Comments Add Comment

महाकालीपारि २ हजार बढी नेपाली, उद्धारको आदेश कुर्दै प्रशासन

दार्चुलापारि धार्चुलाको क्वारेन्टाइनमा रहेका नेपालीहरु ।

१३ वैशाख, कैलाली । एक महिनादेखि महाकालीपारि करिब दुई हजार बढी नेपाली अलपत्र परेका छन् । संघीय सरकारले यस विषयमा ठोस निर्णय नगर्दा अलपत्र नेपालीहरूको उद्धारमा ढिलाइ भएको छ ।

रुपन्देहीका नाकाबाट नेपालीहरूको उद्धार भए पनि कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलापारि रहेका दुई हजार बढी नेपालीहरूको भने उद्धार हुन सकेको छैन ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले उद्धारको तयारी गरेका छन्। सम्बन्धित स्थानीय तहले पनि गाडीको व्यवस्थापन गर्नेदेखि अन्य तयारी गरिसकेको बताएका छन् । तर, गृह मन्त्रालयले निर्देशन नदिँदा उद्धारमा भने ढिलाइ भइरहेको छ ।

अहिले कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारीहरू गृह मन्त्रालयको निर्देशन पर्खिरहेका छन् । मन्त्रालयले निर्णय गर्न ढिलाइ गर्दा दुई हजार बढी नेपाली एक महिनादेखि सीमापारि अलपत्र परेका हुन् ।

बैतडीपारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन् । अझैसम्म मन्त्रालयको निर्देशन नआउँदा उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए

दार्चुलापारि धार्चुलामा सबैभन्दा बढी नेपाली अलपत्र परेका छन् । हजारभन्दा बढी नेपालीहरूलाई विभिन्न ६ वटा क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा बसेको महिनादिनसम्म पनि गृह मन्त्रालयबाट निर्देशन नआउदा उनीहरूलाई नेपाल ल्याउन नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

‘हामीले हाम्रो तयारी गरेका छौँ । तर, गृह मन्त्रालयबाट निर्देशन आउन बाँकी छ,’ उनले भने, ‘मन्त्रालयले निर्देशन दिएलगत्तै उनीहरूको उद्धार हुन्छ ।’

दार्चुलाका विभिन्न स्थानीय तहसँग तयारीको लागि समन्वयसमेत भइरहेको उनले बताए ।

बैतडीपारि पनि करिब एक हजारभन्दा बढी नेपाली अलपत्र परेका छन् । अझैसम्म मन्त्रालयको निर्देशन नआउँदा उद्धार गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए ।

‘छलफल थुप्रै भएको छ । तर, निर्देशन आएको छैन । निर्णय आउनासाथ हामी उद्धार गर्छौँ,’ उनले भने ।

झुलाघाट नाकापारि आठ सय ३७ जना बैतडीका नागरिक मात्रै अलपत्र परेको प्रजिअ पौडेलले जानकारी दिए । बैतडीसँगै अन्य जिल्लाका पनि नागरिक रहेको उनले जानकारी दिए । उनीहरूलाई सात वटा क्वारेन्टाइनमा राखिएको पौडेलले बताए ।

कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । उनीहरूलाई सात वटा क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको उद्धारका लागि कञ्चनपुरको प्रशासन कार्यालयले तयारी गरेको छ । अहिले प्रमुख जिल्ला अधिकारी नुर खतिवडा गृहको निर्देशन कुरेर बसेका छन् ।

अलपत्र परेका नेपालीहरूका विषयमा गृह मन्त्रालयबाट कुनै निर्देशन नआएको उनले बताए ।

‘कुरा भइरहेको छ । तर, फाइनल भएको छैन,’ उनले भने, ‘हिँजोसम्म ल्याउने भन्ने कुरा भएको थियो । आज त्यस्तो कुनै निर्देशन आएको छैन ।’

गड्डाचौकीपारि अलपत्र परेका नेपालीहरूलाई महेन्द्रनगरस्थित वैद्यनाथ बहुमुखी क्याम्पसमा राखेर स्वास्थ्य परीक्षण गर्ने तयारी समेत गरिएको उनले जानकारी दिए ।

यता कैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपाली अलपत्र परेका छन् । उनीहरूलाई नेपाल ल्याउने विषयमा तयारी भइरहेको छ । तर, मन्त्रालयबाट कुनै निर्देशन नआएको प्रशासन कार्यालयले जनाएको छ ।

सीमापारि अलपत्र परेका नेपालीलाई नेपालल्याउने र नेपालमा रहेका भारतीय नागरिकलाई भारत फर्काउने विषयमा शनिबार मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराबीच छलफल भएको थियो । छलफलमा प्रजिअ बोहराले मुख्यमन्त्री भट्टलाई तत्काल उद्धार हुने जानकारी गराएका थिए ।

‘केही नाकाबाट नेपालीलाई ल्याइएको छ । तर, यहाँ निर्देशन आएको छैन,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । निर्देशन आएलगत्तै कैलालीबाट ४९ जना भारतीय नागरिकलाई पनि भारत पठाइने जोशीले जानकारी दिए ।

यसअघि चैत २५ गते सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका नेपालीहरूलाई स्वदेश फर्काउने व्यवस्था मिलाउन सरकारलाई आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशले सिमापारि अलपत्र परेका नेपालीहरुले घर फर्किने अपेक्षा राखेका थिए । तर, गृह मन्त्रालयबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र नगर्दा उद्धारमा ढिलाइ भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment