Comments Add Comment

मोरङ र सुनसरीको मस्जिदमा ९१ जना विदेशी

६ वैशाख, विराटनगर । मोरङ र सुनसरीका विभिन्न मस्जिदमा ९१ जना विदेशी नागरिकहरू भेटिएका छन्। जसमध्ये मोरङमा १९ जना र सुनसरीमा ७२ जना रहेको सुरक्षा निकायले जानकारी दिएको छ ।

मोरङको विभिन्न तीन स्थानमा १९ विदेशी नागरिकसहित ३१ जना मस्जिदमा बसेको पाइएको छ । सुनबर्सी र धनपालथान गाउँपालिकाका र सिक्टी क्षेत्रमा रहेको मस्जिदमा ३१ जना आश्रय लिएर बसेको पाइएको हो ।

प्रहरीका अनुसार धार्मिक गतिविधिका लागि आएर मस्जिदमा बस्नेमध्ये ९ पाकिस्तानी र १० भारतीय छन् । सिक्टीमा रहेको मस्जिदमा भने सुनसरीका १२ नेपाली बसिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्सी नगरपालिकामा नौ जना पाकिस्तानी, धनपालथान गाउँपालिका ७ को जामे मस्जिदमा १० भारतीय लकडाउन अघिदेखि बसिरहेका हुन् ।

जहदा गाउँपालिकामा पर्ने सिक्टी क्षेत्रमा भने १२ जना नेपाली बसेका छन् । उदयपुरको मस्जिदमा संक्रमित भेटिएका कारण यो संख्या बढ्न सक्ने प्रहरी अधिकृत बताउँछन् ।

मस्जिदमा भेटिएका सबै मुस्लिम धर्म गुरुहरू हुन् । उनीहरू सबैको र्‍यापिड टेस्ट गर्दा एन्टिबडी नेगेटिभ देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार मस्जिदमा बसेकाहरू प्रहरीको निगरानीमा छन् ।

धनपालथान गाउँपालिकाले भारतीय नागरिक बसोबास गरिरहेको मस्जिदलाई नै क्वारेन्टाइन बनाएको गाउँपालिका अध्यक्ष हरिलाल सिंहले बताए । उनका अनुसार गाउँमा बस्ने सबैको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

सुनसरीमा ७२ जना विदेशी

यस्तै, सुनसरीमा भने ७२ जना विदेशी नागरिक भेटिएका छन् । विदेशी नागरिक पाकिस्तान र भारतबाट आएका हुन् ।

विभिन्न मस्जिदमा भेटिएकाहरूलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले बताए ।

‘कोरोनाबारे सचेत नै देखिएनन्,’ उनले भने, ‘संख्या बढ्नसक्ने भएकाले मस्जिद खाली गराएर सबैलाई क्वारेन्टाइनमा राखेका छौँ ।’ सुनसरीमा पनि विदेशी नागरिकको संख्या थपिने क्रममा छ ।

कमजोर सुरक्षा संयन्त्र

प्रहरी स्रोतका अनुसार पछिल्लो समय सम्पर्कमा आएकाहरू सबै सप्तरीमा भएको धार्मिक सभाका लागि आएको बताएका छन्। सभाका लागि भित्रिएकाहरू तत्कालै भित्रिने स्थानीय प्रशासनले बताएको थियो। तर, उनीहरू भित्रभित्रै लुकेर बसेको स्थानीय प्रशासनले जानकारी समेत पाएन ।

मस्जिदमा बसेकामध्ये केही मात्र स्थानीय प्रशासनले खोजी गर्दा भेटेका हुन् । मोरङको हकमा भने तीनै स्थानमा बसेकाले लकडाउनमा कडाइ गरेपछि प्रशासनलाई जानकारी गराएका थिए । सुनसरीका डीएसपी शर्मा सर्वसाधारणबाट सहज रुपमा सूचना नै नआएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment