Comments Add Comment

नारायणी अस्पताललाई जनरल अस्पताल बनाउन माग गर्दै प्रदर्शन

११ वैशाख, वीरगञ्ज । नारायणी अस्पताललाई जनरल अस्पताल कायम गर्न माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । तत्कालिन राजपा नेपाल वीरगञ्ज महानगर कमिटिको आयोजनामा सामाजिक दुरी कायम गर्दै प्रदर्शन गरिएको हो । कोभिड १९ अस्पताल अन्यत्रै बनाउनुपर्ने माग उनीहरुको छ ।

सरकारले नारायणीलाई लेभल २ को कोभिड अस्पताल घोषणा गरेपछि अस्पतालबाट प्रवाह हुने आकस्मिक र सर्पदंश बाहेक अन्य सेवा ठप्प छ । कोभिड अस्पताल घोषणा हुनु अघि नै नारायणीमा कोरोना संक्रमित तीन जना भारतीय नागरिकलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो । रौतहटका संक्रमित सहित नारायणीमा ४ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश सरकारले बाराको कलैया अस्पताललाई कोभिड अस्पताल घोषणा गरेपनि संक्रमितको उपचारकाल लागि आवश्यक संरचनाको विकास हुन सकेको छैन ।

कोभिड १९ अस्पताल घोषणा भएपछि नारायणीबाट प्रदान गरिने अन्य सेवा सरकारी दरमै प्रदान गर्न नेशनल मेडिकललाई भनिएको छ । गरिब जनताको उपचारको थलोको रुपमा परिचित नारायणीबाट अन्य सेवा रोकिँदा सर्वसाधरण मर्कामा परेको उनीहरुको ठहर छ । महानगर कमिटि अध्यक्ष लियाकत अलिको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरुले हातमा प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले नारायणी अस्पताललाई तत्काल जनरल अस्पताल बनाउ, अन्तै कोरोना अस्पतालको व्यवस्था गर, आम नागरिकको स्वास्थ्यको सेवाको ख्याल गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागी तत्कालिन राजपा पर्साका अध्यक्ष सदस्य राजेशमान सिंहले कोभिड १९ अस्पताल शहरको बीचमा बनाउनु विश्व स्वास्थ्य संगठनको मान्यता विपरीत रहेको बताए ।
‘शहरको बीचमा कोभिड १९ अस्पताल बनाउँदा समुदायलाई नै जोखिम छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पनि कोभिड अस्पताल शहर बाहिर हुनुपर्छ । अन्यथा इटलीको जस्तै हालत हुन सक्छ,’ उनले भने, ‘अर्कोतिर नारायणीबाट प्रदान हुने सेवा अन्य अस्पतालले दिनै सक्दैन । नारायणी अस्पतालमा बच्चा जन्माउँदा ५ सय रुपैयाँ पाइरहेको थियो । अब त्यो कसले दिन्छ ? ’

नारायणी, अस्पतालमा बारा, पर्सा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । तर लकडाउनले गर्दा सवारी साधन सञ्चालन नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित छ ।

यसअघि नेपाली कांग्रेसका नेताहरुले पनि कोभिड अस्पतालका लागि नारायणीको विकल्प खोज्नुपर्ने माग राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment