Comments Add Comment

युएईमा कोरोना संक्रमित नेपाली भन्छन्– अब त बाँचियो

युएई । झापा मेचीनगर नगरपालिका १३ घर भई १५ वर्षदेखि युएईमा कार्यरत एक युवक आबुधाबीमा कोरोना भाइरससँग जुधिरहेका छन् । यस्तै काठमाडौं थानकोट घर भई ४ वर्षदेखि आबुधाबीमा कार्यरत युवती सेल्फ क्वारेन्टाइमा रहेर कोरोनाविरुद्ध लडाइँमा छिन् ।

एकसातादेखि आबुधाबीको खालिफा अस्पताल र सेल्फ क्वारेन्टाइनमा उपचार गराइरहेका उनीहरुमा अब भने रोगलाई जितेर पुनर्जीवन पाएँ भन्ने लागेको छ । दोस्रो चरणको उपचार गराइरहेका उनीहरुले अनलाइनखबरसँग आफ्नो अनुभव यसरी साटे ।

झापा घर भएका युवकमा चैत २६ (अप्रिल ८) का दिन टाउको दुख्ने, शरीर गल्ने लक्षण देखियो । दिनभरीको कामको थकाइले भन्ठानेर उनले २ वटा प्यानाडोल औषधि सेवन गरेर आराम गरे । तर भोलिपल्ट झनै गाह्रो हुन थाल्यो । शरीर पुरै गल्ने, टाउको असाध्यै दुख्ने, केही खान मन नलाग्ने हुन थाल्यो । त्यसपछि उनले एकैपटक १० वटा प्यानाडोल खाए । औषधिको ओभर डोजले उनलाई बेहोस बनायो । औषधिको असर कम हुँदै गएपछि होसमा आए । बान्ता भएपछि शरीर हल्का भएको अनुभूति भयो ।

एउटै कोठामा रहेका साथीहरु सहित उनले स्वास्थ्य परीक्षण गराए । रिपोर्टमा कोरोना पोजेटिभ देखियो । ‘कोरोना संक्रमणको रिपोर्ट पाएपछि जीवनदेखि हारेको अनुभूति भयो,’ उनले थपे, ‘अब बाँचेर घर फर्किंदैन कि जस्तो लाग्यो ।’

त्यसपछि उनले सुरुमा कम्पनीलाई जानकारी गराए । कम्पनीले क्याम्पमै क्वारेन्टाइनको व्यवस्था गरेर राख्यो । तर शारीरिक कमजोरी र मनमा डर कायमै थियो । सुरुमा घरपरिवारमा कुनै खबर नगरेका उनले स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि श्रीमतीलाई सुनाए । परिवारका सदस्यहरु आत्तिन थाले । श्रीमती र अन्य आफन्तले दूतावास र यहाँ रहेका संस्थाहरुमा गुहार मागे ।

दूतावासको पहलमा उनी कार्यरत कम्पनी र यहाँको सरकारसँगको समन्वयमा उनलाई आबुधाबीमा रहेको खालिफा अस्पताल भर्ना गरियो ।

‘अब त बाँचियो, युएई सरकारलाई धन्यवाद’

झापा घर भएका युवकको दोस्रो पटकको स्वास्थ्य परीक्षण भएको छ । चिकित्सकले स्वास्थ्यमा धेरै सुधार आएको जनाएका छन् । चिकित्सकले अबको केही दिनमा डिस्चार्ज गर्ने भनेका छन् । सुरुमा अनलाइनखरसँगको सम्पर्कमा आएका उनी हतास र निराश अवस्था थिए । अहिले उनी खुलेर आफ्ना कुरा राख्न सक्ने भएका छन् ।

टेलिफोन कुराकानीमा उनले भने, ‘सुरुमा बाँचेर फर्कन्छु भन्ने लागेको थिएन । तर युएई सरकारले विशेष साबधानी अपनाएर उपचार गराएको छ । अब मैले नयाँ जीवन पाएँ । युएई सरकार, नेपाली दुतावास मेरा आफन्त सबैलाई धन्यवाद । म चाँडै पूर्णरुपमा स्वस्थ भएर फर्कनेछु ।’

पारिवारिक भूमिका महत्वपूर्ण

कोरोना भाइरसको संक्रमण देखिएका व्यक्तिहरु, परिवार र आफन्तको दुरीबाट टाढा रहनुपर्ने हुन्छ । यस्तो अवस्थामा उनीहरुको मनोबल बढाउन परिवार, साथीभाइ र आफन्तको भूमिका महत्वपूर्ण हुन्छ ।

ती युवकको घरमा उनको स्वास्थ्य लाभ हुँदै गएको खबरले खुसी छाएको छ । दुई छोरी र श्रीमती उनी निको भएर हवाई उडान खुलेपछि घर आउने बाटो हेरिरहेका छन् । श्रीमतीले भनिन्, ‘उहाँको स्वास्थ्य लाभका लागि अनेक प्रार्थना गरेँ । छोरीहरु र उहाँलाई पनि मन बलियो बनाउन भनेँ । घरदेशभन्दा टाढा हुनुहुन्थ्यो । मनमा अनेक कुरा खेल्यो तर हामी सबैले उहाँलाई हिम्मत राख्न भन्यौँ ।’

धैर्यता र मनोबल बढाएकाले पनि स्वास्थ्य लाभमा धेरै प्रभाव परेको उनी बताउँछिन् । ‘यस्तो अवस्थामा परिवारको साथ र भरोसा महत्वपूर्ण हुने रहेछ,’ उनले थपिन्, ‘अब त कहिल्यै परदेश पठाउँदिनँ । उहाँ फर्किएपछि स्वदेशमै केहीँ इलम गरेर जीवन चलाउने हो ।’

युवती भन्छिन्–मलाई केही भएको छैन

थानकोटकी युवती अबुधाबीमा कम्पनीले व्यवस्थापन गरिदिएको सेल्फ क्वारेन्टाइमा रहेर कोरोनाविरुद्ध जुधिरहेकी छन् । उनी आफू बिरामी छु भन्ने अनुभूति नै नभएको बताउँछिन् । ज्वरो आएर अस्पतालमा चेक गराउन जाँदा चिकित्सकले कोरोना पोजेटिभको रिपोर्ट सुनाएका थिए ।

तर उनी आत्तिइनन् । आत्मबलले पनि हुनसक्छ उनलाई रोगसँग जुध्न सहज भयो । उनी नियमित व्यायाम गर्छिन् । दैनिक अदुवा र बेसार मिसाएको पानी पिउने र त्यसको वाफ लिने गर्छिन् । घरपरिवार र साथीभाइको नियमित सम्पर्कमा छिन् । उनीहरुसँगको सम्पर्कमा आफूलाई केही नभएको बताउने गर्छिन् । सकारात्मक ऊर्जा दिने कुरामा मन भुलाउँछिन् ।

कोरोनाको असर कम गर्न नियमित अदुवापानी र त्यसको वाफ लिन उनको सुझाव छ । यस्तै पैसाको कारोबार हुने क्षेत्रमा काम गर्नेहरुले सुरक्षा सामाग्री प्रयोग गर्नुपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment