Comments Add Comment

सरकारको सर्वसत्तावाद पुष्टि भएको थरुहटको ठहर

थरुहट थारुवान केन्द्रीय संयोजन समितिका संयोजक लक्ष्मण थारु । फोटो : फेसबुक

१० वैशाख, काठमाडौं । सरकारले हालै ल्याएको दुई अध्यादेशबाट सर्वसत्तावाद हावी भएको पुष्टि गरेको थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ । यी अध्यादेशले नेपाली जनताहरुको गरेका विभिन्न संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धी संकटमा पार्ने उसको ठहर छ ।

थरुहट थारुवान केन्द्रीय संयोजन समितिका संयोजक लक्ष्मण थारुले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘संसदको आँखा छल्दै दू्रत गतिमा सरकारबाट चालेको कदम र राष्ट्रपतिबाट हतारमा प्रमाणित गरी जारी गरिएको यस अध्यादेशले नेपाली जनताहरुको गरेका विभिन्न लामो संघर्ष, बलिदानी, त्यागबाट प्राप्त उपलब्धी संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीतालाई धरापमा पार्ने र सिंगो मुलुकलाई राजनीतिक अस्थिरता एवं संकटमा पार्ने निश्चित छ ।’

‘राजनीतिक पार्टीहरुलाई सत्ता, शक्ति, पद र आर्थिक चलखेल गरी फुटाउन षड्यन्त्र गर्न र राज्यको विभिन्न महत्वपूर्ण संवैधानिक निकायमा मनमौजी नियुक्ति गर्न लागि ल्याइएको यो अध्यादेशले सरकारको सर्वसत्तावाद हावी भएको पुष्टी गरेको छ ।’

सरकारले यही बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारी गरेको छ । राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था छ ।

‘बहुमतको उन्मादमा ओली नेतृत्वको सरकारले सत्ता, शक्ति र पदका लागि राज्य शक्तिको दुरुपयोग गर्दै अहिलेको पीडादायी अवस्थामा अप्रत्यासित रुपले जारी गरेको दुबै अध्यादेश नेपाल र नेपाली जनताको हितमा छैनन्,’ संयोजक लक्ष्मण थारुले भनेका छन्, ‘सरकारले निहीत स्वार्थका लागि यी सबै प्रमुख काम कर्तव्य छोडेर सत्ता, शक्ति र कुर्सीका लागि हठात मानसिकताका साथ ल्याएको अध्यादेश लोकतन्त्र र संविधानको मूल्य मान्यता एवं भावना विपरीत रहेको छ ।’

नेपाली जनताहरुको जिउधनको सुरक्षा सहित कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण, स्वास्थ्य उपचार, चेकजाँचको प्रभावकारी व्यवस्थापन गर्न एवं लकडाउनबाट नेपाल भारत सीमा लगायत मुलुकको विभिन्न स्थानमा अलपत्र परेका नेपाली नागरिकहरुको उचित व्यवस्थान गर्न सर्वदलीय सर्वपक्षीय संयन्त्र निर्माण गरी ध्यान केन्द्रीत गर्नुपर्ने थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ ।

मोर्चाले दुवै अध्यादेश फिर्ता लिई कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण, स्वास्थ्य उपचार, चेकजाँच प्रभावकारी व्यवस्थापन, अलपत्र नागरिकहरुको उद्धार एवम् राहत व्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन ध्यान केन्द्रित गर्न सरकारसँग मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment