Comments Add Comment

चिनीको आपूर्ति व्यवस्था कस्तो छ ?

१२ वैशाख, काठमाडौं । नेपालीको भान्सामा अत्यावश्यक वस्तुमध्ये चिनी एक हो । छिनछिनमा चियाको चुस्किदेखि मिठाईका परिकारसम्म अनिवार्य चिनीमा मुलुक आत्मनिर्भर भने छैन । नोवल कोरोना भाइरसका कारण लकडाउन लम्बी रहँदा चिनी उत्पादन, आपूर्ति, मौज्दात, बजार मूल्य लगायतका बिषय महत्वपूर्ण बनेको छ ।

गत वर्ष सामान्य अवस्थामा चिनीको दैनिक खपत २० हजार मेट्रिक टन र चाडपर्वका बेला ३० हजार मेट्रिक टन रहेको उद्योग मन्त्रालयको अनुमान छ ।

त्यसमध्ये ४० प्रतिशत घरायसी प्रयोग र ६० प्रतिशत व्यवसायिक प्रयोजनमा खपत भएको अनुमान छ । अहिले लकडाउनबाट व्यवसायिक प्रतिष्ठानहरु ठप्प हुँदा चिनी खपत शून्यमा झरेको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन् ।

उनका अनुसार, नेपालमा एक सिजनमा चिनीको माग दुईलाख ३० हजार मेट्रिक टन छ । यसमध्ये एकलाख २० हजार मेट्रिक टन स्वदेशमै उत्पादन हुन्छ ।

चिनीको मौज्दात कति छ ?

यो वर्ष नेपालमा १२ वटा मात्र चिनी मिल सञ्चालन भयो । उखुको क्रसिङ सकिनासाथ लकडाउन सुरु भएकाकारण कति चिनी उत्पादन भयो भन्ने विवरण चाही आई नसकेको उत्पादक संघका अध्यक्ष अग्रवालले बताए ।

कम्तीमा तीन महिना स्वदेशी उत्पादनले नेपाली बजारको माग धान्ने उनको अनुमान छ । उनले भने, ‘उत्पादनको यकिन हिसाब आई नसके पनि मलाई लाग्छ, असारसम्म चिनीको अभाव हुन्न ।’

चिनी मिलहरुसंग ५० हजार टन जति चिनी मौज्दात रहेको उत्पादक संघका महासचिव राजकुमार अग्रवालको अनुमान छ । निश्चित कोटामा चिनी आयात गर्ने सरकारी कम्पनी साल्ट ट्रेडिङसँग भने ६५ सय टन चिनी मौज्दात छ ।

ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत उर्मीला श्रेष्ठका अनुसार यो वर्ष खरिद गरेको १० हजार टनमध्ये तीन हजार पाँच सय टन चिनी बिक्री भइसकेको छ ।

मूल्यमा मनपरी

साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । नेपालमा उत्पादीत चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ६५ रुपैयाँ हो ।

त्यसमा भ्याट र ढुवानी भाडा जोडिदा मूल्य प्रतिकिलो रु.७५ हाराहारी पुग्ने उत्पादक संघका अध्यक्ष अग्रवाल बताउँछन् ।

उपभोक्ता अधिकारकर्मीहरुका अनुसार बजारमा चिनीको प्रतिकिलो उपभोक्ता मूल्य ९० रुपैयाँसम्म लिने गरिएको छ ।

सरकारले राम्ररी बजार अनुगमन नगर्दा चिनिमा उपभोक्ता ठगिएको अधिकारकर्मी ज्योती बानीयाँ बताउँछन् ।

थोक बिक्रेताले ढुवानी भाडा बढेको भन्दै चिनीको मूल्य बढाएको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ बताउँछन् । उनका अनुसार अहिले चिनीको खुद्रा मूल्य ८५ रुपैयाँ पुगेको छ ।

स-साना किराना पसलले त्यसमा पाँच रुपैयाँसम्म बढाएर चिनी बिक्री गरिरहेको हुन सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment