Comments Add Comment

बाटोमा वडाकै तगारो, मारमा कृषक

९ वैशाख, पोखरा । पोखरा महानगपालिका वडा नम्बर-२० भलामकी सुजना अधिकारीका चार वटा लैनौ भैँसी छन्। दैनिक २५ लिटर दूध नजिकैको पोखरा बजारमा ग्राहकको घरघरै पुर्‍याउँछिन् ।

बुधबार बिहान दूध बोकेर जाँदै गर्दा वडा नाकामा केही युवाले बाटो छेके । स्कुटरको चाबी खोसेर अपशब्द बोल्दै त्यहीँबाट फर्काइदिए । उनलाई बजारसम्म दूध पुर्‍याउनु थियो । त्यसैले २५ लिटर दूध सकिनसकी करिब एक घन्टाको बाटो हिँडेर ग्राहकको दैलोसम्म पुर्‍याएर फर्किइन् ।

अर्जुन बास्तोलाका पनि चार वटै भैँसी छन् । मासिक ३० हजार किस्ता तिर्ने गरी ऋण लिएर पशुपालन गरेका उनले दूध बेच्न जाँदा बाटोबाटै फर्काइए । वडामा नाका ‘सुरक्षा’मा खटिएका युवाले भनेका थिए, ‘वडाबाट दूग्धजन्य पदार्थ बाहिर लैजान बन्द छ । ल्याएको सामान घरै फर्काउनुस् ।’

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपनि खाद्यान्न र अत्यावश्यक सामग्री ढुवानी रोकेको छैन । पोखरा महानगरपालिका वडा नम्बर २० ले भने आफ्नो वडा दूग्ध तथा तरकारीजन्य उत्पादन पनि बजारमा लैजान नपाउने गरी निर्णय मात्रै गरेको छैन, वडा प्रवेश गर्ने नाकामै बाँसको तगारो तेर्स्याएको छ । स्थानीय नवयुवा क्बलका युवालाई नाकामा पहराको जिम्मा दिइएको छ । यसको प्रत्यक्ष मारमा कृषक परेका छन् ।

दैनिक सयौं लिटर दूध खेर जाने देखिएपछि उनीहरु बुधबार वडा कार्यालयमा पुगेर समस्या राखेका छन् । ‘वडामा उत्पादित दूग्धजन्य र तरकारी अर्को वडामा बेच्न लैजान नपाइने निर्णय गरेको छ,’ कृषक दिननाथ अधिकारीले भने, ‘वडाबाट बाहिर लैजान नपाएपछि कसरी व्यवस्थित गर्ने भन्ने वडाले सोचेन ।’

भलाम क्षेत्रबाट पोखराका विभिन्न उपभोक्ताको घरमा दैनिक ४ सय लिटर दूध र हजारौं मूल्य बराबरको तरकारी पोखरा मुख्य बजार क्षेत्रमा बिक्री हुने कृषकहरु बताउँछन् । र, दुध तथा तरकारी बिक्री गर्न नपाएपछि उनीहरुले वडा कार्यालयको प्रवेशद्वारमै दुधका प्याकेट फालेर विरोध गरे ।

पोखरा नदीपुर, बगर क्षेत्रमा आफ्ना ग्राहक रहेको बताउने गुरुप्रसाद आचार्यको वडाले दुग्ध तथा तरकारीजन्य उत्पादन बिक्री वितरण गर्न नपाउने निर्णय गर्दा पनि कुषकलाई कुनै जानकारी नदिएको बताए । ‘हामीलाई सरकारले प्रतिबन्धित गरेको चिजबिज बिक्री वितरण गर्न लागेको जस्तो व्यवहार गरियो,’ उनले भने, ‘दैनिक हजारौं रुपैयाँ बराबरको दुध बिक्री नभएपछि त हामी बिजोकै पर्ने भयौं ।’

वडा कार्यालयले सोमबार आफ्नो वडाबाट बाहिर खुद्रा रुपमा दूग्ध तथा तरकारीजन्य उत्पादन बाहिर बेच्न जान नपाउने निर्णय गरेको थियो । वडाले आफ्नो वडामा उत्पादित कृषिजन्य उत्पादन बाहिर बेच्न नदिने भएपछि वडाले नै खरिद गरिदिनुपर्ने माग कृषकले गरेका छन् ।

‘परिवार पाल्नै कृषि पेशा अंगालेका हौं । सबैले ऋण लिएर व्यवसाय गरिरहेका छौं । वडामै खपत हुने भए किन आधारातमा उठेर टाढा पुग्नुपर्थ्यो र ?’ कृषक सूर्यप्रसाद भण्डारीले भने, ‘वडाले नै खरिद गरिदिएर व्यवस्था गर्ने हो भने हामी मान्न तयार छौं ।’ उनीहरुले लकडाउनका सुरुका दिनमा बजार नपुर्‍याए पनि अवधि थपिँदै गएपछि बाध्य भएर ग्राहकको घरघरमा पुर्‍याउन थालेको बताए ।

वडाध्यक्ष भन्छन् :  वडाबासीकै सुरक्षाका लागि तगारो

पोखरा २० का वडाध्यक्ष सिम गुरुङले वडाबासीकै माग बमोजिम नाका बन्द गरिएको बताएका छन् ।

विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसमा नेपालमा पनि देखिएको र त्यसबाट वडालाई सुरक्षित राख्न नै वडा बन्द गर्नुपरेको बताए ।

‘यो, त्यो भन्ने पूर्वाग्रह होइन । व्यापक जनगुनासो आएपछि सर्वदलीय बैठकले निर्णय गरेको हो । व्यवसायको कुरा नगर्ने भन्ने होइन,’ वडाध्यक्ष सिम गुरुङले अनलाइनखबरसँग भने, ‘कृषकबाट पनि बढी नै गुनासो आएपछि बिहान साढे ७ बजेभित्र दुध तथा तरकारी बजार पुर्‍याएर फर्किसक्न सहमति भएको छ ।’

हुल बाँधेर जाँदा समस्या नै हुने भएकाले संख्या घटाएर डेलिभरी गर्न सुझाएको तर, त्यसमा सहमति हुन नसकेको गुरुङले बताए । ‘आफ्नो ग्राहक अर्कोले चिन्दैन भन्नुभयो । त्यसो हो भने सुरक्षाका विधि अपनाएर जतिसक्दो चाँडो र सुरक्षित रुपमा कृषकलाई जान दिने कुरा भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment