+
+
Shares

पोखराको राहत : चामल होइन, प्याकेटमा भात

विकास रोकामगर विकास रोकामगर
२०७७ वैशाख ६ गते १९:११

६ वैशाख, पोखरा । पोखरा महानगरले लकडाउनयता २० हजार परिवारलाई राहत बाँड्दा विवाद हुन सकेन ।

कतै एक डाडु तेल बाँडेको त कतै कार चढेर राहत लिन आएको तथ्य बाहिरियो । त्यसपछि महानगरले राहतलाई विवादरहित बनाउन अर्को उपाय निकाल्यो, ‘अब जसको घरमा चुल्हो निभ्छ, उसकै घरमा खाना पुर्‍याउने ।’

सोही योजनाबमोजिम महानगरले बिहीबारदेखि विपन्नलाई खाना खुवाउने कार्यक्रम सुरु गरेको छ । अघिल्लो चरणमा बाँडेको राहतमा ‘राजनीति’ भएको भन्दै दोस्रो चरणमा घरमै खाना पुर्‍याउने अभियाउन सुरु गरेको महानगरका एक कर्मचारीले बताए ।

‘अघिल्लो चरणमा पनि कोही नछुटून, कोही नदोहोरिऊन् भनेर राहत वितरण गरेका थियौं । तर, वडास्तरबाट राहत दिँदा केही राजनीति हुन पुग्यो । जसले लक्षित वर्गमा पुग्न सकेन,’ ती कर्मचारीले अनलाइनखबरसँग भने, ‘अब भने राहतमा राजनीति नहोस् भनेर आवश्यक भएका परिवारको घरमै पुग्न लागेका हौं ।’

पोखरा महानगरका मेयर मानबहादुर जिसीले अघिल्लो चरणमा ७५ प्रतिशत विपन्नको घरमा राहत पुगेको दाबी गरे । ‘पहिलो चरणमा महानगरले बाँडेको राहत पनि असफल भन्न मिल्दैन । ठूलो संख्यामा राहत वितरण गर्दा केही तलमाथि हुनु सामान्य हो,’ उनले भने, ‘तर, ती असामान्य परिस्थिति हटाउन हामीले अन द स्पट राहत पुर्‍याउने योजना ल्याएका हौं ।’

मेयर जिसीले पोखरा महानगरभित्र बसोबास गर्ने र मजदुरी गरेर जीवनयापन गर्ने नागरिकको स्वास्थ्यप्रति महानगर प्रतिबद्ध रहेको दाबी गरे ।

‘कम्तीमा पोखराभित्र बस्ने र यहाँ काम गर्ने जो सुकै नागरिक भोकै नरहुन् भन्ने हाम्रो चाहना हो । त्यही चाहना अनुरुप विपन्नका घरमै खाना पुर्‍याउने कार्यक्रम सुरु गरेका हौं,’ उनले भने, ‘पहिलो चरणमा सडकमा अलपत्र परेकालाई खाना खुवाऔं । यस्तो हुँदा राहतमा मनोमानी हुने सम्भावना कम हुने देखियो ।’

घरमा चुल्हो बल्नै छाडेको अवस्थामा महानगरका कर्मचारीलाई टेलिफोन वा  कुनै  माध्यमले सम्पर्क गरे पीडित भएकै ठाउँमा राहत पुग्ने मेयर जिसीले दाबी गरे ।

‘महानगरबाट २/४ जना कर्मचारी खाना बाँड्नकै लागि खटिनुभएको छ । जसको घरमा खाना पाक्न बन्द हुन्छ, उहाँहरुले सम्पर्क गरे घरमै प्याकेट खाना लिएर पुग्छौं,’ उनले भने ।

महानगरका कर्मचारीले शनिबारदेखि विहान ८ बजेदेखि १० बजेसम्म साँझ ५ बजेदेखि खाना पुर्‍याइदिन सुरु गरेको छ । महानगरले दिने प्याकेट खानामा दाल, भात र तरकारी समावेश गरिएको छ ।

पोखरा महानगरले लकडाउन अवधिभर निशुल्क खानाको व्यवस्था गर्नेसमेत मेयर जिसीले जानकारी दिए । ‘लकडाउन बढ्न पनि सक्छ । यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर करिब १ हजार परिवारलाई खाना खुवाउने गरी हामीले व्यवस्था गरेका छौं,’ मेयर जिसीले भने, ‘यसका लागि सहयोगी दाता र सहयोगी मन सबैबाट महानगरले सकारात्मक सहयोगको अपेक्षा गरेको छ ।’

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?