+
+
Shares

लकडाउन उल्लङ्घन बढेपछि भैरहवामा सेना परिचालन

टोपराज शर्मा टोपराज शर्मा
२०७७ वैशाख ४ गते २१:०३

४ वैशाख, बुटवल । लकडाउनको उल्लङ्घन बढेपछि भैरहवामा नेपाली सेना परिचालन गरिएको छ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा लकडाउनको पूर्ण पालना गराउन सेना परिचालन गर्नुपरेको रुपन्देही प्रशासनले जनाएको छ ।

स्थानीयले जनप्रतिनिधि र प्रहरीको आग्रहलाई अटेर गरेका कारण जोखिम रोक्न सेना परिचालन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । सेनाले आवश्यकताअनुसार नेपाल प्रहरीसँगको समन्वयमा चेकजाँच पनि गर्नेछ ।

‘नगरपालिका र नेपाल प्रहरीले बारम्बार माइकिङ गरेर पसल नखोल्न बारम्बार अनुरोध गर्दा पनि अटेर गरेपछि सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेना परिचालन गरिएको हो’ प्रमुख जिल्ला अधिकारी पन्थले भने, ‘भारतीय बजार सुनौलीलगायत खुल्ला सिमानाका कारण कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सेना परिचालनले सहयोग पुग्ने छ ।’

परिचालनसंगै सेनाले शहरको मुख्य बजार क्षेत्रमा गएर पसलहरु बन्द गर्न निर्देशन दिएको छ । अब लकडाउन अवधिभर नेपाली सेनाको गस्ती टोलीले भैरहवाका मुख्य–मुख्य चोकहरुमा नियमित गस्ती गर्ने छ । भैरहवाको मुख्य सडक क्षेत्र, बुद्धचोक, देवकोटा चोक, मिलनचोकलगायत क्षेत्रमा बिहीबार नेपाली सेनाले गस्ती गरेको छ ।

सेनाले एम्बुलेन्स, सुरक्षा निकायका गाडी, खाद्यान्न तथा तरकारी बोकेका गाडी, फोहोर उठाउने गाडी, दूध डेरीका गाडी, प्रेसबाहेक अन्यलाई कडाइका साथ रोक्न सुरु गरेको छ ।

दिनभर सुनसान हुने भैरहवामा बिहान–साँझ भने निकै चहलपहल हुने र सर्वसाधारणहरु सामाजिक दूरीसमेत कायम नगरी हिँड्ने गरेकाले सेना परिचालनले लकडाउनको पालनामा सहयोग पुर्‍याउने नागरिक अगुवा विजय सागरले बताए ।

भारतीय नागरिक पनि नेपाल प्रवेश गर्न सक्ने भन्दै सशस्त्र प्रहरी बलले पनि सीमामा थप सुरक्षा तैनाथी बढाएको छ । सीमावर्ती भारतीय बजार कोल्हुईमा ६ जनामा कोरोनाको संक्रमण देखिएपछि भारतीयहरु विभिन्न बहानामा नेपाल प्रवेश गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका थिए । सेना परिचालनपछि भैरहवामा लकडाउन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?