Comments Add Comment

आरुघाटका युवकको परिवार र छिमेकीमा पनि कोरोना संक्रमण परीक्षण गरिने

४ वैशाख, गोरखा । र्‍यापिड टेस्टमा एन्टीवडी पोजेटिभ देखिएका आरुघाट गाउँपालिका–५ का युवकको परिवारका सदस्य र छिमेकीको पनि कोरोना परीक्षण गरिने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर उनीहरुको परीक्षण गर्ने तयारी आरुघाट गाउँपालिकाको छ । बहराइनबाट फागुन २२ गते फर्किएका युवकको मंगलबार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशाला परीक्षण गर्दा कोरोना संक्रमण नभएका पाइएको थियो ।

उनीसँग सम्पर्कमा रहेका परिवारका अन्य सदस्य र छिमेकीहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट परीक्षण गरिने गाउँपालिका अध्यक्ष पूर्ण दाहालले बताए । ‘चैत्र १ गतेभन्दा पछाडि विदेशबाट जो जो आउनुभएको छ, उहाँहरुको र परिवारका सदस्यको परीक्षण गर्ने योजना छ’ उनले भने ।

आरुघाट गाउँपालिकामा चैत १ गतेपछि विदेशबाट ३९ जना फर्किएको पाइएको छ । ‘लकडाउनले बिदेशमा रहेका मान्छे त रोकिए तर देश भित्रको विभिन्न जिल्लाबाट गाउँ आउने क्रम रोकिएको छैन, यसले पनि संक्रमणको जोखिम बढाएको छ,’ अध्यक्ष दाहालले भने ।

कोरोना संक्रमणको जोखिम क्षेत्रबाट आएकाहरुलाई राख्न आरुघाट गाउँपालिकामा १० शय्याको क्वारेन्टाइन बनाइएको छ । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई शय्याको आइसोलेसन वार्ड बनाइएको अध्यक्ष दाहालले बताए ।

एक सय ७४ जनाको र्‍यापिड टेस्ट

गोरखामा बुधबारसम्म र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट एक सय जनाको कोरोना संक्रमण परीक्षण भएको छ । स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले जिल्लाको गोरखा नगरपालिका, भीमसेनथापा आरुघाट, अजिरकोट, सिरानचोक र धार्चे गाउँपालिकामा र्‍‍यापिड टेस्ट मार्फत कोरोनाको एन्टीबडी परीक्षण गरेको कोरोना फोकल पर्सन नारायण अर्यालले बताए ।

उनकाअनुसार बुधबार धार्चेमा ३५, अजिरकोटमा ३४ र सिरानचोक ३१ जनाको परीक्षण गरिएको छ । उनीहरु कसैको पनि एन्टीवडी पोजेटिभ नदेखिएको अर्यालले बताए ।

गोरखा नगरपालिकामा ३१, भीमसेन थापामा २३ र आरुघाटमा २० जनाको परीक्षण गरेका छौं’ उनले भने, ‘आरुघाटमा एक जनाको एन्टीवडी पोजेटिभ आयो, थप परीक्षणका लागि पोखरा पठाउँदा कोरोना संक्रमण देखिएन ।’

बिहीबार पालुङटार नगरपालिकामा परीक्षण गरिने उनले बताए । ‘चैत १ गतेदेखि विदेशबाट आउनुभएकाहरुको स्थानीय तहले लिष्ट बनाएर पठाएको छ, त्यही लिष्टको आधारमा हामी परीक्षण गर्छाै,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment