Comments Add Comment

नेकपामा असन्तोष : झाँक्रीको समर्थन, सरकारको आलोचना

६ बैशाख, काठमाडौं । सत्तारुढ नेकपाभित्र सरकारको कार्यशैलीप्रति युवा नेताहरुमा असन्तुष्टि देखिन थालेको छ । सरकारको कार्यशैलीप्रति युवा नेतृत्वमा रहेको असन्तुष्टि विस्तारै बाहिर आउन थालेको छ ।

सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सचिवलायको आलोचना गर्दा सामाजिक सञ्जालमा सत्तारुढ दलका कार्यकर्ताहरु पक्ष– विपक्षमा भनाभनमै उत्रिएका छन् ।

साथै सडकमा मजदुरहरुको बिजोग भएको विषयमा पनि युवानेतृ झाँक्रीसहित धेरैले विरोध जनाएका छन् । पूर्वमन्त्री जनार्दन शर्माले समेत मजदुरहरुको व्यवस्थापन गर्न भन्दै सामाजिक सञ्जालबाटै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

सत्तारुढ नेकपाभित्र भुसको आगोजस्तै सल्कन थालेको असन्तोष कस्तो प्रकृतिको छ भन्ने बुझ्न सजिलो होस् भनेर हामीले यहाँ नेकपाका दुई युवा नेताका विचार एकैठाउँमा समेटेर प्रस्तुत गरेका छौं–

‘सिंहदरबारका भाइरसविरुद्ध म झाँकीको पक्षमा छु’
शंकर घर्ती, नेकपा रूपन्देहीका युवा नेता

अहिले नेतृ रामकुमारी झाँक्रीको चर्चा भइरहेको छ । केही नेता तथा कार्यकर्ताहरु साँच्चै मुद्दा उठाएको हो कि भनेझै गरी चिच्याउने अनि अत्तालिने गरेका छन् । झाँक्रीको मितव्ययी पद्दतिको पक्षमा सारा नेपाली जनता छन् ।

सिंहदरबार र बाहिर पनि पूर्वविशिष्ठहरु, प्रधानमन्त्री, सभामुख, न्यायाधीश, मन्त्री र सांसदका लागि सचिवालय, निजी सचिव र सुरक्षाको नाममा करिव हजारभन्दा धेरैलाई सुविधा दिइएको कुरा सर्वविदितै छ । प्रधानमन्त्रीको सचिवालयमा ४८ जनाको दरबन्दी छ जुन अनावश्यक र भड्किलो हो ।

प्रधानमन्त्रीले १६ जनालाई नियुक्त गरेर मितव्ययी बन्ने सन्देश दिएका छन् भनिएको छ, त्यो कति सत्य हो ? मानौं अहिलेका प्रधानमन्त्रीले सीमित राखेका होलान्, तर आउँदा प्रधानमन्त्रीले त भड्किलो गर्न सक्छन् किनकि उनलाई बाटो खुल्ला छ । त्यसैले वैधानिक रुपमा नै संख्या घटाउनुपर्छ भन्नु झाँक्रीको जायज माग हो ।

काम न काज नेताका पछाडि लागेकै भरमा तलब खाने परजीवी पद्दतिलाई हटाउँ भन्नु झाँक्रीको कहाँ भुल भयो ? यही मौकामा घटाउनुपर्छ । सिंहदरबारले परजीवी भाइरसको भार थेग्न सक्दैन । वास्तविक रहस्य नबुझी विरोधमा उत्रनुका पछाडि बैचारिक विचलन झल्किन्छ । झाँक्रीको बिरोध गर्नेहरू कम्युनिस्ट होइनन् भन्ने आधारहरू यसरी पुष्टि हुन्छ । जो झाँक्रीको विपक्ष उत्रिएका छन्, ती प्रायः सबैमा आलोचनात्मक क्रान्तिकारी चेत शून्य देखिन्छ ।

एकपटक एउटा पत्रकारले मार्क्र्सलाई सोध्छन्, ‘तपाईलाई मनपर्ने शुत्र वाक्य के हो ?’ मार्क्र्सले जवाफ दिन्छन,’ ‘हरेक कुरामा शंका गर ।’

आलोचनात्मक चेतबाट कुनै पनि वस्तु वा घटनाको अध्ययन गर्नु मार्क्सवाद हो । तर, त्यो आलोचना ध्वंसका लागि होइन, सिर्जनाका लागि हुनुपर्छ । त्यो आलोचना सामाजिक रुपान्तरणका लागि हुनुपर्छ । तर, केहीलाई झाँक्रीको आलोचनात्मक र क्रान्तिकारी चेत मन परेन र त उनीहरू ज्यान फालेर विरोधमा उत्रिएका छन् । उनको अग्रगमन र सकारात्मक चिन्तन स्वीकार गर्न तयार छैनन्, जसले सत्ताको नुनतेल जुनसुकै सर्तमा खाँदै आएका छन् ।

कम्युनिस्टहरुले प्रगतिशील संस्कृति अङ्गीकार गर्नुपर्ने हुन्छ । संस्कृति समकालीन समाजको आर्थिक–सामाजिक परिस्थितिको उत्तरदेन हो, त्यो सधैं गतिशील हुनुपर्छ । संस्कृत प्रगतिशील र रुढीबादी हुने गर्छ । रुढीवादी संस्कृतिका अनुयायीले रामकुमारी जस्ता प्रगतिशील संस्कृतिको पक्षधरलाई अस्वीकार गर्नु स्वाभाविक हो । तर, श्रमजीवी मजदुर प्रगतिशील विचारका पक्षपाती हुन्छन । अहिलेको पार्टी सत्ता प्रगतिशील संस्कृतिको जगमा उभिएको छजस्तो लाग्दैन ।

हामी कहाँ प्रगतिशील विचार किन चाहियो भन्ने ठूलो जमात छ, जुन मार्क्सवाद होइन । तसर्थ प्रगतिशील संस्कृतिमा विचलितहरुले नाङ्गो नाच देखाउनु अनिष्ट होइन ।

कम्युनिस्टहरु अन्यायका विरोधी हुनुपर्ने हुन्छ । न्यायका पक्षमा वकालत गर्न सक्ने हुनुपर्छ । आफन्त वा निकट भन्ने चिन्तन नै राख्नु हुँदैन । तर, यहाँ न्यायलाई आफू अनुकूल व्याख्या गर्ने परिपाटीको विकास भएको छ । कम्युनिस्टहरुले कुनै पनि धर्म, जाति, क्षेत्र, वर्ग, समुदाय, वर्ग र लिंगमाथि हुने अन्यायको विरोध गर्छन् । तर, यहाँ आजको गुम्ने र भोलिको भाग नमिल्ने भयले बरु दास हुन सक्छन् । अन्याय सहन सक्छन् तर रचनात्मक विरोध गर्न सक्दैनन् ।

उत्पीडन गर्ने मालिक वर्गको बोलवालाले पार्टीको शक्ति कब्जा गरेको छ, जुन मार्क्सवादी मान्यता विरुद्ध छ । नेताको भजन गाएर म पनि नेता हुन सक्छु भन्नू मिथ्या चिन्तन हो ।

हरेक वस्तु, विचार वा व्यक्तिलाई उसको रूपका आधारमा होइन, गुणका आधारमा मूल्यांकन गर्नुपर्ने मत मार्क्सवादले राख्दछ । झाँक्रीले विचार र व्यवहारको सुन्दरता खोज्दै छिन् । वर्ग, जाति, लिङ्ग वा समुदायको आफ्नै सौन्दर्यशास्त्रीय मान्यता हुन्छ । तर, झाँक्रीको विरोध गर्नेहरु रुपका आधारमा विरोधमा उत्रिएका छन । झाँक्रीको विचारमा गुण के छ त भन्नेतर्फ अलिकति सोच्न नसक्नु सत्य, शिवम्, सुन्दरताबाट स्खलित हुनु हो ।

कम्युनिस्टहरु सत्यमा विश्वास राख्ने हुनुपर्ने हुन्छ, भिडमा होइन । ‘अल्पमत होस् । तर, सत्यको बाटो नछोड । तिमीसँग सत्य छ भने त्यो एकदिन शक्तिमा बदलिन्छ ।’ कम्युनिस्ट सिद्धान्तको यो बलियो सर्त हो । अहिलेको समयमा झाँक्रीको विचारको विरोध गर्नेहरुमा भेडा चरित्र देखिन्छ, किनकि उनिहरू त्यो भिडको पछि लागिरहेका छन, उनीहरुलाई पत्तो छैन, म कहाँ पुगेर चिप्लिन्छु ।

भनिन्छ, ‘कुहिएको आलुले पुरै बोरा कुहियाउँछ।’ यो भनाइ नेपाली राजनीतिमा ठ्याक्कै लागू हुन्छ । विशेष गरी नेकपामा लागू हुन्छ । होइन भने ०६२/०६३ को आन्दोलनमा सडकमा उत्रिएका मध्ये प्रमुख कमान्डरको सूचिमा रहेकी झाँक्रीले फरक मत राख्दैमा टाउको दुखाइ हुनु गुटिया मानसिकताको उपज हो । होइन भने त्याग बलिदान भुल्नु इतिहासलाई लात मार्नु हो ।

पुरूषकै बोलवाला भएको सरकार र पार्टीमा त्यो एउटी झाँक्रीलाई खुइल्याउन पितृसत्तात्मक सोचले जगडिएका नारी नै अग्रपंक्तिमा देखिन्छन् भने पुरुष नहुने कुरै भएन । रुढीवादी परम्पराले जकडिएको समाजमा एउटा गाउँबाट आएकी मगरकी छोरी रामकुमारी झाँक्रीको गर्जन बहुनवादले घेरिएको सत्ता र शक्तिलाई विचारले हान्ने ल्याकत झाँक्रीले राख्नु पनि अर्को कारण हो ।

जतिसुकै परिवर्तन गर्यौं वा प्रगतिशील भयौं भने पनि पुस्तौंदेखि जेलिएको जातीय भुमरीमा नेकपा लाई निजी पेवा ठान्नेहरु पर्नु सामान्य हो । तर, चिरेर शल्यक्रिया गर्ने जिम्मेवारीबाट कत्ति पनि बिचलित हुनुहुँदैन ।

रामकुमारी झाँक्रीलाई उचालेर सरकारलाई अप्ठ्यारोमा पार्ने मेरो अभिष्ट होइन । नेकपामा सिद्धान्त र आचरणको पालना गर्ने कार्यकर्ताको ठूलो जमात छ, जो अल्पमतमा छ । झाँक्रीले उठाएका मुद्दा हाम्रो दैनिक जीवनमा प्रयोगमा आउनेखालका छन् । तसर्थ, ती मुद्दामाथि बृहत बहस गर्नुपर्ने देखिन्छ ।

मुद्दाले तान्यो, अनि म उनको विचारको पक्षधर भएको हुँ । तर, सायद मलाई झाँक्रीले चिन्दिनन्, उनलाई म चिन्छु ।

‘सडकको दृश्यले कम्युनिस्ट पार्टीलाई गिज्याइरहेको छ’
आरसी अधिकारी, नेकपाका युवा नेता चितवन

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण त्रास त छँदैछ । रोगको त्रास भन्दा पनि पेटभित्र दन्किएको भोकको चिन्ताले उनीहरु रातारात भएपनि शहर छाड्न बाध्य बनाइरहेको छ ।

काखमा साना चिचिला बालबच्चा च्याँपेर भोक, प्यास, थकाई, निन्द्रा र अभावको समेतको वेवास्ता गरी घरतर्फको दूरी छोट्टाउन कष्टकर यात्रा गर्ने, नेपाली मजदुरहरुको यस्ता अभिव्यक्ति सुन्दा र दृश्य देख्दा जो कोही विवेकशील मानिसको मन रुन्छ । यो सामान्य अनुभूति हैन । श्रमद्धारा आफ्ना परिवार पाल्ने बाध्यताको अभिलाषा लिएर शहर छिरेका निर्माण, यातायात, कारखाना, भरिया, कृषि मजदुरहरूको वास्तविक पीडा हो ।

बिजोर चप्पल लगाएर, आङ राम्रोसँग नछोप्ने कपडा लगाएर जंगलको समेत बाटोघाटो हुँदै कहालीलाग्दो यात्रामा आफ्नो बासस्थान फर्किएका यी नेपाली जनताका सामू सरकारको लकडाउनको आदेश उल्लंघन गर्ने कि भोकभोकै बेखर्ची भएर आफ्नो गाउँ फर्किने बाहेक अरु विकल्प रहेन । ठेकेदार पैसा दिँदैन, पाल्दैन । सरकार भएको अनुभूति छैन ।

यस्तो संकटको बेला पसिनामा विश्वास गर्ने यो वर्गको अभिभावक बनिदिने कोही भएन । मजदुर श्रमजीवि मानिसको लागि संकटका बेला मालिक, ठेकेदार वा सरकार विश्वासिलो भएनन् । कम्युनिष्ट पार्टीको झण्डा बोकेर सर्वहारा बर्गको पक्षमा काम गर्ने भन्दैं चुनाव लडेका कम्युनिष्टलाई खाली पैताला चर्को घामले पोल्ने पिचमा भोकभोकै कुम्लो बोकेर हिडिरहेको दृश्यले पक्कै पनि गिज्याइरहेको छ ।

यसमा सरकार, सरकार जस्तै बनिदिओस भन्ने नै चाहाना हो । सकारात्मक आलोचना गर्दा हाम्रो सरकारको तयारी पुगेन भन्ने हो । पैदल यात्री प्रति सरकार बेखबर छ, या सत्ता भनेको समग्र समस्याको समाधान हैन र ?

हामीसँग महामारीका लागि कुनै तयारी रहेनछ । सबैभन्दा पहिला देश, जनता, यिनको सुरक्षा हो सरकारको लागि । कोरोना भाइरसको कारणले देशमा ठूलो विपत्ती आइराखेको छ । राज्यको भूमिका, कर्तब्य अधिकार र इमान्दारिताका साथ जनताको स्वास्थ्य र जनजीविकालाई सम्वोधन गर्नुपर्दछ । सरकारले संकट पार गर्न एकतावद्ध भएर एउटा मोर्चा बनाएर कोरोना संकटबाट पार लगाउनुपर्दछ ।

एकपटक गरिसकेको निर्णयबाट सरकार पछि हटेपछि अहिले सडकमा मजदुर र विपन्नहरुको लावास्कर देखिन थाल्यो । लकडाउन एक साता भन्दापछि बढाउने तयारीसँगै यस्ता नागरिकहरुको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा सरकारले पटक्कै तयारी गर्न सकेन वा यो समस्याको भेउ पाएन । तर पनि समस्या देखिसकेपछि तत्कालै योजनाबद्ध ढंगले यातायात व्यवसायी, प्रहरी, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर यसको समाधान निकालेको भए सरकार यति आलोचित बन्नुपर्ने थिएन ।

देशका प्रमुख शहरबाट गाउँ पठाउन यति हम्मेहम्मे भएको सरकारलाई बिदेशमा रहेका ५० लाख नेपालीहरुलाई स्वदेश फर्काउँदा अर्को ‘विपत्ति’ आइलाग्ने देखिन्छ । तर, सरकार हुनाका नाताले आफ्ना नागरिक देश भित्र्याउनु, उपचार गर्नु, व्यवस्थापन गर्नु आधारभूत कामभित्र नै पर्दछ ।

सरकारले चाल्नुपर्ने कदमहरु:

१, प्रधानमन्त्री र मन्त्रीको सबैभन्दा नजिकको भएको अभिनय गरेर आफ्नो दूनो सोझ्याउने किस्ताकिस्तामा सरकारलाई बदनाम गरिरहेका उडुसहरुको जुलुस माथि अब बालुवाटारले औषधी छर्न र सफा गर्न ढिला गर्नु हुन्न । स्रोत र साधन र शक्तिको गलत प्रयोग गरी आफ्नो व्यक्तिगत स्वार्थमा राज्यलाई बन्धक बनाउनेलाई छानीछानी कारर्वाही शुरु गर्नुपर्दछ ।

मिलेर लुट्ने र कमाउने ध्याउन्न भएका भष्ट्राचार गर्ने गराउने बदमासहरुको पर्दाभित्रको अँध्यारो खेलोमेलो गरेर भाँडभैले मच्चाएर जुधाउने बजाउने र बाहिर आएर मेलमिलापको अलाप जम्ने अभिलाषी बिचौलियामुक्त अभियान चलाउनुपर्दछ । यहाँ त सर्पले भ्यागुता खाइरहेको छ, तर भ्यागुता अझै किराको आश गरिरहेको जस्तो देखिन थालेको छ । संसारको शक्तिशाली डोनाल्ड ट्रम्पको घमण्ड त चकनाचुर पारेको छ कोरोनाले । अझै मानिसहरु लुट्नै दाउ खोज्दैछन् ।

२, यतिखेर दुई तिहाई मत प्राप्त केपी ओली सरकार अगाडि गरीव, ज्यालादारीमा बाँचेकाहरुको, वृद्ध र केटाकेटी तथा सम्भावित संक्रमित क्षेत्र छुट्टाएर व्यवस्थापन गर्नुपर्दछ । शासक यतिखेर मात्र सफल हुन्छ जतिबेला त्यो देशका नागरिक सरकारप्रति धन्य हुन्छन् ।

यो मानवजातीकै सम्भयता र विकासलाई चुनौती दिने संकटलाई सरकारले नै पार लगाउनुपर्दछ । सरकार, पार्टी, प्रतिपक्ष, आम नागरिक, समाज र मित्रहरुको सुझाव सहयोग लिने दायरा फराकिलो बन्नुपर्दछ ।

३, मध्यपूर्व र संसारभरिका नेपाली कामदारहरू आफ्नो देश फर्कन ७७ प्रतिशतले चाहेकोे गैरआवासीय नेपाली संघले जनाएको छ । उनीहरु कोरोनाग्रस्त मुलुकमा छन् । संख्याको हिसावले ५० लाख नेपाली बाहिर हुँदा करीब ३८ लाख नेपाली आउन चाहान्छन् भन्ने यसले देखाउँछ । यदि ल्याउनुपर्ने अवस्था भएमा त्यसको लागि क्वारेन्टाइन, आइसोलेसन, अस्पताल र टेस्ट ल्यावको तयारी गर्नुपर्दछ । त्यसका लागि समेत सरकारले अब ध्यान दिन ढिला गर्नु हुन्न ।

४, देशभित्रका विद्यालय र विश्वविद्यालयहरु ठप्प छन् । कसरी सञ्चालन गर्ने त्यसको प्रविधि र व्यवस्थापन गर्नुपर्दछ ।

५, भारत र मध्यपूर्व मजदुर नेपाल आउँदा उसको रोजगारी र खाध्य व्यवस्था कसरी मिलाउन सरकारले के कस्तो योजना बनाइरहेको छ ? यदि नबनाएको भए यसका लागि समेत सोच्नुपर्ने अवस्था आइसकेको देखिन्छ ।

६, नेपाली जीवन रेमिट्यान्समा आधाररित छ । खेतबारी बाँझा छन् । यसलाई कसरी खेतीयोग्य बनाइ उत्पादन र उत्पादकत्व बढाउने र संकटमा बेला आत्मनिर्भर कृषि प्रणालीको विकास गर्ने अवसर र चुनौती दुबै सरकार सामू छ ।

७, भारतमा पनि लकडान छ उसको पनि सवा अर्ब जनता पालिनुपर्दछ । हामी बार्षिक ८० प्रतिशत खाद्यान्न भारतबाट आयात गछौं । यदि भारतले आफ्नो देशको कृषिजन्य उत्पादन र औषधी नदिने घोषणा गरेमा त्यसपछि नेपालले के गर्ने हो ? त्यसको पनि बिकल्प सरकारले सुझाउनुपर्ने अवस्था छ ।

८, कोरोना भाइरसको संकटले नेपाललाई चुनौती मात्रै हैन अबसर र सम्भावना पनि सँगसगै ल्याइदिएको छ । रोपे फल्ने नेपालका खेतवारीमा आधुनिक कृषि र व्यवसायिक पशुपंछीपालन, आयुर्वेद जटिवुटीको व्यवसायीकरण गरी स्वदेशमा नै केही गर्ने बातावरण तयार गर्नुपर्ने देखिन्छ । भोकमरी टार्न आत्मनिर्भर कृषि कार्यक्रम ल्याएर बेलैमा तयारी नगरी सुखै छैन । विपत्ती भर हुँदैन । अल्पकालिन र दीर्घकालीन योजना बनाउनुपर्दछ ।

९, स्वास्थ्यकर्मी, स्वास्थ्यसंस्था र स्वास्थ्य शिक्षा नै धन रहेछ । देशलाई फुटवल खेलाडी भन्दा स्वास्थ्यकर्मी पो चाहिने रहेछ । धेरै युद्ध सामग्रीभन्दा धेरै अस्पताल र धेरै बजेट स्वास्थ्य र शिक्षामा लगानी बढाउनुपर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment