Comments Add Comment

नारायणगढमा भेटिएका मनकारी प्रहरी

६ वैशाख, चितवन । लकडाउन उल्लङ्घन गरेको भन्दै कहिले डाक्टर त कहिले औषधि किन्न गएकाहरुलाई कुटिपट गरेको भन्दै नेपाल प्रहरी निकै आलोचित भयो । तर, चितवनमा भने प्रहरीले पैदलयात्रीहरूको मन जितेको छ ।

काठमाडौं लगायतका विभिन्न भागबाट आएका नागरिकहरूलाई प्रहरीले सहयोग गर्दै आएको छ। पोकोपन्तरो बोकेर हिँडेरहरूलाई नारायणगढको पुल्चोकमा बसेका प्रहरीले झोला बिसाउन लगाउँछन्, हात धुन भन्छन् । खाना/खाजा खाए नखाएको सोध्छ। यदि कोही भोकै भए नेपाली युवा उद्यमी मञ्चले व्यवस्था गरेको स्यानिटाइजर मेसिनभित्र लगेर स्यानिटाइज गराउँछ । अनि बिरयानी र एक बोतल पानी दिएर शितलमा बसेर खान आग्रह गर्छन् ।

कहाँबाट आएको ? कहाँसम्म पुग्ने हो भनेर सोध्छन् । सवारी साधानमा रोकेर जहाँसम्म हुन्छ त्यहाँसम्म हालेर पठाएको छ । शुक्रबार मात्रै झण्डै ४ सयभन्दा बढीलाई ट्रक लगायतका विभिन्न सवारी साधनमा राखेर पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पूर्व जानेभन्दा पश्चिम जानेहरुको संख्या धेरै छ । बाँके, बर्दिया, कैलाली, कपिलवस्तु, रोल्पा, जाजरकोट, गुल्मी लगायतका जिल्लाका मजदुरहरू धेरै रहेको प्रहरीले जनाएको छ ।

फिल्डमा खटिएका जिल्ला ट्रफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक कृष्णबहादुर ठकुरीका अनुसार अहिलेसम्म करिब दुई हजारभन्दा बढी मानिसहरू खाना खाएर गएका छन् । उनले भने, ‘लकडाउनको बेलामा गाडीमा हालेर पठाउने भन्ने आदेश त छैन । तर, मानवीय हिसावले पनि गर्नुपर्ने देखियो ।’

तातो पिचमा हिँडेर लखतरान परेर आउनेहरूलाई खानासहित सवारी साधनमा हालेर सहयोग गरिएको उनले बताए । ‘कोही बच्चासहित आउँछन्, कोही बुढापाका हुन्छन्’ उनले भने, ‘दुःख खोख्छन्, रुन्छन् । हामीले पनि मनले थाम्न सक्दैनौँ ।’

कोही खुट्टा सुन्नाउँदै त कोही खाली खुट्टा हिँडेको देखिने गरेको पुल्चोकमा खटिएका ट्राफिक हवल्दार महेश लम्सालले बताए । उनले अनलाइनखबरसँग भने, ‘बर्दिया, कैलाली पुग्ने भन्छन्, नारायणगढ आउँदा नै बिजोग देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment