Comments Add Comment

भियतनाममा कोरोनाबाट किन कसैको मृत्यु भएको छैन ?

१३ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ । यस्तोमा धेरै मुलुकहरू प्रभावित बनेका छन् । विश्वमा यस्तो पनि मुलुक छ, जहाँ कोरोना भाइरसको संक्रमितको संख्या तीन सयको हाराहारीमा पुगे पनि अहिलेसम्म कसैको पनि मृत्यु भने भएको छैन । त्यो देशको नाम हो– भियतनाम ।

भियतनाममा अहिलेसम्म दुई सय ७० जना मानिसमा कोरोना भाइरसका संक्रमित भेटिसकेका छन् । सुरुवातमा यो मुलुकमा कोरोना भाइरसविरुद्ध लड्न युद्धस्तरको तयारी गरिएको थियो । तर, अहिले भने यो मुलुकमा बिस्तारै प्रतिबन्ध हटाउने तयारी भइरहेको छ । यस्तोमा भियतनामले अर्को मुलुकलाई के शिक्षा दियो ? भन्ने प्रश्न उब्जिएको छ ।

सीमा बन्द गर्ने निर्णय

जनवरीको अन्तिम दिन भियतनाममा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो । त्यसपछि सरकारले निकै छिटो यसबाट पार पाउन चीनसँगको सबै सीमा पूर्णरुपमा बन्द गर्ने निर्णय गर्‍यो । साथै सबै प्रमुख विमानस्थलमा अर्को मुलुकबाट आउने प्रत्येक मानिसमा थर्मल स्क्रिनिङको व्यवस्था पनि गर्‍यो ।

सरकारले कोरोना भाइरस विदेशबाट आएका मानिसमा देखिएसँगै सबै विदेशबाट आउने मानिसलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने आदेश दियो । क्वारेन्टाइनमा राख्न सरकारले होटलहरुलाई पैसा दिएर बुक गर्‍यो । मार्चको अन्तिम सातामा भियतनामको सबै विदेशी प्रवेशमा प्रतिबन्ध लगाइयो । भियतनामी मूलका विदेशी र भियतनामी नागरिकका लागि पनि प्रतिबन्ध लगाइयो ।

कन्ट्याक्ट ट्रेसिङमा जोड

कोरोना भाइरसबाट संक्रमित मानिसलाई आइसोलेसनमा राखिसकेपछि उनीहरूको सम्पर्कमा आएका मानिसहरु पत्ता लगाउने काम तीव्र गतिमा अघि बढाइयो । साथै उनीहरूको पनि परीक्षण गरियो ।

यतिमात्र होइन, भियतनाम आफ्नै मुलुकमा सस्तोमा निर्माण गरिएको टेस्टिङ किट्स निर्माणमा सफल रह्यो । भियतनामसँग ठूलो परिमाणमा मानिसहरूको परीक्षणको लागि जर्मनी र दक्षिण कोरियाको जस्तो स्रोत र साधन पनि छैन । त्यसका लागि उसले कम खर्च गर्ने तरिका अपनायो र संक्रमणका मामिलालाई आक्रामकरुपमा ट्र्याक गर्न थाल्यो । साथै संक्रमित मानिसलाई आइसोलेसनमा राख्ने व्यवस्था गरियो ।

समाजमा सचेतना फैलाउनु

भियतनाम सरकारले कोरोना भाइरसविरुद्ध मानिसहरुलाई जागरुक गराउन देशव्यापी अभियान चलायो । यो अभियानमा छोटो भिडियो र फोटोहरुको माध्यमबाट मानिसहरुलाई कोरोना भाइरसबाट बच्ने तरिका सिकाइएको थियो । ऐतिहासिक भियतनाम–अमेरिका युद्धको स्मरण गर्दै प्रधानमन्त्री ग्युएन जुआन फुकले मानिसहरूलाई लामो समयको महामारीका लागि पनि तयार रहन आग्रह गरे ।

न्यु साउथ वेल्स युनिभर्सिटी, क्यानबेराका प्राध्यापक कार्ल थयारका अनुसार अहिले भियतनामको समाज सचेत भएको, एक पार्टीको मात्र व्यवस्था भएको र प्रहरी, सेनालगायतको संगठन चुस्त भएकाले महामारीविरुद्ध लड्न सहज भएको बताउँछन् । भियतनाममा सबै मानिसहरुलाई छिमेकीमाथि पनि निगरानी बढाउन आग्रह गरिएको थियो ।

भियतनामले उठाएको कदमको हिसाबमा हेर्ने हो भने देशको अर्थतन्त्रमा भने नकारात्मक असर परेको छ । अहिले सबै कारोबार बन्द भएका छन् । सरकारी स्वामित्वमा रहेको भियतनाम एयरलाइन्सको अमेरिका, युरोपेली युनियन र पूर्वी एसियाको उडान रोकिएको छ । जसको कारण कराडौं डलरको नोक्सानी सामना गर्नुपर्ने आशंकाहरू गरिँदै आएको छ ।

फरक किसिमको लकडाउन

भियतनाम कोरोना संक्रमित मानिसहरूलाई क्वारेन्टाइनमा राख्न सफल भएको छ । तर, उसले केही क्षेत्रमा भने नागरिकको स्वतन्त्रतामा रोक लगायो । प्रभावकारी स्थानीय प्रशासन र चुस्त सुरक्षा प्रवन्धको कारण भियतनाम केही जिल्लालाई पूरै क्वारेन्टाइनमा राख्न सफल भयो ।

तर, युरोपेली मुलुकमा जस्तो लकडाउन भने उसले लगाएन । उसले राजधानी सहर हानोई र अन्य एक दर्जनभन्दा बढी सहरमा यसअघि लगाइएको प्रावधानहरू पनि हटाइसकेको छ ।

यद्यपि, अहिले पनि भियतनामका तीन जिल्लामा प्रतिबन्ध कायम छ । यहाँ साढे चार लाख मानिसहरू छन् । यो क्षेत्रको सुरक्षा स्थानीय सेनाले गरिरहेको छ । यहाँबाट कसैलाई पनि बाहिर निस्किन दिइएको छैन ।

ग्युएन भन्छन्, ‘कोरोना भाइरसको नराम्रो प्रभावबाट देशलाई बचाउन राजनीतिक इच्छाशक्तिका साथै संगठित शासन व्यवस्था र आज्ञाकारी जनता हुनु पर्याप्त हुन्छ ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment