Comments Add Comment

‘मन्दिर बनायौं, तर भगवानले नै हेरेनन् !’

१० वैशाख, पोखरा । छाला चाउरिसकेका छन् । सिमेन्ट र बालुवाको ‘झोल’ले खाएर पैतला पटपटी फुटेका छन् । दुखेको खुट्टा कहिले सोझ्याउँछन्, कहिले हातले थिच्छन् । उनको खुट्टा केही सुन्निएको देखिन्छ ।

उनी अर्थात् दाङका ६४ वर्षीय डम्बरबहादुर योगी । लकडाउन अगाडिसम्म पर्वतमा मन्दिर बनाइरहेका थिए उनले । मन्दिरको काम सकिनै लागेको थियो, कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नेपालसम्म आइपुग्यो । सरकारले लकडाउन घोषणा गर्‍यो । उनी पनि मन्दिर अघिल्तिर बनाएको अस्थायी छाप्रोमा अड्किए ।

‘पहिले त चाँडै खुल्ला भन्ने लाग्या’थ्यो । बढ्याबढ्यै भो,’ पश्चिमेली लवजमा योगीले भने, ‘खुल्दै खुलेन । कमा’को पैसा पनि सब्बै सक्यो। के खाएर बाँच्ने  ?’ उनका अनुसार कोठाको रासन सकियो, गोजी रित्तियो । त्यसपछि हिँडेरै घर जाने योजना बनाए ।

उनीसहित सात जनाको टोली मंगलबार बिहानै पर्वतबाट पोखराका लागि पैदल यात्रा सुरु गर्‍यो । साँझ साढे १२ बजेतिर पोखरा आइपुगे । ‘उता’ट (बाग्लुङ हुँदै) जान सजिलो हुन्छ भन्थे । जानै दिइनन्,’ योगीले सुनाए, ‘केही सिप नलाए’सी स्याङ्जाबाटै हिनेर जाम् भनेर आँटिम् । यता आउँदा नि बाटोमा पुलिसले दुई घन्टा रोक्यो ।’ आधा रातमा पोखरा आइपुगेका उनीहरूले सडकमै रात बिताए ।

बनाइरहेको मन्दिर अपूरै छाडेर हिँड्नुपर्दा उनलाई ननिको लागेको छ । ‘त्याँ मन्दिर पूरा भइ’द्या भए सजिलो हुन्थ्यो । अधुरै छोडेर बस्नुपर्‍यो । भगवानले नि हेरेनन् । दुःख दिए,’ उनले भने, ‘ह्याँ बस पाइन्छ भन्या छन् । पर्खिराछु । नपाए हिँनेर जाने त होला ।’

****

तुल्सीपुरकी कमला घर्तीको घुँडा दुख्ने समस्या छ । एक महिना दिनअघि उपचार गर्न पोखरा आएकी थिइन् । अस्पताल जानै पाएकी थिइनन्, लकडाउन भयो । उपचारका लागि ल्याएको पैसा सकियो ।

सानो नातीसँग अस्पताल आएकी घर्तीले भनिन्, ‘कसैले गाडी चढाउँछन् कि भनेर दिनदिनै बाटोमा आएर बस्छु । नचिन्या सहरमा कोही बोल्न चाहेनन् ।’ जुन गाडी आए पनि नातीले हातले इसारा गर्दै ‘हाम्रो गाडी आयो’ भन्दा उनको अनुहार खिन्न हुन्थ्यो ।

योगी र घर्तीजस्तै पोखरामा अलपत्र परेकाहरूलाई बुधबार पृथ्वी बस व्यवसायी समितिले पृथ्वी चोकबाट उद्धार गरेको छ र गन्तव्यसम्म पुर्‍याउँदैछ ।

‘पानी ट्याङ्की बनाउने काम गर्थ्यौँ । गाउँपालिकाले पनि १०/१२ जनालाई एक बोरा चामलमात्र राहत दियो । त्यसले कति दिन पो पुग्छ र ?’ सल्यानका गोपाल परियारले भने, ‘साह्रै दुःख परेपछि हिँडेरै पनि यहाँसम्म आइपुगेका हौँ ।’ राति ८ बजे पोखरा आइपुगेका उनले बसपार्कको चिसो प्रतीक्षालयमै रात बिताएको सुनाए ।

करिब ४० जनाको संख्यामा रहेका उनीहरूमध्ये कोही मादी गाउँपालिकाको दुर्गम बस्तीबाट करिब एक दिनको बाटो हिँडेर आएका थिए भने कोही पर्वत जिल्लाबाट । बसपार्कमा रात बिताएका उनीहरूले गाडी चढेर घर फर्किन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

‘हातखुट्टा दुखेर छुन भा’छैन । राति यहाँ आएपछि पुलिस सरहरूले गाडी मिलाइदिन्छम् भन्नु’भो,’ सल्यानकै मिश्र विकले खुसी हुँदै भने, ‘अहिले साँच्चिकै गाडी आउँदा अब त बाँचिन्छ कि भन्ने भयो ।’

 

तस्वीरहरू : युनिश गुरुङ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment