Comments Add Comment

ओलीलाई सच्चिने मौका दिऔं, महामारीमा सरकार नफेरौं

चुनावको समयमा केपी ओलीको भाषणले आम नेपालीलाई मन्त्रमुग्ध बनायो । शरीरमा सुनौलो भविष्यको सकारात्मक अनुभूतिको संचार भयो । केपी ओली प्रधानमन्त्री भएका दिन नेपाली नागरिकले ठूलो आशा र भरोषा गरेका थिए । कलेटी परेका ओठहरुमा मन्द मुस्कार छाएका थिए । जनताले ओलीलाई बहुमत दिए ।

तर, सरकारले जनताको जनादेशलाई सम्मानपूर्वक पालना गरेन । नेपाली जनतालाई मिठा मिठा सपना देखाएर सपना अलपत्र पारिदिए । सार्वभौम सत्तासम्पन्न जनतालाई अपमानित हुने गरी सरकारका व्यवहारहरु पर्दामा प्रदर्शित हुँदै गए ।

आफ्नो राजनैतिक जीवनमा प्रधानमन्त्री ओलीलाई रोगले धेरै नै दुःःख दियो । दुई-दुई पटक किड्नी फेर्नुपर्ने कुराले राजनैतिक गतिलाई अवरोध गर्‍यो । राजनैतिक गतिविधि, भेटघाट, छलफल, नीति निर्माण र जनतासंग घुलमिल हुन नसकी अलग्गै रहनु पर्दा विरोधीहरुको सिकार बन्नु परेको हो । तर, उनले जगतलाई सिकाएको कुरा चाँही रोग लागेमा आत्मबल हुनुपर्छ भन्नेचाहिँ हो ।

कान्डै कान्डको थुप्रो

निर्मला काण्ड, सुन काण्ड, एनसेल कर काण्ड, पप्पु काण्ड, वाइडबढी घोटला काण्ड, बालुवाटार जग्गा प्रकरण, सभामुख काण्ड, गुठी विधेयक काण्ड, कालापानी काण्ड, पि्रन्टिङ प्रेस खरीद काण्ड, स्वास्थ्य सामग्री खरिदमा ओम्नी काण्ड हुदै सांसद अपहरण लगायत अरु धेरै यस्तै कान्डै कान्डमा ओली सरकार फस्यो ।
सरकारले कानूनको सर्वोच्चता स्थापित गराएन । विधिको शासन भएन । अपराध गर्नेले सजाए पाएनन् । बरु त्यस्ता काण्ड र फन्डाका पात्रहरुलाई संरक्षण भयोे । देशमा अपराधीकरण घटेन बरु बढेर गयो ।

दलाल, माफिया र भ्रष्टाचारीलाई कारवाही गर्नु भन्दा उनीहरुको पक्षमा नै सार्वजनिक रुपमा ओली स्वयम बोल्दै हिँडे । सरकारले देश चलाएन माफियाले सरकार चलाए ।

सुशासनको कमी

प्रजातन्त्र, स्वतन्त्रता, देश र जनताका लागि कयौ बर्ष जेल जीवन बिताएका ओली बा राज्य संचालनमा असल शासन स्थापित गर्न बाट चुके । सरकारको विरोध गर्नेलाई पक्रने, थुन्ने र मुद्धा चलाउने गर्न थाले । नागरिकको वाक स्वतन्त्रताको संवैधानिक अधिकारलाई ओलीले जोर लात्ती हाने । विकाश र समृद्धिको नारा मुखले चाँही धेरै पटक जपे । तर काम गरेनन् ।

ओली सुरुका नौ महिनासम्म ठिकै ढंगबाट सरकार संचालन गरेको थियो । त्यसपछि विस्तारै उनका गतिविधि निरङकुष बन्दै गए । शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने मूलभूत मान्यतालाई उपहास गरियो । आफ्ना आसे पासे, लौरे धजेलाई जेसुकै गरे पनि छुट दिए । यो कुरा विस्तारै नागरिकमा मिडिया मार्फत् सम्प्रेषण हुँदै गए ।

मिडियाप्रति पनि ओली असहिष्णु भए । राज्यका विभिन्न अंगहरुलाई समन्वय गरेर प्रभावकारी ढंगले सञ्चालन गर्न सकेनन् । जसले गर्दा आम नेपालीमा ओली सत्तासँग वितृष्णा बढेर गयो । दण्डहीनता, भ्रष्टाचार, अपराधलगायतका बेथिती बढ्दै गए ।

पार्टीभित्र र बाहिरको सर्घष

नेपालका अहिलेका सवै पार्टी महासंघ जस्ता छन् । सबैका आ-आफ्नै गुट र ग्याङ छन् । ओलीले पार्टी भित्रका त्यस्ता इन्ट्रेस ग्रुपहरुलाई संयोजन गरेर मिलाउन नसक्नु कमजोरी रह्यो । म अध्यक्ष हुँ । मैले जे गर्छु त्यो सवैले मान्नु पर्छ भन्ने मानसिकताबाट ओली ग्रसित भए ।

ओलीले पार्टी पंक्तिलाई प्रजातान्त्रिक ढंगबाट विश्वासमा लिएर चल्न नसक्नु पनि उनको कमजोरी रहयो । ओलीको असफलता भनेको नेकपाकोे असफलता हो । नेपाली जनताले सैद्धान्तिक रुपमा ओलीलाई जनमत दिएको होइन पार्टीलाई दिएको हो । पार्टीले सरकार बनाएको हो । तर पार्टीले सरकारलाई नियन्त्रण गर्न सकेन । विभिन्न गुटहरुको इच्छा, चाहना र आकांक्षाले ओलीलाई सरकार संचालनमा सजिलो भएन भने उनी स्वंयम अध्यक्ष भएको नातालेे पार्टीमा सबैलाई मिलाएर र विश्वास जितेर सरकार संचालन गर्न पनि सकेनन् ।

प्रचण्ड, माधव, झलनाथ, बामदेव होनाहारहरुको गुट र झुण्डहरुले बाहिर नबोल्ने, तर सरकारलाई सहयोग नगर्ने नीति लिए । अहिलेको अध्यादेश कान्डले पार्टीका गुट संयोजक र सदस्यहरुलाई के खोज्छस कानो आँखो भने जस्तो भो । पार्टीको आन्तरिक कलह, अन्र्तसर्घर्ष आदीले गर्दा सरकारलाई सफल बनाउन पार्टीको तर्फबाट कुनै रचानात्मक सहयोग भएन । ओलीले पनि सहयोग महसुस गरेनन् र सरकार पतनको दिशामा अगाडि बढ्यो ।

देशी-विदेशी शक्ति सन्तुलन

ओलीको पक्षमा रहेको देशी विदेशी शक्ति अर्को शक्ति भन्दा कमजोर भयो । सरकार फेर्ने विदेशी शक्तिहरुलाई ओली सरकारको क्रियाकलापले थप सहयोग पु-यायो । विदेशी शक्तिसंग कुरा गरेर सन्तुलन मिलाएर लान नसक्नु उनको कमजोरी हो ।

विदेशीहरुले आवश्यकता भन्दा धेरै चलखेल गरे नेपाली नागरिकका सामु भन्नु पर्छ । तिनिहरुका अगाडि गएर लम्पसार पर्नु हुदैन । विदेशी शक्तिसंगको भरोषा कै कारण अहिले ओली सरकार संकट तर्फ उन्मुख हुदैछ । त्यस्ता षडयन्त्र बुझेर देश र जनताको पक्षमा ओलीले काम गरेको भए आज नेपाली जनताले त्यो षडयन्त्रलाई परास्थ गरिदिने थिए । ओरालो लागेको मृगलाई बाछोले पनि लखेट्छ भने झै ओली सरकारले जे जस्तो काम गरे पनि अहिले विरोध नै मात्र हुने गर्छ ।

सल्लाहाकार र सहयोगी

ओली सरकारले केही समय अघि सचिवालयमा रहेका सवैलाई विदा गरी नयाँ नियुक्ति गर्ने योजना ल्याए । आफुले सक्ने जतिलाई हटाए नसक्नेलाई यथास्थानमा नै जागिरे बनाइरहे । अहिले आएर अर्कोले नियुक्त गरिदिएको आफ्नो सल्लाहकारका कारण ओलीले त्यसको परिणाम भोगिरहेका छन् । सधैंभरि बौद्धिक बर्गबाट टाढा रहन चाहने ओली वेला वेला त्यस्ता बर्गलाई चिढियाउन पनि पछि परेनन् । विभिन्न क्षेत्रका विज्ञहरुको टीम बनाएर देश विकासमा परिचालन गर्न नसक्नु पनि उनको असफलता रह्यो । उनका आासेपासे, लौरे धजे र पटके र भरौटेहरुको मात्र भर पर्दा र कुरा सुन्दा ओली आलोचित बन्न पुगे ।

छुद्र बोली र व्यवहार

जे कुरामा पनि उनी प्याच्च बोल्छन् । सवैले त्यो कुरा मन पराउँदैनन् । सहनशीलता र सोच विचारका साथ नवोली घोचपेचका साथ बोल्ने बानीले गर्दा आफ्ना पनि पराई बन्दै गए ।

देशका विभिन्न पेशा र वर्गका मानिसहरुलाई व्यङय गर्दै बोल्न छाडेनन् । अर्काको अहित चिताउने, कुरा काट्ने, लडाउने भिडाउने आदी जस्ता छुद्र व्यवहारले गर्दा सरकारप्रति नागरिकको विस्तृष्णा बढ्दै गयो ।

पछिल्लो कदम

केपी ओलीको पछिल्लो कदम उनका लागि आत्मघाती बन्यो । मढारिएर रहेका उनी विरुद्धका भावनाहरु छताछुल्लै भएर सतहमा आए । उनले पार्टीमा छलफल नगरी सुटुक्क लुकाएर अप्रजातान्त्रिक ढंगबाट ल्याएको अध्यादेश र त्यसको औचित्य पुष्टिका लागि सांसद अपहरण र पुनः अध्यादेश फिर्ताको ड्रामालेे अवसर पर्खेर बसेका विरोधीहरुलाई राम्रो मसला बन्यो । जसले ओली सरकार माथी नैतिक दवाव र संकट उत्पन्न भयो ।

चारैतिर ओलीको विरोध गर्ने आधारहरु खडा भए । ओली विरुद्धका पार्टीभित्र र बाहिर दबेका आवाजहरु एकैपटक निस्किए । देशको राजनीति नै गर्मागर्मी बन्यो ।

सरकारको अबको बाटो

उनको शारीरिक र मानसिक स्वास्थ्यका कारण प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै वा कम्तिमा एकबाट राजीनामा गरेर सम्मानपूर्वक बर्हिगमनमा जानुचाहिँ उनको दोस्रो विकल्प हुन सक्छ । यो विकल्पमा ओली तत्काल जान सक्ने मनस्थितिमा देखिँदैनन्

प्रधानमन्त्री केपी शर्मा ओली आज चौतर्फी घेराबन्दीमा छन् । उनको अगाडिको यात्रामा अब दुईटा बाटो छन् ।

पहिलो-सरकार बचाँउन हरसम्भव सामना गर्ने । जीवनभरि राजनीति गरेका ओलीले यत्तिकै सरकार ढल्न दिँदैनन् । राजनीतिमा चतुर खेलाडी मानिने उनले अब बस्ने पार्टीको बैठकमा नेता कार्यकर्ताको राम्रैसँग सामना गर्नु पर्ने हुन्छ । त्यो उनले गर्छन् पनि । परिस्थितिको आँकलन गरेर संकटसँग जुध्न पनि पछि पर्दैनन् । जुन उनले वामदेवलाई बताइ नै सकेका छन् ।

आफ्नो पक्षमा पार्टीका नेता कार्यकर्तालाई पार्ने, आफ्नो पक्षमा जनमत बढाउँदै लाने, देशी विदेशी प्रतिक्रियावादी शक्तिहरुसँग हारगुहार र अनुनय विनय गर्ने । यो विकल्पमा ओलीले साम दाम दण्ड भेदको प्रयोग गर्न पनि पछाडि पर्दैनन् । यो उनका लागि स्वभाविक नै हो ।

दोस्रो- प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै वा एकबाट राजीनामा दिने । जीवनभर कुनै न कुनै सक्रिय भूमिकामा रहँदै आएका ओलीले सजिलै राजीनामा दिनेमा विश्वास गर्न सकिँदैन ।

तर, उनको शारीरिक र मानसिक स्वास्थ्यका कारण प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै वा कम्तिमा एकबाट राजीनामा गरेर सम्मानपूर्वक बर्हिगमनमा जानुचाहिँ उनको दोस्रो विकल्प हुन सक्छ । यो विकल्पमा ओली तत्काल जान सक्ने मनस्थितिमा देखिँदैनन् ।

देश र जनताको भविष्य

देश विकासका लागि राजनीतिक स्थायित्व जरुरी हुन्छ । नेपालले लामो समयसम्म अस्थिर राजनीतिको शिकार बन्यो । संविधानसभाले संविधान घोषणा गरेर ओली सरकारमा आएसँगै राजनैतिक स्थायित्व र सरकारको स्थायित्व हुने अपेक्षा गरियो ।

देशी विदेशी तत्वहरु र प्रतिक्रियावादीहरुले ओली सरकारमाथि नै धावा बोलिरहेका छन् । हरेक पार्टीमा भएका विदेशीका एजेन्ट र दलाललहहरुले गर्दा नै यो स्थितिमा सरकारलाई पुर्‍याए । यस्तै अस्थिर स्थिति रहँदै गए नागरिकले सुख पाउने अवस्था आउँदैन ।

राजनैतिक स्थिरताका लागि भए पनि नेकपाले सकेसम्म ओली सरकार ढालेर अर्को सरकारको परिकल्पना नगर्नु राम्रो हुन्छ । तर, स्थायित्वका नाममा ओली सरकारसँगै सति जान पर्छ भन्नेचाँहि होइन । पार्टीले ओलीलाई आत्माआलोचना गराएर प्रजातान्त्रिक मूल्य मान्यता अनुसार देश र जनताको पक्षमा काम गर्ने गरी निर्देशन र मार्गदर्शन गर्नुपर्छ । एकपटकको लागि ओलीलाई सच्चिने मौका दिए राजनैतिक स्थायित्वको दृष्टिकोणले राम्रो हुन सक्छ ।

अहिलेको कोरोना संकटमा सरकार फेर्दा राम्रो सन्देश जाँदैन । अहिले पार्टीभित्र अन्तरकलह र द्वन्द्व चर्काउनेे उपयुक्त समय पनि होइन । ओली सरकारले गरेका गलत क्रियाकलापहरुको छानविन र कानूनी कारवाहीका लागि पार्टीले खाकासहित कडा निर्देशन दिने र ओलीलाई अन्तिम मौका दिनु नै तत्कालका लागि उत्तम विकल्प हो ।

यदि पार्टीको निर्णयबाट वा कुनै कारणबाट ओली सरकार विस्थापित गरी अर्को सरकार बनाउन नै पर्ने स्थिति भए पहिलो घेरामा रहेका प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, सुवास नेम्वाङ आदि जस्ता उमेरगत कार्यकाल सकिएका वृद्धहरुलाई अव प्रधानमन्त्री बनाइनुहुँदैन । यी सबै यसअघि नै परीक्षण भई असफल भैसकेका पात्र हुन् ।

यीमध्येबाटै प्रधानमन्त्री हुने हो भने सरकार परिवर्तन गर्नुको कुनै अर्थ पनि छैन । अग्रघेरामा रहेका बृद्ध नेताहरुले स-सम्मान विदा लिएर बाँकी जीन्दगी भजन किर्तन गरेर बिताउँदा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment