Comments Add Comment

विराटनगरमा कोरोना जोखिम, भारतबाट दैनिक दुई सय जनाको आवत–जावत

‘चालक र सहचालकलाई आइसीपीमै नरोके स्थिति भयावह हुनसक्छ’

११ वैशाख, विराटनगर । कोरोना महामारी नियन्त्रणका लागि ११ चैत यता लकडाउन गरेको सरकारले भारतसँगको नाका बन्द गरेको छ । नाका बन्द गरिए पनि अत्यावश्यक सामग्री बोकेका मालबाहक गाडीहरुको आवत–जावत जारी छ ।

विराटनगरको रानी भन्सार नाकाबाट दैनिक एकसय हाराहारी मालबाहक गाडी प्रवेश गर्छन् । प्रत्येक गाडीमा चालक र सहचालक हुन्छन् । यस हिसाबले कम्तिमा दैनिक दुई सय जना व्यक्ति सहज रुपमा विराटनगर आउ–जाउ गर्छन् । महामारीको जोखिम बढेपछि विराटनगर महानगरपालिकाले विराटनगर प्रवेश गर्ने गाडीमा नाका (आईसीपी)मा विषाणु मार्ने स्प्रे छर्कने र गाडीका चालक तथा सहचालकको ज्वरो नाप्ने काम गर्छ । तर जोखि रोक्नका लागि यतिमात्र पर्याप्त नभएको सरकारी अधिकारीहरु स्वयं बताउँछन् ।

‘भारतमा महामारी बढ्दो छ । बेलैमा सचेत नभए कोरोना संक्रमण बढ्न सक्छ,’ विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल भन्छन्, ‘अहिलेको तयारीले कोरोना महामारी रोकथाम गर्न पुग्दैन ।’

महानगरपालिकाले नाकामा नेपाल प्रवेश गर्ने ट्रक चालकलाई डिसइन्फेक्सन स्प्रे छर्नका लागि कर्मचारी खटाएको छ । त्यस्तै नाकामा आएका चालक तथा सहचालकमा ज्वरो नाप्दा तापक्रम बढी देखिए नेपाल प्रवेश गर्न नदिने पोखरेल बताउँछन् । तर ठूला नाकामा सानो स्प्रेबाट गरिने कामले प्रभावकारी नतिजा दिनेमा उनलाई शंका छ ।

नाकामा ड्राइभर फेर्ने की क्वारेन्टाइनमा बस्ने ?

२० हजार बढीमा कोरोना संक्रमित देखिएको भारतमा संक्रमण दर बढ्दो छ । छिमेकमा फैलिँदै गएको महामारी रोकथाममा संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

‘तीन तहकै सरकार सचेत नभए मालवाहक सवारी साधनबाट समस्या आउन सक्छ,’ उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल भन्छन्, ‘नाकामा उच्च सतर्कता हुनुपर्छ ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेल पनि संक्रमितको क्षेत्रबाट आउने गाडीहरुमा धेरै जोखिम हुने बताउँछन् । ‘सम्भावित जोखिम नियन्त्रण गर्न भारतबाट आउने गाडीका चालकलाई सीमामै रोकेर यहाँबाट अर्काे चालक पठाउनु पर्छ,’ पोखरेल भन्छन्, ‘यदि चालक यहीँ आउछन् भने उनीहरुले भेटेका मान्छेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरौं ।’

भारतमा महामारीको रुपमा फैलिएको करोना जस्तो रुपमा पनि विराटनगर भित्रिन सक्ने उनको भनाइ छ । सतर्कता नअपनाइए चालक र सहचालकमार्फत् सर्वसाधारणमा कोरोना सर्ने ठूलो खतरा हुने पोखरेलको आशंका छ । ‘अहिलेसम्म त केही भएको छैन, तर जोखिम धेरै छ,’ उनी भन्छन्, ‘हाम्रो निर्मलीकरण गर्ने विधि अझै प्रभावकारी बनाइनुपर्दछ ।’

सात दिनमा भित्रिएका १२ सयको ज्वरो मात्र नापियो

विराटनगरको आईसीपी हुँदै १ वैशाखदेखि ७ वैशाखसम्म ११९० जना चालक र सहचालक नेपाल भित्रिएको तथ्यांक छ । त्यसयता दैनिक सरदर दुई सय मानिस भित्रिरहेका छन् ।

ती सबैको सुरक्षा जाँचका नाममा ज्वरो नापेर गन्तव्यसम्म पुग्न दिइएको छ । महामारी तीव्र रुपमा फैलिएको भारतबाट आएका चालकले सहजै प्रवेश पाउँदा विराटनगर महामारीको जोखिममा छ ।

‘हामीसँग भएको साधनबाट क्रिनिङ र डिसइन्फेक्सन स्प्रे गर्छाैं,’ विराटनगर महानगरपालिका स्वास्थ्य प्रमुख रमेश कार्की भन्छन्, ‘ज्वरो जाँच गर्दैमा जोखिम कम हुने होइन ।’

यद्यपि महानगरको सीमित स्रोत साधानले पर्याप्त काम गरेको उनको दाबी छ । ‘वैदेशिक रोजगारीबाट आएकाहरुको तथ्यांक संकलन र कोरोनाविरुद्धको पूर्वतयारीमा हामी अगाडि छौं,’ उनले भने, ‘सुरुदेखि नै सतर्कता अपनाइरहेका छौं ।’

भारतबाट आउने मालबाहक गाडीमा भने जोखिम बढी हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment