Comments Add Comment

अमेरिकी कम्पनीको कोरोना भाइरसको औषधि परीक्षण असफल

१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अमेरिकी कम्पनी गिलिड साइन्सको औषधिको पहिलो परीक्षण असफल भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार चिनियाँ परीक्षणको क्रममा रेमडेसिभिर औषधिले बिरामीको अवस्थामा सुधार ल्याउन नसकेको र शरीरमा भाइरसको मात्रा घटाउन नसकेको देखाएको हो ।

भूलवश प्रकाशित भएको र पछि हटाइएको उक्त प्रतिवेदनअनुसार शोधकर्ताहरूले दुई सय ३७ बिरामीमा रेमडेसिभिर औषधिको परीक्षण गरेका थिए । जसमध्ये एक सय ५८ जनालाई यो औषधि दिइएको थियो । औषधि नदिइएका बिरामीसँग औषधि दिएका बिरामीको अवस्थाको तुलना गरिएको थियो । अध्ययनको क्रममा केही बिरामीलाई औषधिको अत्यधिक साइड इफेक्ट पनि देखिएको थियो ।

अध्ययन सुरु गरेको एक महिनामा १३ दशमलव नौ प्रतिशत औषधि दिइएका बिरामीको मृत्यु भएको थियो भने औषधि नदिइएका १२ दशमलव ८ प्रतिशत मानिसको मृत्यु भएको थियो । साइड इफेक्ट देखिन थालेपछि यो औषधिको परीक्षण बीचमै स्थगित गरिएको थियो ।

यो पनि पढ्नुहोस चीनको दाबी– कोरोनाको भ्याक्सिन बाँदरमा सफल, मानिसमा परीक्षण जारी

यो औषधि कोरोना भाइरसविरुद्ध प्रभावकारी हुन सक्ने अपेक्षा गरिएको थियो । अहिलेसम्म प्रमाणित नभएको उपचारको रुपमा पनि यसको प्रयोग गरिँदै आएको थियो । कम्पनीले अहिले पनि यस्तो धेरै परीक्षणहरू गरिरहेको छ । कम्पनीले चार सय बिरामीमा गरेको परीक्षणको नतिजा एक साताभित्र आउने बताएको छ ।

रेमडेसिभिर औषधिको परीक्षण यसअघि इबोला नियन्त्रणको लागि पनि गरिएको थियो । त्यतिबेला पनि यो औषधि सफल हुन सकेको थिएन । यो औषधि केही भाइरस नष्ट गर्नकै लागि निर्माण गरिएको थियो । त्यसैले यसले कोभिड-१९ विरुद्ध काम गर्ने अपेक्षा गरिएको थियो ।

गिलिडले भने डब्ल्यूएचओबाट चुहिएको प्रतिवेदनले अध्ययनलाई गलत ढंगले व्याख्या गरेको आरोप लगाएको छ । कम्पनीका अनुसार यो औषधिको केही बिरामीमा सकारात्मक असर पनि देखिएको दाबी गरेको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment