Comments Add Comment

तिलोत्तमामा खेतीयोग्य जग्गा बाँझो राख्न नपाइने !

१२ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले खेतीयोग्य जमिन बाँझो राख्न नपाउने गरी गरेको निर्णय कार्यान्वयनमा कडाइ गरेको छ । बाँझो जमिनमा जग्गाधनी आफैले खेती नगरे वा नगराए संधियार (छिमेकी) वा अन्य व्यक्तिले खेती गर्न सक्ने नगर कार्यपालिका वैठकले निर्णय गरेको छ ।

नगरपालिकाले शुक्रबार सूचना जारी गरी बाँझो जग्गामा जग्गाधनीले १५ दिनभित्र बाली लगाउन आवश्यक व्यवस्था नगरे सम्बन्धित टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराइ छिमेकी, कृषि फार्म, सहकारी वा कृषक समूहले खेती गर्न सक्ने स्पष्ट पारेको छ । बाँझो रहेको जग्गामा खेती गर्दा जग्गाको साँध, सीमाना, बनावट बिगार्न पाइने छैन ।

यो निर्णयसँगै आफ्नो घर वरिपरि भएका खाली जग्गामा मौसमी खेती गर्न तिलोत्तमावासीलाई बाटो खुलेको छ । यसबाट तरकारीलगायत कृषि उत्पादन बढ्ने नगरपालिकाको विश्वास छ ।

यसरी गरिने खेतीमा जग्गाधनीको कुनै हक नलाग्ने र जग्गाधनी आफैंले जग्गा उपयोग गर्न चाहेमा ४५ दिनअघि नैं खेती गर्नेलाई त्यसको जानकारी दिनुपर्ने नगरपालिकाले जनाएको छ ।

तिलोत्तमामा खेतीयोग्य जमिनलाई प्लटिङ गरेर छाडेका र घडेरीमा घर नबनाई त्यत्तिकै छाडिएका जग्गा कूल खेतीयोग्य जग्गाको करिब १० प्रतशत हाराहारीमा रहेको नगरपालिकाको अनुमान छ ।

यो निर्णयले वर्षौंसम्म जग्गा बाँझो रहने तर संधियार वा छिमेकीले त्यो जग्गामा खेती गर्न नपाउने परिस्थितिलाई सहजीकरण गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

यसरी खेती गरिने जग्गाको नियमानुसार लाग्ने कर जग्गाधनीले तिनुपर्ने र जग्गाधनीको अवरोधको कारणले जमिन बाँझो रहेमा नगरपालिकाले जरिवाना गर्ने छ । ‘खेतीयोग्य जमिन बांझो रहन नदिने र सबै नगरवासीलाई कम्तीमा तरकारीमा आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो,’ नगर प्रमुख बासुदेव घिमिरेले भने, ‘सयौं घडेरीका जग्गा बाँझो छन्, न घर बनेका छन् न खेती भएको छ, लकडाउनका कारण उत्पन्न परिस्थितिले भविष्यमा हुनसक्ने खाद्य संकटसँग जुध्न पनि जग्गा बाँझो राख्न नपाउने निर्णय कडाईका साथ कार्यान्वयन गर्न लागिएको हो ।’

तीव्र शहरीकरण भैरहेको तिलोत्तमामा ठूलो मात्रामा जग्गा घडेरीको रुपमा विकास भएर बाँझै बसेकाले यस्तै जग्गालाई लक्षित गरी नगरपालिकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए ।

१ सय २६ वर्ग किलोमिटर क्षेत्रफलको तिलोत्तमामा वार्षिक २२ हजार ४६० मेटि्रक टन धान, ८ हजार एक सय मेटि्रक टन गहुँ, ४१ हजार ४५० मेटि्रक टन तरकारी, २ हजार ४५० मेटि्रक टन मकैं उत्पादन हुने गरेको कृषि शाखाका प्रमुख दोमलाल भुसालले बताए ।

कृषिको उत्पादकत्व बढाउन गहुँ र मकै बिउमा ४० प्रतिशत अनुदान दिदै आएको तिलोत्तमाले दूधमा पनि अनुदान दिदै आएको छ । तिलोत्तमाले यसअघि नैं भारतीय तरकारी र फूलको प्रयोगमा रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment