Comments Add Comment

मनकामनाका पुजारीको दुईवटा बन्दुकको इजाजत खारेज

१६ वैशाख, गोरखा । मनकामना मन्दिरका मूल पुजारी इन्सान थापा मगरको साथमा रहेको तीनवटा बन्दुक मध्ये दुई वटाको इजाजत खारेज गरिएको छ ।

सुरक्षाको लागि लिएको बन्दुकले शिकार खेल्दै हिँडेको गुनासो बढेपछि लाइसेन्स खारेज गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘शिकार खेल्दै हिँडेको भनेर सामाजिक दबाब पनि बढ्यो, फेरि हाललाई आवश्यक नरहेको भनेर उहाँ आफैँले निवेदन दिनुभयो,’ उनले भने, ‘त्यही आधारमा हामीले लाइसेन्स खारेज गरेका हौँ ।’ इजाजत खारेज भएका उक्त हतियार अब सरकारको नाममा भएको उनले बताए ।

एकनाले भरुवा र १२ बोरको बन्दुकको इजाजत खारेज गरिएको गोरखा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । ‘आवश्यकता नरहेको भन्दै हिजो हामीलाई निवेदन दिनुभयो,’ उनले भने, ‘हामीले प्रशासनमा पठायौँ, प्रशासनले हिजै इजाजत खारेज गरिसक्यो ।’ इजाजत खारेज भएका दुई बन्दुक जिल्ला प्रहरी कार्यालयमा रहेको उनको भनाइ छ ।

सुरक्षाका लागि लिएको हतियार प्रयोग गर्दै पुजारीले शिकार खेल्ने गरेको स्थानीय बताउँछन्

विभिन्न समयमा गरी पुजारी मगरले तीन वटा हतियारको इजाजत लिएका थिए । प्रशासनको तथ्यांकअनुसार सुरक्षाका लागि भन्दै २०५१ सालमा उनले एक नाले भरुवा बन्दुकको इजाजत लिए ।

२०७३ वैशाख ३१ गते पोखरा महानगरपालिका-५ निवासी शक्ति पराजुलीको नाममा रहेको २२ बोरको राइफल उनले आफ्नो नाममा नामसारी गरेका थिए ।

त्यस्तै, २०७३ माघ १७ गते साविकको बक्राङ-४ का टोपबहादुर थापा मगरको नाममा रहेको १२ बोरको बन्दुक पनि उनले आफ्नो नाममा नामसारी गरेको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

सुरक्षाका लागि लिएको हतियार प्रयोग गर्दै पुजारीले शिकार खेल्ने गरेको गुनासो चौतर्फी बढेपछि प्रशासन दबाबमा थियो ।

वैशाख ५ गते शुक्रबार राति नौ बजे हतियारसहित पुजारी मगरलाई शहीद लखन गाउँपालिका–४ को ढोडेनी जंगलबाट स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । रातको समयमा उनी शिकार खेल्न हिँडेको स्थानीयको दाबी छ ।

पुजारीको साथमा भएको २२ बोरको राइफल प्रहरीले नियन्त्रणमा लियो । उक्त हतियार हालसम्म प्रहरीकै नियन्त्रणमा छ । ‘मनकामना मन्दिरमा पूजाआजा गर्दा कहिलेकाहीँ बढाइ गर्नुपर्ने रहेछ, त्यसैले त्यो बन्दुकको इजाजत खारेज गरेका छैनौँ, प्रहरीको मै हुन्छ, बढाइ गर्ने बेलामा त्यहीँबाट लाने अनि ल्याएर त्यहीँ राख्ने गर्नुहुन्छ,’ प्रजिअ पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment