Comments Add Comment

ओलीतिरै फर्कियो एघार वर्ष पुरानो प्रचण्डमाथिको कटाक्ष

समय धेरै वलवान हुन्छ भन्ने भनाइ सबै समाजमा व्याप्त छ । समयले सबै कुरो ठीक पार्छ भन्ने आम भनाइ छ । आफ्ना निकट र प्रियको मृत्य होस वा प्रेमीप्रेमिकाको बिछोडमा समय बित्दै जाँदा आफै‌ं बिर्सदै गइन्छ । तर, आजको यो टिप्पणी चाँहि यसको ठीक विपरीतको सन्दर्भमाथि रहेको छ । दशकभन्दा अगाडि बितेको सन्दर्भले वर्तमानलाई गिज्याउँदैछ ।

इतिहासबारे दार्शनिक र चिन्तकका धेरै विख्यात भनाइ छन् । म यहाँ तीनवटा सन्दर्भ मात्र लिँदैछु ।

आफ्नो पुस्तक ‘एट्टिन बु्रमेयर अफ लुई बोनापार्ट’मा कार्ल मार्क्सले “इतिहास दोहोरिन्छ, पहिला त्रासदीका रुपमा र त्यसपछि प्रहसनको रुपमा” भनेका छन् । त्यस्तै रुसी विद्धान भासिली क्लिउचेस्कीले “इतिहासले कसैलाई पनि केही सिकाउँदैन, तर इतिहासबाट नसिक्नेलाई कठोर दण्ड मात्र दिन्छ” भनेका छन् । त्यस्तै स्पेनिस दार्शनिक जर्ज सन्त्ययनाले “इतिहासबाट नसिक्नेहरु यसलाई दोहोर्‍याएर आफैं सिद्धिन्छन्” भनेका छन् ।

यी उक्ति इतिहासबारे धेरै उद्धरण गरिने मध्येका हुन । म पनि यी तीनवटामा मात्र सीमित छु । माथि उल्लेखित यी तीनैवटा उद्धरण प्रधानमन्त्री ओलीमा अहिले ठ्याक्कै लागू भएका छन् ।

ओलीले अहिलेभन्दा करिब ११ वर्ष अगाडि तत्कालीन माओवादी नेतृत्वको सरकारलाई गरेको कटाक्ष आफैतर्फ फर्किएको छ । उनले तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारको लागि ओलीद्वारा सिर्जित विम्व आफ्नै लागि पहिले नै बनाएको जस्तो प्रतीत छ ।

चैत्र २८, २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा एमाले तेस्रो दलमा खुम्चियो । ओली विगत तीनपटक संसदीय निर्वाचन जीतेको झापाको निर्वाचन क्षेत्रमा माओवादीका सामान्य उमेदवार विश्वदीप लिङ्गदेन लिम्बुसँग पराजित भएका थिए । निर्वाचनमा पराजित भएपछि उनी फुर्सदिला थिए । साथै त्यसको करिब १० महिनापछि सम्पन्न पार्टीको महाधिवेशनमा उनी झलनाथ खनालसँग पार्टी अध्यक्षमा पनि पराजित भएका थिए ।

अहिलेको जस्तो अनलाइन सञ्चारको व्यापकता थिएन । मूलधारका सञ्चार माध्यमले संविधानसभामा निर्वाचित नभएका र पार्टी अध्यक्षमा पनि पराजित भएका ओलीलाई खासै ‘पत्ता’ दिँदैनथे । तर, ओली माओवादीको कडा आलोचना गर्थे र आफ्ना विचारमा दृढ देखिन्थे । उनी गोष्ठी, सभा, सेमिनारमा सहभागी हुन्थे । उखान टुक्का जोडेर ठट्यौलो भाषामा माओवादीप्रति ‘रस्टिक’ शैलीमा कटाक्ष गर्थे । सबै साना–ठूला सञ्चार माध्यममा अन्तर्वार्ता दिन्थे ।

मैले अहिले ठयाक्कै अंक र वर्ष बिर्सें, तर प्रचण्डले कटुवालकाण्डपछि प्रधानमन्त्रीबाट राजीनामा दिनुभन्दा तीन/चार महिनाअगाडि मार्गदर्शन मासिक नामक एक पत्रिकामा ओलीले अन्तरवार्ता दिएका थिए । त्यस अन्तरवार्तामा प्रचण्ड नेतृत्वको सरकारलाई अनुभवहीन र ‘सिकारुको शासन’ र ‘खराब व्यक्ति, भ्रष्ट र अपराधीहरुको शासन’ भनेका थिए ।

पशुपतिनाथ काण्ड र आठ जर्नेलको काण्डलगायतले गर्दा माओवादी सिकारुको शासनजस्तो देखिन्थ्यो र ओलीले त्यसैलाई आधार बनाएर ‘सिकारुको शासन’ भनेका थिए । अर्कोतर्फ माओवादी लडाकुको शिविर सञ्चालनमा दिएको रुपैयाँको भ्रष्टचार र कोटेश्वरका रेष्टुरेन्ट व्यवसायी रामहरी श्रेष्ठको हत्यालाई जोडेर ओलीले ‘खराब र अपराधीको शासन’ भनेका थिए ।

राजनीतिशास्त्रमा ‘सिकारुको शासन’को अंग्रेजीमा अर्थ ‘नियोक्रेसी’ हुन्छ र त्यसको अर्थ भनेको अनुभवहीन, नयाँ र भर्खरै सिक्दै गरेका र एकपछि अर्को गल्ती कमजोरी गर्नेहरुको सरकार हुन्छ । त्यसै भ्रष्ट, खराब र अपराधीको शासन भनेको ठ्याक्कै शब्द त छैन, तर अंग्रेजीमा ‘क्याकिस्टोक्रेसी’ सबैभन्दा नजिकको अर्थ हुन्छ । उक्त अन्तरवार्तामा ओली ती अंग्रेजी शब्दहरु नै चाहिँ प्रयोग गरेका थिएनन् ।

तर, त्यो अन्तरवार्ताको केही अंकपछि उक्त पत्रिकाको प्रधानसम्पादकले आफ्नो निजी स्तम्भमा चाहिँ प्रचण्डको सरकारलाई ‘नियोक्रेसी’ र ‘क्याकिस्टोक्रेसी’ शब्दहरु नै प्रयोग गरेर आलोचना गरेका थिए । एकदिन निजी र पारिवारिक भेटमा ती प्रधानसम्पादकले उक्त मासिक मेरो हातमा थमाए । अन्तिम पेजमा आफ्नो लेख भएको र पढेर सल्लाह दिन आग्रह गरे । उमेरले मभन्दा कान्छो र नातामा पनि उनले मलाई सम्मान गर्नुपर्ने मान्छे परें म । तत्कालै मैले हेरें, ब्रेक्ररमै ती शब्द भएकाले र यी शब्दहरु कहाँबाट थाहा भयो भनेर सोधें । उनले तत्कालै बुढा (ओली) ले भन्ने जवाफ दिए ।

ओली आफ्नो अंग्रेजी भाषाको शब्द भण्डार बढाउन नर्मन लुइसको ‘वर्ड पावर मेड इजी’ पनि पढ्छन कि क्या हो भनेर ठट्यौलो शैलीमा उनलाई सोधें ।

ओली निवासमा सहज पहुँच भएका उनले कितावको नाम त थाहा भएन, तर बुढा (ओली) यस्तो किताव चाख दिएर पढ्छन र मैले उनैबाट सुनेर प्रवाहित भई यी शब्दहरु प्रयोग गरेको हो भने । मसँग त्यो पत्रिका धेरै समयसम्म थियो । यो लकडाउन घोषणा हुनुभन्दा तीन साता अगाडि पुराना किताव र पत्रपत्रिका कवाडीलाई बेचिदिएँ । अहिले थक्क लागेको छ ।

खैर, ओलीको मन्त्रिमण्डलमा जिम्मेवारीपनको अभाव, बहुमतको सरकारले जे मन लाग्छ, त्यो गर्न सक्छ भन्ने जस्ता विभागीय मन्त्रीको अभिव्यक्ति दिँदै हिँडेका छन् । विनातयारी संसदमा विभिन्न विधेयक पेश गरिएको छ । संसदमा अनावश्यक बिषयमा कानून निर्माण गर्न विधेयक पेश गरिएको छ । विधेयकमा प्रयोग भएको भाषा अत्यन्तै खेलाँचीपन प्रयोग भएको छ । कक्षा १० को विद्यार्थीले लेख्नेभन्दा कमसल भाषाको प्रयोग भएको छ । हचुवाको भरमा पारित कानुनले सरकारका मन्त्रीहरु छिपछिपे (मिडियोकोर), अत्यन्तै अनुभवहीन र सिकारु देखिन्छन् ।

त्यस्तै सरकार एकपछि अर्को निर्णय गर्दै त्यसबाट जनदवाव र आलोचनापछि पछाडि हट्दै गैरहेको छ । जस्तो–गुठी विधेयकबाट पछाडि हट्यो । अहिले दुई संवैधानिक परिषद र दलसम्वन्धी अध्यादेश २ दिनसम्म पनि टिक्न सकेन । सबैभन्दा महत्वपूर्ण कुरो त २ दिनको लागि काठमाण्डौंबाट बाहिर जान दिने निर्णय १ घण्टा पनि टिकेन । आफ्ना काम कारवाही परिपक्वताले अगाडि बढाउने र त्यसमा दृढताले उभिन सकेको छैन । यसले वास्तवमै ओली शासन ‘नियोक्रेसी’ प्रतीत हुन्छ ।

अर्कोतर्फ सेक्युरिटी प्रेस प्रकरण र चीनबाट औषधी खरिदको सम्झौता र यति गु्रपलाई नेपाल ट्रष्टको सम्पति लिजमा दिने सम्झौताको अग्रिम नविकरण गर्ने जस्ता कार्यमा ओलीका सवैभन्दा निकट मानिए मन्त्रीहरुको संलग्नताको आरोपले गर्दा यो सरकारलाई भ्रष्टाचारी भएको आरोप पनि लागेको छ ।

सबैभन्दा पछिल्लो प्रकरणका रुपमा उनका विश्वास पात्र सांसद महेश बस्नेत, कृष्ण (किसान) श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नै संलग्न भएर सांसद अपहरणको आरोप लागेको छ । यसले ओली शासन आफैं अपराधमा संलग्न भएको भनेर सबै क्षेत्रबाट विरोध भएको छ । बस्नेत, श्रेष्ठ र खनाललाई कानूनको दायरामा ल्याउन माग भैरहेको छ ।

यो सबै प्रकरणले ओलीले करिब ११ वर्ष अगाडि वर्तमानमा आफ्नै पार्टीका सहअध्यक्ष तथा तत्कालीन माओवादीे अध्यक्ष प्रचण्डको नेतृत्वको सरकारलाई ‘नियोक्रेसी’ र ‘क्याकिस्टोक्रेसी’ भनेर लगाएको आरोप आफैंतर्फ फर्किएको छ ।

अहिले ओली सरकारमा मार्क्सको उद्धहरण “इतिहास दोहोरिन्छ, पहिला त्रासदीको रुपमा र त्यसपछि प्रहसनको रुपमा” लागु भएको छ । त्यस्तै क्लिउचेस्कीले “इतिहासले कसैलाई पनि केही सिकाउँदैन, तर इतिहासबाट नसिक्नेलाई कठोर दण्ड दिन्छ” भनेको ओलीले आफैंले प्रचण्डको अनुभवबाट नसिकेको र अहिले जनताबाट दण्ड पाउने अवस्थामा छन् ।

ओलीको लोकप्रियताको ‘एप्रोभल रेटिङ्ग’ गर्ने हो भने अहिले सुन्यमा झरेको होला, सायद । साथै, सन्त्ययनाले “इतिहासबाट नसिक्नेहरु यसलाई दोहोर्‍याएर आफै सिद्धिन्छन्” भनेझैं ओली त्यही इतिहास दोहोर्‍याएर आफैं सिद्धिन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment