
७ वैशाख, काठमाडौं । बझाङका मीनबहादुर थापा विद्यार्थीहरुलाई राहत बाँड्ने खबर सुनेपछि शनिबार पाँगा बसपार्कबाट चोभारतर्फ झर्ने बाटोमा रहेको साल्मेनिया एकेडेमीमा पुगे । बझाङ, बाजुरा लगायतका क्षेत्रमा घर भई कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरुलाई राहत बाँड्ने खबर थियो ।
कसमस कलेजमा अध्ययन गर्ने मीनबहादुर बिहान ११ बजेदेखि झण्डै २ बजेसम्म लाइनमा बसे । तर, उनको पालो नआउँदै राहत सामाग्री सकिएको खबर पाए ।
‘हामी ४/५ सय विद्यार्थी जम्मा भएका थियौं । स्कुलको चारैतिरबाट लाइन लगाइएको थियो’ उनले अनलाइनखरबसँग भने, ‘सबैतिरको लाइनमा रहेका ४/५ जनालाई भित्र लगियो । त्यसपछि एकैपटक राहत सामाग्री सकियो भन्ने खबर आयो ।’
राहत वितरणका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर आफैं पुगेका थिए । केही विद्यार्थीलाई राहत दिएर उनी हिँडे । त्यसपछि राहतमा झेल भएको विद्यार्थीहरुको गुनासो छ ।
विद्यालयको अर्को गेटबाट आफ्ना मान्छेलाई प्रवेश गराएर राहत दिएको भन्दै उनीहरुले विरोध गरेपछि प्रहरी बोलाएर उनीहरुलाई घर पठाइएको थियो ।
त्यसक्रममा ३/४ सयले हल्लाखल्ला गर्दा स्थानीय समेत हेर्न पुगेका थिए ।
कमजोरी भएकै हो : महर
तर, वितरण व्यवस्थित हुन नसकेको अनेरास्ववियूका संयोजक महरले स्वीकार गरेका छन् । धेरै भिड भएका कारण व्यक्तिव्यक्तिबीच दूरी राख्न नसकिएको उनले बताए ।
‘त्यहाँ अलि अव्यवस्था देखियो, हामीले ३ सयको संख्यामा राहत लगेका थियौं । तर, एक हजारभन्दा बढी राहत लिन आए’ उनले भनेका छन् ।
विद्यार्थीहरुलाई राहत स्वरुपमा १५ किलो चामल, २ किलो दाल, एक लिटर तेल दिइएको छ ।
विद्यार्थीलाई टोलटोलमै पुगेर राहत
लकडाउनको समयमा आयस्रोत नभएका विद्यार्थीलाई भोकै पर्न नदिन टोलटोलमा पुगेर राहत वितरण गरिएको अध्यक्ष ऐन महरले जानकारी दिए । आइतबार अनेरास्ववियूले संखमुल, जडिबुटी, थापागाउँ, मैतीदेवी, तीनकुने, लैनचौर, कपन, डल्लु लगायत क्षेत्रमा राहत वितरण गरिएको उनले बताए । लकडाउन अवधिभर विद्यार्थीलाई राहत वितरण गरिरहने उनको भनाइ छ ।
आफ्नो संगठनले अनलाइनमार्फत फारम भराएर विद्यार्थीहरुलाई घरघरमै राहत लगिदिने उनले बताए ।
प्रतिक्रिया 4