम्म २१ लाख ४० हजार रुपैयाँको खाद्यान्न राहतस्वरूप वितरण गरेको छ । एकद्वार प्रणालीबाट राहत प्रदान गर्ने नीति लिएको नगरपालिकाले तीन हजार तीन सय परिवारलाई राहत वितरण गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment