Comments Add Comment

लकडाउन खुल्ने बित्तिकै शैक्षिक संस्था सञ्चालन हुँदैनन् : शिक्षामन्त्री

१३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लकडाउन खुले पनि त्यस लगत्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न नसकिने बताएका छन् ।

विद्यार्थीहरूको संख्या धेरै हुँदा कक्षा कोठामा सामाजिक दुरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरू लकडाउनपछि सबैभन्दा अन्तिममा सञ्चालन गरिने उनको भनाइ छ ।

शिक्षा पत्रकार समहूले कोरोना भाइरस र शिक्षा क्षेत्रको व्यवस्थापनसम्बन्धी शनिबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले देशभर दुई सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएकाले पनि तत्काल त्यहाँ कक्षा सञ्चालन गर्न सम्भव नहुने बताए।

‘जेठसम्ममा नयाँ शैक्षिकसत्र सुरु गर्न सके शैक्षिक सत्र भत्किँदैन । परीक्षाहरू पनि सञ्चालन हुनसक्छन्,’ उनले भने। जाडो-गर्मी बिदा, चाडपर्वका बिदा कटाएर अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलको भनाइ छ ।

मन्त्री पोखरेलले लकडाउनको आगामी स्वरुप हेरेर मन्त्रालयले शैक्षिक कार्यक्रम र योजना तय गर्ने बताएका छन् ।

शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले भोलि आइतबारसम्ममा सुझाव प्रतिवेदन बुझाउँदै छ ।

आइतबारै मन्त्रिपरिषद्ले १५ वैशाखमा सकिने लकडाउनबारे निर्णय गर्ने र त्यसकै आधारमा योजना बनाइने मन्त्री पोखरेलले बताए ।

लकडाउन खुलेपछि मात्रै शैक्षिक सत्र सुरु गर्न अनेरास्ववियुको सुझाव

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले पनि नयाँ शैक्षिक सत्र लकडाउन खुलेपछि मात्रै सुरु गर्न सुझाव दिएको छ ।

अध्यक्ष ऐन महरको नेतृत्वमा गएको टोलीले शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई भेटेर विश्वविद्यालयका स्थगित परीक्षा पनि लकडाउन खोले लगत्तै लिनुपर्ने सुझाव दिएको हो।

महरकाअनुसार कक्षा ११ को परीक्षा लकडाउन खुलेपछि होम सेन्टरमै लिन स्वतः ग्रेडिङ गर्न सकिने सुझाव मन्त्रीलाई दिइएको छ । कक्षा १२ को भने अनिवार्य परीक्षा गरिनुपर्ने अनेरास्ववियुले माग गरेको छ।

अखिलले सबैको पहुँचमा पुग्ने गरी शिक्षण संस्थाहरूमा अनलाइन कक्षा सञ्चालन सञ्चालन गर्नु पर्ने भन्दै त्यसका लागि नेपाल टेलिकमसँग समन्वय गरी डाटा र भ्वाइस कल निःशुल्क व्यवस्था हुनुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment