Comments Add Comment

कोभिड-१९ विरुद्ध प्रयोग गरिएका प्रविधि कति उपयोगी र सुरक्षित ?

कोरोना भाइरस डिजिज (कोभिड-१९) अथवा अहिले सार्स-२ नामाकरण गरिएको भाइरस संक्रमणका कारण विश्व नै महाविपद्को अवस्थामा छ । यो विपत्ति खास क्षेत्र, भूगोल  जाति, समुदायप्रति मात्र लक्षित होइन विश्वव्यापी संक्रमणका कारण यो सिङ्गो मानव समुदायको अस्तित्वसँग जोडिएको विषय हो । यसको प्रभाव र विस्तार दिन दुई गुणा रात चार गुणाको दरमा फैलिरहेको छ ।

सर्वप्रथम यस भाइरसको बारेमा केही चर्चा गरौं। अध्ययनअनुसार यो सातौं कोरोना भाइरस हो । यो जीव वैज्ञानिक चाल्र्स डार्विनको प्रकृतिको छनौटको सिद्धान्तमा व्याख्या गरेअनुसार यसको उत्पत्ति र विकास हुँदै जाने क्रममा यो पनि परिवर्तन हुँदै गयो र सातौंसम्म पुग्दा वंशाणुगत परिवर्तन (उत्परिवर्तनको सिद्धान्तले भनेअनुसार)भई  खतरनाक बन्न पुग्यो ।

यस भाइरसको संक्रमणले मानिसको श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गरी ज्यान समेत लिने भएकोले यसलाई खतरनाक मानिन्छ । कतिपय देशमा यसको लक्षण पनि फरक-फरक र कतिपय अवस्थामा सक्रमण भएको लामो समयसम्म लक्षण देखिन पनि छोडेको रिपोर्ट आइरहेका छन् । यसबाट भावी समय कति भयावह हुनेछ अनुमान गर्न कठिन छ ।

मानवजाति लाखौं वर्षदेखि यस खालका अनेकौं विपद्सँग संघर्ष गर्दै यहाँसम्म आइपुगेको हो र अहिले हामीसँग आधुनिक प्रविधि र ज्ञान उपलब्ध छ । यसकै सहायताले हामी सबै मानव समुदाय र यसले निर्माण गरेका सबै संरचना जस्तै राज्य, सरकार र तिनका निकायहरूले आ-आफ्ना ठाउँबाट यसविरुद्ध लड्न अति जरुरी छ ।

त्यसैका निम्ति नेपालका बायोमेडिकल इन्जिनियरहरू हाम्रो सापेक्षतामा के गर्न सकिन्छ भनेर नियमित छलफल र अध्ययनमा छौं । कोरोनाविरुद्ध कुनै खोप अहिलेसम्म विकास हुनसकेको छैन र यसलाई पूर्ण रुपमा निष्कृय पार्न सक्ने अहिलेसम्म कुनै औषधिसमेत बनेको छैन । साथै, अहिले तुरुन्तै कुनै खोप वा औषधि बन्ने सम्भावना पनि छैन । किनकि यो लामो प्रक्रिया हो ।

तसर्थ, अहिलेको प्राथमिक कार्य भनेको कोरोनाको विस्तारलाई रोक्नु अनि उपलब्ध विधि अपनाएर जनजीवन नियमित पार्नु नै हो । यसै सन्दर्भमा केही देशहरूले सुरु गरेका एवं नेपालमा समेत चर्चा परिचर्चामा रहेका केही नवीनतम प्रविधिहरू कोभिड-१९ को रोकथाम वा उपचार पद्धतिलाई सहयोग गर्न उपयोगी ठानिएका छन् ।

तिनिहरूको राम्रा नराम्रा पक्षको चर्चा गर्नु यो आलेखको उद्देश्य हो । सर्वप्रथम प्रयोगमा आएका प्रविधिहरूको चर्चा गरौँ । विश्वस्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड पूरा गरी तयार गरिएको पीपीई किट, मस्कहरू, स्यानिटाइजरहरू र केही रजिस्टर्ड डिसइन्फेक्टेन्टहरू, विश्व स्वास्थ्य संगठनले नै विश्वभरी प्रयोग गर्न सकिने गरी स्वीकृत गरिसकेको सन्दर्भमा  थप चर्चा गर्न जरुरी भएन । तर, योबाहेक अन्य केही प्रविधिहरू जस्तै, डिसइन्फेक्सन टनेल, हुम्यान स्टेरिलाइजेसन बक्स, गेट, बडिडिसइन्फेक्सन च्याम्बर, नमुना संकलन बुथ लगायतका उपकरणहरू प्रयोग गरेको पाइएको छ ।

टर्की, भियतनाम, भारत, इन्डोनेसिया, मलेसिया, दक्षिण कोरिया लगायतका देशहरूले योमध्ये कुनै न कुनै प्रविधि प्रयोग निजी स्तरमा गरिएको पाइएको छ । नेपालमा पनि नमुना संकलन बुथ, स्यानिटाइजेसन टनेल निजी संघ संस्थाहरूबाट र नमुना संकलन बुथ राष्ट्रिय आविष्कार केन्द्रले समेत तयार गर्दै वितरण गरेको पाइएको छ । यी उपकरणहरू कति उपयोगी र सुरक्षित छन् त ?  मूल प्रश्न यहाँनिर छ ।

त्यसखालका उपकरणहरूमा दुई खालको उपचार प्रविधि प्रयोग गरेको पाइन्छ । एक स्वीकृत डिसइन्फेक्टेन्ट र इन्फ्रारेड वा डिसन्फेक्टेन्टले स्प्रे गर्ने तरिका । त्यसमध्ये नमुना संकलन बुथबाहेक अन्यको हकमा हालसम्म यी प्रविधिहरूमा सेन्सर इन्फ्रारेड अथवा मोसनको प्रयोग गरिएको पाइन्छ । कुनै व्यक्तिले टनेल वा च्याम्बर भएर गएमा सेन्सरको माध्यमबाट स्वाचालित रूपमा विश्व स्वास्थ्य संगठनले डिसइन्फेक्टेन्टको लागि रजिस्टर गरेका केमिकलले ५-३० सेकेन्ड स्प्रे गर्ने गरिएको छ ।

साथै, के दाबी गरिँदैछ भने यसले कोभिड-१९ भाइरसलाई निर्मूल वा संक्रमण दरलाई कम गर्न सहयोग गर्छ । उच्च संक्रमणको जोखिम हुने क्षेत्रहरू जस्तै, अस्पताल, एयरपोर्ट, सुपर मार्केट, स्कुल लगायत भिडभाड हुने क्षेत्रमा यो उपयोगी हुने दाबी गरिएको छ । यहाँनिर टनेल र च्याम्बरमा प्रयोग भएको विधि, प्रविधि र अहिलेसम्मको अध्ययनका बारेमा केही कुरा थाहा पाउन जरुरी छ ।

अहिलेसम्मको अध्ययनले कोभिड-१९ लाई अल्ट्राभायोलेट र तापले असर गर्ने देखिएको छ । अध्ययनअनुसार ५६ डिग्री सेल्सियसमा ३० मिनेटभन्दा धेरै राखेमा भाइरसलाई निस्तेज पार्न सकिन्छ । त्यसैगरी विश्व स्वास्थ्य संगठनले डिसइन्फेक्टेन्टको रूपमा परिभाषित लिपिड सोलभेन्टहरू जस्तै, इथर, इथानोल, कोलोरिन र यसको समिश्रणबाट बनेका डिसइन्फेक्टेन्ट, क्लोरोर्फम लगायत अरू डिसइन्फेक्टेन्टहरूले कोभिड-१९ भाइरसलाई  निष्कृय पार्न सक्छन् ।

तर, यूएसईपीएका अनुसार यी डिसइन्फेक्टेन्टहरू मान्छेमा होइन कुनै सतहमा प्रयोग गर्नको लागि मात्र भनेको छ । सतह पनि अलि कडा सतह जस्तो मेटल वा ग्लास, जसलाई ननपोरस सर्फेस भनिन्छ । यसमा पनि ती डिसइन्फेक्टेन्टहरू कम्तीमा  ५/१० मिनेट सर्फेसको सम्पर्कमा रहनु अनिवार्य छ ।

तर, हाल प्रयोगमा आइरहेका प्रविधिहरू जस्तो टनेल, च्याम्बर गेटहरू बढीमा ५ः३० सेकेन्ड स्प्रे गर्ने गरिन्छ । तसर्थ, यो भाइरसलाई निष्कृय पार्न उपयुक्त विधि पक्कै भएन, यो त एउटा कारण मात्र भयो । अर्को कारण व्यक्तिलाई नै टनेल वा च्याम्बरमा लत्ताकपडा सहित ५ः३० सेकेन्ड राख्ने गरिन्छ । यहाँनिर बुझ्नु पर्ने कुरा के हो भने अहिलेसम्मको अध्ययनले पोरस सर्फेस वा लत्ताकपडाको हकमा धुने, निश्चित तापमानमा तताउने र सुकाएर मात्र भाइरसलाई निर्मूल पार्न सकिन्छ र टनेल वा च्याम्बरमा निश्चित समय डिसइन्फेक्टेन्टले स्प्रे गर्दैमा भाइरस निष्कृय हुन सक्दैन ।

त्यसैगरी, पोरस सर्फेस अर्थात् लत्ताकपडा स्प्रे गरिएको डिसइन्फेक्टेन्टले न बाहिरी रुपमा न संक्रमण भएको व्यक्तिमा भएको भाइरसलाई मार्न सक्छ न संक्रमित व्यक्तिलाई कुनै फाइदा हुने देखिन्छ । त्यसको विपरित यो डिसइन्फेक्टेन्ट आँखा र मुखमा हुने म्युकस मेम्ब्रनको लागि हानिकारक हुन्छ । यससँगै यसको प्रभावकारीको बारेमा हालसम्म कुनै वैज्ञानिक अध्ययन, अनुसन्धान भएको भेटिँदैन तसर्थ यो क्लिनिकल्ली परीक्षणसमेत नभएको हुँदा उपयोगी छैन भन्ने सहजै निष्कर्ष निकाल्न सकिन्छ ।

मलेसियामा यो व्यापक प्रयोग हुन थालेपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले अध्ययनसमेत गरायो । उक्त अध्ययन प्रतिवेदन अनुसार यसप्रकारका उपकरणले कोभिड १९ बाट सुरक्षित गर्नसक्ने कुनै आधार नरहेको ठहर गर्‍यो । तसर्थ, डिसइन्फेक्सन टनेल, गेट वा च्याम्बर अहिलेको अवस्थामा उपयोगी हुने देखिँदैन । तर, यो कुनै इन्फेक्टेट क्षेत्रमा प्रयोग हुने सवारी साधनहरूलाई समयसमयमा डिसइन्फेक्टेन्ट गर्न उपयोगी हुन सक्ने देखिन्छ ।

तर, नमुना संकलन बुथले भाइरसलाई निर्मूल गर्ने होइन । यसले नमुना संकलन गर्ने स्वास्थ्यकर्मीहरूलाई संक्रमणबाट जोगाउन मद्दत गर्छ अथवा बिरामी र स्वास्थ्यकर्मी बिचमा आइसोलेसन गराउँछ । यो रोग संक्रमणबाट आइसोलेसन कति आवश्यक छ भन्ने कुरा विश्व स्वास्थ्य संगठनले समेत भनिसकेको र करिब विश्व नै अहिले लकडाउनमा रहेको हुँदा यो प्रभावकारी प्रविधि हो भन्नेमा शंका रहेन ।

दक्षिण कोरियालगायतका देशमासमेत यसको प्रयोग गर्दै आइरहेको पाइन्छ । तर, हाम्रो जस्तो देशमा केही सामाजिक तथा पेशागत संघसंस्थाले कसरी निर्माण गरिरहेका छन् । त्यो बुथमा प्रयोग भएको निर्माण सामग्री, नमुना संकलनको लागि सहज हुने गरिएको डिजाइन गरिएको नगरिएको र मुख्य कुरा हावासमेत छिर्न नसक्ने गरी एयर सिल्ड गरे नगरेको र सम्बन्धित क्षेत्रका विज्ञहरूबाट जाँच गराइएको छ कि छैन ।

यी लगायतका विषयमा ध्यान दिने हो भने यो विधि प्रभावकारी हुन सक्छ  । त्यसैगरी अम्बु ब्यागलाई अटोमेसन गरेर अस्थायी प्रकारको भेन्टिलेसनको लागि नेपाल भित्रै केही पहल भइरहेको छ । म्यानुवल ल्यारिङोस्कोपलाई क्यामेरा र मोबाइलको सहायताले भिडियो ल्यारिङोस्कोपको रुपमा काम गराउन सकिनेतर्फ वीर अस्पताल केहीअघि परीक्षण गरिएको थियो ।

जुन कम खर्चिलो विधिबाट नमूना संकलनमा सहयोगी हुन सक्छ । भविष्यमा यस्तै थप प्रविधिहरू नियमित निर्माण हुने चरणमा रहेकाले राज्यको भूमिका यहीँनिर आवश्यक देखिन आएको छ । राज्यले विज्ञ बायोमेडिकल इन्जिनियर सम्मिलित एक प्राविधिक समिति बनाई नियमन गर्न र उपयोगी प्रविधि विकासमा सहयोग गर्नु आवश्यक छ ।

(विष्ट बायोमेडिकल इन्जिनियर्स सोसाइटी नेपालको अध्यक्ष  हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment