Comments Add Comment

अध्यादेश हाम्रा नेताहरु विवेक शून्य भएको प्रमाण : विवेकशील दल

९ वैशाख, काठमाडौं । विवकेशील नेपाली दलले राष्ट्रपतिबाट सोमबार जारी भएका दुई अध्यादेश सरकारले कोभिड १९ विरुद्धको लडाइँमा आफ्नो असफलताबाट नागरिकको ध्यान विकेन्द्रित गर्ने दूषित मनसायले ल्याएको बताएको छ । उसले ती अध्यादेश फिर्ता लिएर कोभिड १९ को विरुद्द सम्पूर्ण रुपले लाग्न आग्रह गरेको छ ।

‘अहिले देशको एउटै मात्रै प्राथमिकता कोभिड १९ विरुद्धको प्रतिकार्यलाई रणनीतिक ढंगले, कार्य कुशलतापूर्वक र योजनाबद्ध रूपमा युद्ध स्तरमा अगाडि बढाउनु हो’ विवेकशील दलकी उपाध्यक्ष अजिता राईले विज्ञप्तिमा भनेकी छन्, ‘यो क्षेत्रमा सोचेको रूपमा चाहिएको जसरी काम नगरी अत्यावश्यक नरहेको र देशको लोकतान्त्रिक प्रक्रिया र शासन प्रणालीमा नै दूरगामी असर पार्ने अध्यादेश ल्याइनु खेदजनक छ ।’

राजनीतिक दलसम्बन्धी ऐनलाई विना छलफल हठात् रुपमा परिवर्तन गर्नुले राजनीतिक अस्थिरतालाई मलजल गर्ने विवेकशील पार्टीले बताएको छ । ‘संसारभर मानव जीवन नै सङ्कटमा परेको अवस्थामा पनि दललाई टुटफुटको लागि उकास्नु हाम्रा नेताहरू विवेक शून्य भएको थप प्रमाणित भएको छ’ विज्ञप्तिमा भनिएको छ ‘साथै, सत्ता र शक्तिको खेलमा अमानवीय व्यवहार गरिरहेको पुष्टि हुन्छ ।’

विवेकशील पार्टीले सरकारको कदमको प्रतिरोध आवश्यक रहेको भन्दै नागरिकलाई आफू रहेको ठाउँबाट नै सरकारको कदम तथा सरकारको नेतृत्वको विरोध गर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment