
५ वैशाख, काठमाडौं । सरकारले स्थानीय तहमा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई २४ घण्टाभित्र पुगेर हाजिर गर्न निर्देशन दिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै सरुवा भएको लामो समयसम्म पनि तोकिएका स्थानीय तहमा नपुगेका प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त हाजिर हुन निर्देशन दिएको हो ।
सरकारले लकडाउनअघि नै केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गरेको थियो । वीरगञ्ज महानगरपालिकामा सुरुवा भएका सहसचिव भूमिराज शर्मा अहिलेसम्म वीरगञ्ज पुगेका छैनन् ।
त्यहाँ भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएपछि त्रासको अवस्था छ । तर, महानगरपालिकाका प्रशासकीय अधिकृत शर्मा कार्यभार सम्हाल्न पुगेका छैनन् ।
हेटौंडा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गरिएका कविराज पौडेल पनि अझै हाजिर भएका छैनन् ।
समान्य प्रशासन मनत्रालयका प्रवक्ता बसन्त अधिकारीले यस्तो महामारीको समयमा पनि तोकिएको जिम्मेवारी पूरा गर्न नजाने अधिकारीलाई कार्यस्थलमा पुग्न समयसीमा दिइएको बताए । अटेर गरे कानूनअनुसार स्पष्टीकरण सोध्नेसहित कारवाहीको प्रक्रिया अघि बढाउने उनले बताए ।
अहिले करिब १५ वटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरु अनुपस्थित छन् । प्रमुख प्रशाससकीय अधिकृत नहुँदा स्थानीय तहलाई राहत वितरणमा सममन्वय गर्न र बैंक खातामा रहेको बजेट परिचालन गर्न समस्या परिरहेको छ ।
प्रतिक्रिया 4