Comments Add Comment

चीन र दक्षिण कोरियामा घट्यो नयाँ संक्रमितको संख्या

७ वैशाख, काठमाडौं । चीन र दक्षिण कोरियामा आइतबार कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । चीनको नेसनल हेल्थ कमिशनले आइतबार केवल १६ नयाँ संक्रमित देखिएको बताएको छ । यो संख्या मार्च १७ यताकै कम हो । १७ अप्रिलमा चीनमा २७ नयाँ संक्रमित देखिएका थिए ।

आइतबार सार्वजनिक गरिएको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसको कारण कसैको पनि मृत्यु भएको छैन । चीनमा कोरोना भाइरसका समग्र संक्रमितको संख्या ८२ हजार सात सय ३५ पुगेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजार ६ सय ३२ पुगेको छ ।

त्यस्तै दक्षिण कोरियामा पनि आइतबार संक्रमितको संख्या एक अंकले बढेको छ । दुई महिनामा पहिलोपटक दक्षिण कोरियामा नयाँ संक्रमितको संख्या एक अंकमा झरेको हो । पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा केवल आठजना नयाँ संक्रमित फेला परेका थिए । साथै, दुईजनाको यो भाइरसको कारण मृत्यु भएको थियो । यससँगै दक्षिण कोरियामा समग्र संक्रमितको संख्या १० हजार ६ सय ६१ पुगेको छ । यसबाट मृत्यु हुनेको संख्या पनि दुई सय ३४ पुगेको छ ।

दक्षिण कोरिया र चीन पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा सफल देखिएका मुलुक हुन् । चीनमा अहिले केवल एक हजारको संख्यामा कोभिड–१९ का बिरामी निको हुन बाँकी छन् भने दक्षिण कोरियामा यो संख्या दुई हजारको हाराहारीमा छ । यी दुवै मुलुकमा गम्भीर बिरामीको संख्या पनि एक सयभन्दा कम छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment