Comments Add Comment

लकडाउन अवधिभर प्रदेश ५ मा १७ बलात्कृत

रूपन्देही । बन्दाबन्दीका समयमा प्रदेश ५ मा १७ महिला बलात्कृत भएका छन् ।

बन्दाबन्दीको २४ दिनको अवधिमा प्रदेशका ८ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन् । त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिए ।

बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणी अन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताए ।

पछिल्लो एक हप्तामा रुपन्देहीमा तीन युवतीमाथि बलात्कार भएको उजुरी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवतीमाथि बलात्कार भएको हो ।

गत मंगलबार रपन्देहीको सैनामैना १ मा १५ वर्षीयामाथि बलात्कार भएको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ ।

परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । दिउँसो उनलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उनले बताए ।

यस्तै चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही दिन मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारका आरोपमा स्थानीयवासी १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ ।

सो अवधिमा घरेलु हिंसाका १२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्रवक्ता पोखरेलले बताए । घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन् । सबैभन्दा धेरै बाँके र दाङमा चारचार, रोल्पामा दुई र पाल्पामा घरेलु हिंसाका एक मुद्दा दर्ता भएका छन्।

त्यस्तै, बन्दाबन्दीमा आत्महत्याका घटना पनि भएका छन्। प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ। सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् ।

नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुईदुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एक जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक देखाएको छ। बन्दाबन्दीमा एउटा यौन दुर्व्यवहारसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । सो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एकएक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment