Comments Add Comment

वैदेशिक रोजगारीबाट फर्कने कामदारबारे सोचौं

कोरोनाको विश्वब्यापी महामारीले विश्वभरि नै धेरै क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष असर परिरहेको छ । बैदेशिक रोजगारीको क्षेत्र पनि सर्वाधिक मारमा पर्ने क्षेत्रमध्येको एक देखिन्छ । बिप्रेसनमा आधारित अर्थतन्त्र भएको हाम्रोजस्तो देशमा यसले पार्न सक्ने प्रभावको आँकलन हामीले सजिलै गर्न सक्छौं ।

केही महिनायताको गतिविधिलाई नियाल्ने हो भने अधिक श्रमिकहरु जाने देशहरुले नेपाली नागरिकलाई बाध्यात्मकरुपमा घर फिर्ता गर्ने (डिपोट) देखि भावी दिनमा रोजगारी गुम्नेसम्मको खतरा बढ्दो छ ।

अवधि नपुगी घर फर्काइएका कामदारलाई कार्यस्थलमा फर्काउनका लागि सहज वातावरण सिर्जना गर्नु त छँदैछ, स्वदेशमै बस्न चाहेका वा स्वेच्छाले नेपाल फर्किएका जनशक्तिलाई कसरी आर्थिक र सामाजिकरुपमा सम्मिलन गराउने भन्ने बारेमा राष्ट्रिय रुपमै योजना बनाउन टड्कारो देखिन्छ ।

विशिष्ट राष्ट्रिय नीति र कार्ययोजना

राष्ट्रिय नीति र योजनाहरुले सरकार र राज्यको समष्टिगत प्राथमिकता र धारणालाई प्रतिविम्वित गर्ने गर्छ । अहिलेको परिस्थिति र आगामी दिनहरुको अवस्थालाई पूर्वानुमान गर्दै नेपाल सरकारले फिर्ती हुने कामदारहरूका लागि विशिष्ट राष्ट्रिय कार्य योजना बनाउन जरूरी देखिन्छ ।

यसै क्रममा केही अभ्यास हेर्ने हो भने श्रीलंकाको उदाहरण हामीले लिन सक्छौं, जहाँ विशिष्ट राष्ट्रिय कार्य योजना अन्तर्गत पाँचवटा महत्वपूर्ण क्षेत्रहरुलाई समेटिएको छ । सामाजिक सम्मिलन, आर्थिक सम्मिलन, शारीरिक र मनोवैज्ञानिक सम्मिलन, राजनैतिक सशक्तीकरणका साथै फिर्ती र पुन समायोजन प्रक्रियाको उचित व्यवस्थापनलाई राष्ट्रिय कार्य योजनामा समेटिएको छ । यस्ता कार्ययोजनाको प्रभावकारी व्यवस्थापनका लागि अन्तरमन्त्रालय समन्वयको भूमिका जटिल हुने गर्छ । नेपालमा पनि फिर्ती कामदारहरूका लागि विशिष्ट राष्ट्रिय कार्य योजना बनाउन टड्कारो देखिन्छ जस अन्तर्गत हामीले नीतिलाई कागजमा मात्र सीमित नराखी उचित संयन्त्र निर्माण गरी वडास्तरसम्मको सफल कार्यान्वयनका लागि सुनिश्चित गर्न जरूरी देखिन्छ ।

हामीले हाम्रा कामदार दाजुभाइ दिदीबहिनीहरुलाई वहाँहरुको योगदानको कदर गर्दै विभिन्न परिस्थितिमा फिर्ता भएका कामदारहरुलाई खुल्ला हृदयले हाम्रो देशमा स्वागत गर्ने बेला आएको छ ।

सरकार, समुदाय, आमजनताको स्तरबाट पनि हामीले फिर्ती कामदारहरुप्रतिको दृष्टिकोण सकारात्मक बनाउँदै वहाँहरुलाई आफ्नै देशमा काम गर्न सक्ने प्रोत्साहन र उर्जा प्रदान गर्नुपर्दछ । कामदारहरुको तर्फबाट पनि आफ्नो देशमा केही गर्न सकिँदैन भनेर भन्नुभन्दा पनि दृढ इच्छाशक्तिका साथ आफ्नै देशमा रहेको प्रबल सम्भावनाको सानो स्तरबाट भए पनि उपयोग गरी हजारांै विदेशमा रहेका नेपाली कामदारहरुको प्रेरणाको श्रोतको रुपमा आफूलाई स्थापना गर्न जरूरी देखिन्छ ।

स्वदेश फिर्तीको तयारी

आइएलओद्वारा प्रकाशित रिपोर्टलाई आधार मानेर भन्नुपर्दा कामदारका बसाइँ सराइ चक्रलाई पूर्ण चक्र, अपूर्ण चक्र र अवरुद्ध चक्र गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ ।

पूर्ण चक्र अन्तर्गत आफ्नो कार्य सम्झौता सम्पन्न भई सोचेअनुरुप देश फर्किनुलाई बुझिन्छ भने अपूर्ण चक्रअन्तर्गत सोचेअनुरुप काम नपाउनुका साथै सामाजिक, पारिवारिक कारणले समयभन्दा अगावै फर्किनुपर्ने अवस्थालाई दर्साउँछ ।

त्यस्तै, अवरुद्ध चक्रअन्तर्गत डिपोर्ट भएका, स्वास्थ्यको कारण, प्रशासनिक समस्या र रोजगारी घुमेर बाध्यात्मक परिस्थितिमा फर्किनुपरेका कामदारहरुलाई जनाउँछ ।

फिर्ती तयारीको बसाइँ सराइ चक्रसँग सम्बन्ध रहेको पाइन्छ । पूर्ण चक्र, अपूर्ण चक्र र अवरुद्ध चक्र भएकाको क्रमशस् उच्च, कम र शूल्य फिर्ती तयारी हुनेगर्छ ।

अहिलेको अवस्थालाई नियाल्दा धेरै कामदारहरुको बसाइँ सराइ चक्र अवरुद्ध हुने र शून्य फिर्ती तयारीका साथ गृह देश फर्किने देखिन्छ, जसका लागि राज्यले कामदारको हकमा आर्थिक मात्रै नभई मनोबैज्ञानिक परामर्श र सामाजिक अभिभाकत्वको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ ।

श्रमिकहरुको तथ्यांक संकलन

कुनै पनि योजनाको सफलता र प्रभावकारी कार्यन्वयनका निम्ति लक्षित समूहको तथ्यांक जरूरी पर्छ । यसै परिपेक्ष्यमा फर्किएका श्रमिकहरुको सिप, क्षमता, आवश्यकता, कठिनाइहरुको उमेर समूह, लैंगिकता, भौगोलिक अवस्था आदिको आधारमा खण्डीकृत तथ्यांक चुस्त दुरुस्त संकलन गर्न सक्यांै भने नीति निर्माणदेखि कार्यक्रम निर्माण गर्न निकै सहज हुने देखिन्छ ।

तथ्यांक संकलनका लागि हामीले वडा स्तर, स्थानीय निकाय हुँदै प्रदेश स्तरसम्म लान सक्छांै । नेपाल सरकारले हालसालै अध्यागमन विभागद्वारा तथ्यांक संकलनको कार्य सुरुवात पनि गरेको छ । तर, यसलाई अझ बृहत र खण्डीकृत रुपमा संकलन गर्न जरूरी देखिन्छ ।

अभ्यासकै कुरा गर्दा पनि दक्षिण एसियाका देश, जस्तै बंगलादेश, श्रीलंकाले पनि तथ्यांक संकलनमा बढी जोड दिएको पाइन्छ ।

गन्तव्य देशहरुसँग सहकार्य र समन्वय

श्रमिकहरुको सफल सम्मिलनका लागि गन्तव्य देश र गृह देश दुवैको साझा जिम्मेवारी हुने गर्छ । यसको अनुपम उदाहरणका लागि दक्षिण कोरियाको ( ह्याप्पी रिटर्न प्रोग्राम ) सुखद फिर्ती कार्यक्रम सन् २००९ लाई लिन सकिन्छ, जहाँ कोरियाले आफ्नो देशमा काम गर्न आएका श्रमिकहरुलाई सिप प्रशिक्षण, फर्किनुपूर्व गृहदेशमा रोजगारीका लागि सहायता प्रदान गर्ने कार्यका साथै प्रस्थान ग्यारेन्टी बिमाजस्ता योजना सुरु गरेको छ ।

यस्ता कार्यक्रमलाई एउटा असल अभ्यासका रुपमा लिन सकिन्छ, जसले गृह देशलाई मात्रै नभइकन गन्तव्य देशलाई पनि फाइदा हुने गर्दछ । एकातिर, गन्तव्य देशमा अवैध तरिकाबाट बस्ने कामदार संख्यामा कमी हुन्छ भने गृह देशमा यसले रोजगारी सिर्जनादेखि सिप कौशलतामा वृद्धि हुने देखिन्छ । जनसांख्यिक लाभ र मानव पुँजी निर्माणको माध्यमद्वारा दिगो विकास हासिल गर्न यस्ता कार्यक्रमहरुले मद्दत पुर्‍याउने देखिन्छ ।

हाम्रा धेरै कामदार जाने देशहरुमा पनि जहाँ फिर्तीसम्मको कार्य सम्झौताको मात्र सर्तहरु राखिन्छन् । यस्ता सहकार्य र समन्वयको नेपालले पहल गर्न सक्ने देखिन्छ । यस्तो सहकार्यले भावी दिनमा क्षेत्रीय सहयोग र वैदेशिक सहायताको रुप परिवर्तन गर्न सक्नेछ जहाँ हामीले हाम्रा श्रमिकहरुको फिर्ती तयारी र सिप, क्षमता अभिवृदीको लागि पहल गर्न सक्नेछौं ।

अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भनेझैँ यस कोरोनाको प्रभावलाई सकारात्मक शक्ति र उर्जामा परिवर्तन गर्दै देशले सोचेजस्तो समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई पूरा गर्न आफ्नो स्तरबाट सक्दो योगदान गरौँ ।

(पौडेल नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कार्यरत प्रशिक्षण तथा अनुसन्धान अधिकृत हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment