Comments Add Comment

ओलीको विश्राम नै वर्तमान समस्याको समाधान

वर्षौंको अस्थिरतालाई दागबत्ती दिँदै नेपाली जनता केपी शर्मा ओलीको नेतृत्वमा शक्तिशाली सरकार ठड्याउन सफल भए । जुन ऊर्जा नेपाली जनताले दुई वर्षअगाडि समर्थनमा खर्चिएका थिए, त्यही तीव्रता अहिले विरोधमा परिणत भएको छ ।

भौतिकीको ऊर्जासम्बन्धी एउटा सिद्धान्त छ, ‘ऊर्जा न जन्माउन सकिन्छ, न त नष्ट गर्न सकिन्छ, ऊर्जालाई केवल रूपान्तरण गर्न सकिन्छ ।’ नेपालको वर्तमान राजनीतिक अवस्थाले यस सिद्धान्तलाई अझ स्पष्ट पारेको छ । जनताको ऊर्जा पनि रूपान्तरित भएको छ ।

नेपालको राजनैतिक यात्रामा हामी जटिल र अभूतपूर्व मोडमा उभिएका छौँ । वर्तमान सरकार औचित्यहीन तथा विवादास्पद निर्णयहरूको भुमरीमा फन्को मार्दैछ । विस्मृत मनलाई चेत्य तुल्याउन धक्का चाहिन्छ । अध्यादेशको आगमन र बहिर्गमनले सरकारलाई ठूलो धक्का दिएको छ र सँगसँगै वर्तमान सरकारको चरित्र आपराधिक पो हो की भनेर जनताले प्रश्न गर्न थालेका छन् ।

अब पनि प्रधानमन्त्री अवसरवादी र पुँजीपति दलालको घेरामा छन् भन्नु मूर्खता हुन्छ । प्रधानमन्त्री कसैको घेरामा नभई स्वयं घेराका रिंग मास्टर हुनसक्ने सम्भावनालाई विभिन्न घटनाक्रमले प्रवल बनाउँदै गइरहेको छ । उनलाई कसैले ओझेलमा राख्न सक्दैन । दैनिक १८ घण्टा बिना विश्राम खट्न सक्ने व्यक्ति स्वतः सबै घटनाबारे अवगत हुनुपर्ने हो । तर विडम्बना उनको नजर राज्यले बाध्य बनाएर सडकमा सयौँ किलोमिटर पैदल यात्रा गर्दै गरेका हजारौँ उत्पीडितहरूमध्ये एक जनामाथि पनि परेन । बरू उल्टै तथ्य उजागर गर्ने पत्रकार माथि खनिए । उत्पीडितहरूको व्यवस्थापन गर्नुको सट्टा उनले सबैको पीडा नजर अञ्दाज गरे ।

महामारी नियन्त्रणका लागि अत्यन्त आवश्यक र जटिल बहसमा जुट्नु पर्ने समयमा मन्त्रिपरिषदवाट लोकतन्त्रको घाँटी न्याक्ने प्रतिगामी अध्यादेश सिफारिसका लागि राष्ट्रपतिकहाँ पुग्यो । अध्यादेश चौतर्फी विरोधमाझ जारी भयो । त्यसलगत्तै नेपाली राजनीति एउटा बलिउड ब्लकबस्टरमा परिणत भयो । सरकार माथि सत्ता दुरुपयोग गर्दै अपहरणको आरोप लाग्यो । लकडाउनको बेला घरमा हुनु पर्ने सांसदहरू काठमाडौंसम्मको यात्रा तय गरे ।

रातारात दुई राष्ट्रिय पार्टीबीच एकताको सहमति पत्रमा हस्ताक्षर भयो । पार्टी फुटाउन लागेकाले इमेलबाट रुष्ट सांसदहरुको नयाँ पार्टी दर्ता गरिपाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएको कुरा मिडियाले छापे तर भोलिपल्ट बिहान निर्वाचन आयोगमा रमिता हेर्न पाइने आश बोकेका सञ्चारकर्मीहरूले अनपेक्षित दृश्य देखे । निर्वाचन आयोगमा कुनै विद्रोही सांसद देखा परेनन्, देखियो त केवल पार्टी एकता गर्नेको भिड । विभिन्न सन्चारमाध्यमले समाजवादी पार्टी सतप्रतिशत विभाजन भइसकेको समाचार प्रकाशित गरे पनि त्यो किन भएन भन्ने कुराको आफ्नै रहस्य छ ।

यहाँसम्म आइपुग्दा यस थ्रिलरको नायक ठम्याउन गाह्रो भयो । तर, खलनायकमा पक्ष र विपक्ष सबैको औंला प्रधानमन्त्री केपी शर्मा ओलीतिर तेर्सिए । प्रधानमन्त्रीको व्यक्तित्व राजनेताको साटो एउटा अपराधजन्य गिरोह सञ्चालन गर्ने किंगपिंगको जस्तो चित्रण गरिन थालियो ।

ओली सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारा दिए पनि आफ्नो सम्पूर्ण शक्ति गुटगत स्वार्थ पूर्तिमा खर्चेको छ । अध्यादेश मधेश केन्द्रित पार्टीमाथि प्रहारका रूपमा देखिए पनि यसको जड नेकपाको आन्तरिक कलहतिर गाडिएको संकेत छ । नेकपाभित्र ओली गुट कमजोर तथा रक्षात्मक स्थितिमा छ । माओवादी र एमाले पार्टी एकता भएपश्चात् ओलीले प्रचण्डसँग पार्टी एकता गर्नुपूर्वका कुनै पनि सम्झौता इमान्दारीका साथ लागु गरेका छैनन् ।

प्रधानमन्त्रीको नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसँग लगभग हरेक विषयमा मतभेद सिर्जना हुँदै आएको छ । दुवैले आफ्ना विमतिहरु मिडियामार्फत खुलस्त रुपमा सार्वजनिक गरेका उदाहरणहरू छन् । तसर्थ विवाद बल्झिदै गए पार्टी भित्रैबाट आफूलाई सत्ताच्युत गर्न सक्ने शंकामा प्रधानमन्त्री डुबेको अनुमान गर्न सकिन्छ ।

सामाजिक सन्जालले पनि घाउमा नुन छर्किने काम गरेको छ र उनको शंका उनका आफ्नै क्रियाकलापले गर्दा यथार्थमा परिणत हुने प्रबल सम्भावना छ । पार्टी विभाजन अझ सहज हुने अध्यादेश ल्याएर आफ्नो गुटलाई नेकपाबाट अलग गरी मधेसवादी पार्टीबाट फुटेर बनेको नयाँ पार्टीसँग सहकार्य गरेर आफ्नो सत्ता टिकाइरहने ग्राण्ड डिजाइन अन्तर्गतको चाल पनि असफल भएको छ ।

आफ्नो जनविरोधी चरित्रले निम्त्याएको समस्यालाई ढाकछोप गर्न पूर्वएमालेलाई एक कित्तामा उभ्याई आफ्ना अनैतिक स्वार्थको रक्षा गर्ने रणनीति लागू गर्न सकेनन् । फलस्वरूप उनी पार्टीमा पूर्ण रूपले एक्लिएका छन् ।

प्रधानमन्त्री ओली यति हदसम्म जालान् भन्ने आम जनताका लागि अकल्पनीय थियो तर उनको विगत खोतलेर हेर्दा सायदै कोही आश्चर्यमा पर्लान् । अब नेकपाले कस्ता कदम चाल्नु पर्ने हो रु त्यसको विश्लेषण हामी अन्त्यमा गरौंला । हामीले उनको मनोवैज्ञानिक विश्लेषण पनि गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्रीको मनसाय बुझ्नलाई हामी उनको विगतमा जाऔँ । नेतृत्वको भूमिका निर्वाह गर्ने व्यक्तिमा सत्ताको इच्छा हुनु स्वाभाविक हो तर ओली जहिले पनि सत्तामा लिप्त भएका भेटिन्छन् । उनले आफू सत्तामा टिकिरहन साम, दाम, दण्ड, भेदको नीति अंगिकार गरेका छन् । सन् २०१६ मा ओली पहिलोपटक माओवादी केन्द्रको सहयोगमा प्रधानमन्त्री बन्न सफल भएका थिए ।

माओवादी केन्द्रसँगको समझौतामा उनको कार्यकालको समयावधि तोकिएको र त्यो समयावधि सकिएलगत्तै प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्ताव समाहित हुँदाहुँदै पनि ओलीले त्यस भद्र सहमतिलाई लत्याउँदै प्रधानमन्त्री पद जोगाइ राख्न पार्टी फुटाउने र अपहरणको शैलीमा सांसदलाई उठाउनेसम्मको हर्कत गरे । एउटा मित्रको सहयोगमा आफ्नो स्वार्थ पूरा हुनासाथ मित्रलाई दिएको वचनबाट पन्छिनेलाई धूर्तको संज्ञा दिनुपर्दछ ।

आफू लोकप्रिय भइराख्न नेपाली–नेपालीबीच द्वन्द्व सिर्जना गर्न पनि चुकेनन् उनी । अन्धराष्ट्रवादको धरातलमा टेकेर तेस्रो मधेश आन्दोलनका दैरान भड्काउ भाषण गर्दै पहाडी र मधेशी समुदायबीच द्वेष भावको विजारोपण पनि गरे । संसारका कतिपय राष्ट्रका नेतृत्वको ‘फुटाऊ र राज गर’ नीतिको नक्कल गर्दै ओलीले नेपालमा पहाडी–मधेशीबिच अनावश्यक टकराव उत्पन्न गराउँदै सत्ता आरोहणको जग बसाए । सत्ताको लालसा भरिभराउ भएको ओलीको मस्तिष्कले एकहोरो ढंगले नेपाली राजनीतिको बाटो खन्दै गयो र तिनका खाल्डामा नैतिकता, सदभावना र जवाफदेहिता पुरिँदै गए । आफ्ना प्रतिद्वन्द्वीसँग उनको विमती कहिले पनि सैद्धान्तिक प्रवृत्तिको देखिँदैन । जहिले पनि भागवण्डामा र पदको विषयमा मनमुटाव हुन्छ ।

उनको काम गर्ने शैली पनि आफूलाई सर्वेसर्वा र सर्वज्ञाता ठानी एकलौटी रुपमा निर्णय लिने किसिमको छ । पार्टीको निर्णयसमेत किनारा लगाइ आफुखुशी हिँडेका छन् । संसदीय प्रणालीमा पार्टी प्रधान हुन्छ र सरकारको कार्यक्षेत्र पार्टीको नीतिभन्दा बाहिरको नहुनु पर्ने हो । तर नेपालमा यसको ठीक विपरीत भइरहेको छ । पार्टीलाई सरकारले गरेका निर्णयहरूको अत्तोपत्तो छैन, तर सरकारको असफलताको अपजस पार्टीले लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुने अवस्था छ ।

प्रधानमन्त्रीको आचरणमा सर्वसत्तावाद र अधिनायकवादको बलियो गाँठो छ । संवादमार्फत स्थिति सहज बनाउनुको साटो आफ्नो कुरा अरूमाथि बलजफ्ती लाद्ने र कसैले आफ्नो आलोचना गरे कहिले नसहनेमा पर्छन् । गल्ती सार्वजनिक भए आत्मालोचनाको साटो ढाकछोपको विधि अँगालेका छन् र त्यसमा पनि असक्षम भए दोष सबै अर्काको टाउकोमा थुपार्ने गरेका छन् ।

सरकारले ल्याएको सूचना–प्रविधि ऐनले वाक स्वतन्त्रतामाथि प्रहार गरी सरकारको आलोचना गर्ने निर्दोषहरु थुनिएका घटनाहरुले पनि सरकारको अधिनायकवादी चरित्र जोडदार रुपमा प्रस्तुत गरेको छ । सरकारका कार्यकारीले संविधानको रक्षा गर्नुको साटो बदनियतपूर्ण ढंगले संविधानका धाराहरू थिचोमिचो गर्दै राष्ट्रलाई अस्थिरता र अन्धकारमा धकेल्ने काम गरेका छन् । नेपालको इतिहासमा यो अर्को लज्जास्पद घटनाको रूपमा अंकित हुनेछ ।

यस घटनाले राजा ज्ञानेन्द्रले गरेको कुको झझल्को दिन्छ । जुन प्रवृत्तिविरूद्ध नेपाली जनताले संघर्ष गरी त्यसलाई पराजित गरे आज आएर एउटा जन–निर्वाचित सरकारमा त्यही प्रवृत्ति हावी हुनुले प्रतिगमनतर्फ इशारा गर्दैछ । हजारौं नेपालीको बलिदानबाट हामीले हासिल गरेका उपलब्धिहरू जोगाउनु पर्ने छ । प्रतिगामी र यथास्थितिवादीलाई बहिष्कार गर्दै अगाडि बढ्नु पर्ने हुन्छ ।

नेकपाले अब प्रधानमन्त्रीलाई सरल ढंगले सम्झाइबुझाइ गरेर समस्या सामाधान हुने स्थिति कदापि सम्भव छैन । प्रधानमन्त्री ओली स्वयं सबै समस्याका जड हुन् । उनको स्वभावले उनलाई सुध्रिनबाट रोक्नेछ र उनलाई यथास्थितिमा छोड्ने हो भने उनले राष्ट्रलाई गम्भीर दुर्घटनामा धकेल्ने निश्चित छ । जनताको विश्वास जित्नलाई नेकपासँग प्रधानमन्त्रीको बहिर्गमनको विकल्प छैन । पार्टीमा पनि उनलाई शीर्ष स्थानमा कायमै राख्नु नेकपाको मर्म विपरीत जान्छ । प्रधानमन्त्री ओलीले राष्ट्र र पार्टी दुवैको नेतृत्व गर्ने नैतिक धरातल गुमाइसकेका छन् ।

स्वास्थ्यले पनि उनलाई साथ दिइरहेको छैन । वर्तमान घटनाले उनी शारीरिक र मानसिक रूपमा असक्षम भएको निष्कर्ष आम जनताले निकालीरहेका छन् । उनले पार्टीमा सल्लाह गरी विश्राम लिनु उचित हुन्छ । सो नगरेको खण्डमा नेकपा नेतृत्वपंक्ति जनता र राष्ट्रप्रति उत्तरदायी छ भने प्रधानमन्त्री ओलीलाई यथाशीघ्र बर्खास्त गरी पार्टीभित्र पनि कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्छ । पार्टीले यस विषयमा गर्ने निर्णयले नेकपाको भविष्य पनि निर्धारण गर्ने छ । अब नेकपाका नेतागणले परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै साहसी कदम चाल्ने बेला हो ।

पार्टीभित्रै ओली प्रवृत्ति हावी भएको वा नभएको कुरा पार्टीको निर्णयले उजागर गर्नेछ । यो चुनौती र सँगसँगै जनताप्रति जवाफदेहीता प्रस्तुत गर्ने ठूलो अवसर पनि हो ।

यस अवसरलाई नेकपाले खेर नफालोस् । नेकपाका नेताहरू समक्ष दुईओटा विकल्प छन्– अग्रगामी भूमिका खेल्ने वा प्रतिगमनको बाटो हिँड्ने । राष्ट्रलाई समृद्ध बनाउन चाहनेले सही विकल्प रोज्ने छन् भन्ने आश नेपाली जनताले गरेका छन् ।

(यादव नेकपा कार्यकर्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment