Comments Add Comment

ओली ज्यू, जेट विमान शान्तिपूर्णरुपमा अवतरण हुन्छ त ?

सम्माननीय प्रधानमन्त्रीज्यू, नोवेल कोराना भाइरस (कोभिड–१९) ले विश्वनै आक्रान्त भइरहेका बेला नेपाल पनि यसबाट अछुतो रहने कुरा भएन । झण्डै एक महिनादेखि देश बन्दाबन्दी (लकडाउन) को मारमा छ, जनतामा एक प्रकारको त्रास छ । देशको कार्यकारी प्रमुखको हैसियतले तपाईंले आफ्नो तर्फबाट सक्ने जति पहल गर्नु भएको छ । यसबेला स्वास्थ्य अवस्थाको हिसाबले तपाई आफैं पनि आराम गर्नुपर्ने बेला हो, तर देशको परिस्थितिले तपाईंले आराम गर्न पाउनुभएको छैन ।

तपाईंको सिघ्र स्वास्थ्य लाभको कामनासहित कोरोनाविरुद्धको यो लडाइँ जित्नमा तपाईंको नेतृत्व सफल होस्, कोरोनाका नाममा माफियाहरु मौलाउने काम नहोस्, तपाईंले आफै लज्जाबोध गर्नुपर्ने अवस्था नआओस् भन्ने कामना गर्दछु ।

“नेकपा एउटा ट्याम्पो चलाएजस्तो होइन, ट्याम्पोमा एक चालक भए पुग्छ । यो “जेट विमान” हो, जेट विमानमा दुईटा पाइलट चाहिन्छ ।”

प्रधानमन्त्रीज्यू, पुराना कुरा खोतल्ने यो सही समय नहोला । तर, सन्दर्भले तपाईंले २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको औपचारिक घोषणाका क्रममा बोल्नु भएको माथीको हरफ स्मरण गरायो ।साथै तपाईले दावी गर्नु भएको “जेट विमान”ले उडान त भर्‍यो । तर, शान्तिपूर्ण रुपमा अवतरण हुन सक्छ कि सक्दैन भन्नेमा शंका लाग्न थालेको छ ।

तपाईंले पहिलोपटक देशको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका बेला गरेको साहास र देखाएका सपनाले जनतामा एक प्रकारको आश जागेको थियो । त्यसैमा एमाले–माओवादीको एकीकरण हुने प्रतिवद्धता सहितको चुनावी तालमेलले अब देशको राजनीतिक अस्थिरता अन्त्य हुने आश देखायो । भयो पनि, दुई–तिहाई नजिक पुग्यो तपाईंहरुको गठबन्धन ।

अब चुनावमा गरेका बाचाहरु पूरा हुनेछन्, कम्युनिष्ट सरकारका क्रियाकलपाहरु संविधानमा भने जस्तो “समाजवाद उन्मुख” हुनेछन् भन्ने लागेको थियो, तर त्यो आश विस्तारै निराशामा परिणत हुँदै गयो । समृद्धि ल्याएर आउनेछ भनेर करोडौं जनताले आश गरेको त्यो “जेट विमान” कता कता कुहिरोको काग जस्तै बादलभित्र हराएजस्तो छ ।

“जेट विमान” का तपाईहरु दुवै पाइलटको राजनीतिक इतिहास महत्वपूर्ण छ । तपाई आफैं झापा बिद्रोहको योद्धा, जनताको मुक्तिका लागि जीवनका उर्वर १४ वर्ष जेल जीवन बिताउनुभयो । अर्का योद्धा जसले १० वर्षे सशस्त्र बिद्रोहको नेतृत्व गर्नुभयो । ज्यानको बाजी लाएर जंगलमा बस्नुभयो । भलै कुनै समयमा तपाईंहरु एक–अर्काको टाउकोको मुल्य तोक्ने दौडमा सरीक हुनुहुन्थ्यो । तर, आज फेरि सहकर्मी हुनुभएको छ, एक विमानका दुई चालक ।

तर, यो विमान चलाउनमा तपाईंहरु सक्षम भने देखिनुभएन । “अनुभवहीन पाइलट” भन्ने दुस्साहस त म गर्दिनँ । तर, तपाईं “गन्तव्यहीन पाइलट” बन्नुभएको भने सत्य हो । तपाईंले चुनावी अभियानका क्रममा जे जति बाचा जनताकाबीचमा गर्नु भएको थियो, ति सवै बाचाभन्दा एक तहमाथि उठेर काम थाल्नु भयो । यद्यपि तपाईंले देखाएको पानी जहाजको सपना, मेट्रो रेलको सपना, हावाबाट बिजुली बाल्ने सपना, घरघरमा ग्यास पाइप पुर्‍याउने सपना अवैज्ञानिक र असम्भव होइनन्, सवै सम्भव छन् ।

तर, नेपालको वर्तमान अवस्था र तपाईंहरु स्वयंले चुनावको बेलामा गरेका घोषणाहरु आम जनताको दैनिक जनजिविकासँग सम्बन्धित थिए, जसलाई तपाईंहरुले “सर्वहारा वर्ग” वा “शोषित पीडित जनता” भनेर सम्वोधन गर्नुहुन्छ । ति प्रतिवद्धता पूरा गर्ने गन्तव्यमा पुग्ने तपाईंको यात्रा देखिएन ।

प्रधानमन्त्री ज्यू,

तपाईं र तपाईंका “कोपाइलट” दुई कम्युनिस्ट पार्टीको फलामे अनुशासनबाट अनुशिक्षित व्यक्ति हुनुहुन्छ । कम्युनिस्ट अनुशासन, कम्युनिस्ट जीवनशैली तपाईंहरु दुवै जनाले भलिभाँती बुझ्नु भएको छ, भलै अचेल तपाईंहरुको “वर्ग परिवर्तन” भयो । तर, सर्वहारा वर्गको जीवनशैली तपाईंहरुले भोग्नु पनि भएको छ । संगठनात्मक अनुशासन, संगठनात्मक सिद्धान्तको बिषयमा तपाईंहरुले पार्टीभित्र थुप्रै प्रशिक्षणहरु पनि चलाउनु भएको छ । जनवाद, जनवादी केन्द्रीयता जस्ता शव्दहरु तपाईंहरुले गायत्री मन्त्र जस्तै जप्नु हुन्छ । तर दुर्भाग्य, पछिल्लो समय तपाईंहरुका कुनै पनि क्रियाकलापहरु, तपाईंहरुको जीवनशैली, तपाईंहरुका शव्दोच्चारण कम्युनिष्ट आचरणसंग मेल खाँदैनन् । तपाईंहरुको “जेट बिमान” का यात्रुहरु (कार्यकर्ताहरु) मा न त जनवाद देखियो न केन्द्रीयता ।

जनवाद यस अर्थमा देखिएन कि तपाईंको पार्टीभित्रका इमानदार कार्यकर्ताहरुले बैचारिक कुरा राख्ने बित्तिकै, संगठनात्मक अनुशासनको कुरा गर्ने बित्तिकै, संगठनात्मक पद्दतिको कुरा गर्ने बित्तिकै, आलोचना/आत्मालोचनाको कुरा गर्ने बित्तिकै तपाईंहरुका ‘पुच्छर विनाका हनुमान’हरुले एकोहोरो लखेट्न थाल्छन् । सामुहिक निर्णय हुन छाडे, तपाईंले जे सोच्यो, पार्टीको आधिकारिक निर्णय त्यही हुन थाल्यो । “छलफल र निर्णयमा जनवाद, कार्यान्वयनमा केन्द्रीयता” भन्ने थियो तर यहाँ छलफलमै केन्द्रीयता लाद्न थालियो । अवस्था यस्तो भइसक्यो कि तपाईं स्वयं र हनुमानहरुसँग प्रतिवाद गर्ने साहसनै रहेन अरु नेता कार्यकर्ताहरुमा । केन्द्रीयता यसकारण देखिएन कि नेतृत्वले गरेको निर्णय कार्यान्वयन हुँदैन, तपाईं स्वयंले पनि आफैले गरेको निर्णय विरुद्ध काम गर्नु हुन्छ र तपाईंका खास खास व्यक्तिहरुले पनि तपाईंको निर्णय विरुद्ध काम गर्नु हुन्छ ।

प्रतिवाद गर्ने कुरामा तपाईं स्वयं पनि कम हुनुहुन्न कमरेड । कसैले सामाजिक सञ्जालमा तपाईंको बिरोध गर्‍यो, तपाईं त्यसको खण्डन गर्नु हुन्छ, कसैले बैठकमा तपाईंको वारेमा बोल्यो, त्यसको खण्डन गर्नुहुन्छ, कसैले भाषणमा सरकारको बिरोध गर्‍यो तपाईं त्यसको खण्डन गर्नुहुन्छ, सरकारका गलत क्रियाकलापहरुको विरुद्धमा समाचार सम्प्रेषण भयो, तपाईं त्यसको खण्डन गर्नु हुन्छ । यो बडो दुर्भाग्यपूर्ण कुरा छ, हाम्रो देशका प्रधानमन्त्री, दक्षिण एसियाकै ठूलो भनिएको कम्युनिस्ट पार्टीका अध्यक्ष, यति फुर्सदिला छन् भन्ने कुराको उदाहरण हो यो । यद्यपि सवै सञ्चारकर्मीहरुले तपाईंको रचनात्मक आलोचना मात्र गरेका छन भन्ने दावी मेरो छैन, कतै ध्वंसात्मक र पूर्वाग्रहपूर्ण आलोचना पनि छन्, तर आलोचनाबाट सिक्ने हो, प्रतिवाद गर्न सम्भव छैन ।

तपाईंले पटक–पटक भन्ने गरेको “भ्रष्टाचार” को बिषय यो महामारीको बेला झनै चर्चामा छ । भ्रष्टाचार भएको कुरा बाहिर आउँछ, तपाईंको सचिवालय प्रतिवाद गर्छ । यसले दुई कुरा संकेत गर्छ : या त तपाईं आफैं पनि भनाइ र गराइमा अन्तर राख्नु हुन्छ, या फेरि तपाईंको सचिवालयले तपाईंलाई गलत “ब्रिफिङ्ग” गर्दै आएको छ । यसलाई क्लियर गर्नु जरुरी छ ।

प्रधानमन्त्री ज्यू,

तपाईंका लागि राजनीतिक रुपमा यो स्वर्णिम अवसर थियो । संघीय संसदमा सुविधाजनक बहुमत, ६ प्रदेशहरुमा दुईतिहाई बहुमत, स्थानीय तहमा बहुमत, यति ठूलो जनमत तपाईंहरुसँग छ कि यदि तपाईंहरुले चाहानु भयो भने ‘शासन’ र ‘सत्ता’ दुवैलाई निर्वाध रुपमा सञ्चालन गर्न सकिन्थ्यो । प्रमुख प्रतिपक्ष कांग्रेस निर्वाचनको हारले अहिलेसम्म पनि “शमसानवैराग” बाट मुक्त हुन सकेको छैन । कांग्रेसले अहिले आफ्नो राजनीतिक एजेण्डा के हो भन्ने बिषयनै टुङ्गो लगाउन सकेको छैन ।

सरकारको बिरोध गर्ने एजेण्डा खोज्दै हिँड्नुपर्ने अवस्था कांग्रेसको छ अहिले ।अन्य प्रतिपक्षहरुको संसदीय र सडक उपस्थिति नगण्य तहमा छ । त्यसैले प्रतिपक्षविहीन जस्तै अवस्था थियो । यो अवस्था बहुदलीय प्रजातन्त्रमा बिरलै पाइने अवस्था हो ।

तर, दुर्भाग्यः तपाईंहरुको दम्वले आँखामा पट्टी बाँधेको छ ।तपाईंहरु आफ्नै दलभित्र प्रतिपक्ष जन्माइरहनु भएको छ । तपाईंहरुको पार्टीमा अब संगठन रहेन, गुटमात्र बाँकी रहे । कम्युनिस्टहरुले भन्ने गरेको “दुई लाईन संघर्ष” होइन, अव “गुटगत संघर्ष” मात्रै बाँकी रह्यो । गुटगत राजनीति तपाईंहरुको पार्टीमा यसरी झांगियो कि तपाईंले दाबी गर्नुभएको जस्तो त्यो ‘जेट विमान’ आकाशमार्गमै दुर्घटना हुने खतरा बढेको छ ।

तपाईं नेतृत्वकर्ता भएका कारण एकपटक ध्यानदृष्टिले विचार गर्नु जरुरी छ । हरेक बिरोधहरु बिरोधका लागि मात्रै हुँदैनन् भन्ने कुराको हेक्का राख्नु जरुरी छ । अझै धेरै बिग्रेको छैन, तपाईं आफैं, कोपाईलट र चालक दलका सदस्यहरु एकपटक जिम्मेवार भएर छलफल गर्नुहोस् ।

जनताको आशा, तपाईंहरुको प्रतिवद्धता, वर्तमान परिवेश, तपाईंहरुको यात्रा सवै कुरालाई आत्मसमिक्षा गर्नुहोस् । अझै समय छ, भीरमै पुगिसकेको अवस्था पनि छैन तर मार्ग भीरउन्मुख छ । जसरी नाकावन्दीको बेलामा तपाईंलाई जनताले देवत्व प्रदान गरे, त्यसरी नै बाँकीको तीन वर्षमा जनताको अपेक्षा र तपाईंहरुको चुनावी प्रतिवद्धता अनुसार काम हुन सक्यो भने फेरि पनि जनताले देवत्वकरण गर्नेछन् । किनकी जनता महान हुन् ।

यदि त्यसो हुन सकेन भने बादलमा हराएको तपाईंको “जेट विमान” दुर्घटना हुन बेर लाग्दैन । यदि दुर्घटना भयो भने तपाईं, कोपाइलट, चालक दलका सदस्यहरु र यात्रुहरुको के दुरदर्शा होला भन्ने यहाँ उल्लेख गरिराख्नु पर्दैन । जनता हरेक पटक उल्लु हुँदै आएका छन् । ००७ साल, ०१५ साल, ०१७ साल, ०१९ साल, ०३६ साल, ०४६ साल, ०५२ साल, ०५९ साल, ०६२/०६३ साल, ०६४ सालमा त पटक–पटक जनता आशैआशमा उल्लु भएकै हुन् भने ०७४ सालमा एक पटक तपाईंले उल्लु बनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment