Comments Add Comment

गोठाटारमा तीन हजार छाडा गाईबाच्छा संरक्षण गरिँदै

फाइल तस्वीर

काठमाडौं । बन्दाबन्दीका बेला सडकमा छोडिएका तीन हजार गाईबाच्छा राख्नका लागि गोठाटारमा अस्थायी टहरा निर्माण सुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोष, छाडा गाईबाच्छा संरक्षण अभियानलगायत संस्थाको सक्रियतामा चैत २६ गतेदेखि उपत्यकाका नगर क्षेत्रमा छाडा गाईबाच्छा सङ्कलन सुरु गरिएको थियो ।

सङ्कलनबाट जम्मा भएका गाईबाच्छा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कोणस्थित वाग्मती नदी किनारमा नअटेपछि आजदेखि गोठाटारस्थित कोषको जग्गामा अस्थायी टहरा निर्माण सुरु भएको सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

‘टहरा निर्माणस्थलमा घाँस छ, चराउन चरन पनि भएकाले राख्न पनि सहज हुन्छ, यहाँ रहेको कोषको पाँच सय ३४ रोपनी जग्गामध्ये एक सय रोपनीमा गौशाला बनाउने नै योजना छ,’ उनले भने ।

उपत्यकाका काँठ क्षेत्रका नगरपालिकामा पालन भइरहेका गाईले बाच्छा जन्माए केही महिनापछि पशुपति क्षेत्र, वाग्मती किनारलगायत सडकमा छोडिने गरेको छ । यसैगरी गाई पनि नब्याउने भएपछि यसरी नै छोडिन्छ । यस्ता गाईबाच्छा सङ्कलनका क्रममा नगरपालिकाका माध्यमबाट गाईपालकलाई पनि जिम्मेवार बनाउन नगरप्रमुखहरुसँग समेत छलफल भएको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले बताए ।

छलफलका क्रममा गोकणेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसे र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले अभियानलाई सहयोग गरिने प्रतिबद्धता जनाए । बाँकी नगरप्रमुखलाई सहमतिमा ल्याएर अभियान अघि बढाइने जनाइएको छ ।

गत वर्ष जेठ १ गतेदेखि वाग्मती किनारमा छाडा छोडिएका गाईबाच्छा संरक्षण सुरु गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए । पछिल्लो समय धेरै गाईबाच्छा जम्मा हुन थालेको र त्यहाँको क्षमता नपुग्ने भएकाले कोषसँगको सहकार्यमा आगामी जेठ १ गतेदेखि सार्ने गरी टहरा निर्माण भइरहेको उनले सुनाए । जम्मा भएका गाईबाच्छालाई दाताले आफ्नो जन्मदिनलगायत शुभ अवसरमा दाना, पिठो, घाँसलगायत आवश्यक सामग्रीका लागि सहयोग दिने गरेका छन् ।

संरक्षित गाईबाच्छालाई घाँस दाउराको व्यवस्था गर्न आधा दर्जन स्वयंसेवी दैनिक खटिँदै आएका छन् ।

पशुपति क्षेत्रको वनकालीमा पनि हाल नन्दी स्थलका रुपमा छाडा गाईबाच्छा संरक्षण गरिएको छ । मुलुकी संहितामा सार्वजनिक स्थलमा आफूले पालेका गाईबाच्छा छोडेमा कारबाही गरिने व्यवस्था छ । अब छाडा छोड्नेलाई यो व्यवस्थाअनुसार कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने अभियानकर्मीको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment