Comments Add Comment

२५ दिनदेखि सडकमा बाँडेको भातको भर

१७ वैशाख, काठमाडौं । गोर्कर्णेश्वर नगरपालिका जोरपाटीमा विहान १० बज्नुअघि नै सडकमा मानिसहरुको भीड लाग्छ ।

लकडाउनका कारण सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन भने पनि यहाँको सडकमा विहान १० बजे र बेलुका ५ बजे ठूलो भीड लाग्छ । यो भीड लकडाउन उल्लंघन गर्नेहरुको होइन, लकडाउनका कारण समस्यामा परेकाहरु भोको पेट भर्न आएका हुन् ।

जोरपाटीमा स्थानीय युवा समूहले हरेक दिन विपन्न र ज्यालादारी मजदुरलाई खाना खुवाउने गरेका छन् ।

बुधबार खाना खाने भीडमा भेनिइन् सुनसरीकी शर्मिला सशंख । जोरपाटीमा डेरा गरी बस्ने उनको परिवारका ५ सदस्य २५ दिनदेखि सडकमै खाना खाइरहेका छन् ।

लकडाउनअघि शर्मिला र उनको श्रीमान ज्यामी काम गर्थे । उनीहरु दुवैले कमाएको पैसाले जीविका चलेको थियो । लकडाउनपछि काम गर्न जान नपाएका उनीहरुलाई वडा कार्यालयले दिएको ५ किलो चामल राहत पनि सकिइसक्यो ।

त्यसपछि पाँच जनाको परिवारको आहारा यही सडकमा बाँडेको खाना नै हो । उनीहरु विहान ९ बजे नै खानाको लाइनमा आइपुग्छन् । पहिले आमाछोरी खाना लिएर जान्छन्, अनि बाबुछोरा लिन आउँछन् । त्यसपछि कोठामा ल्याएर बाँडेर खान्छन् ।

‘यही खाना पनि नबाँडेको भए त हाम्रो बिचल्ली हुन्थ्यो । छोराछोरीलाई भोक लागे के खुवाउने ? सुरुसुरुमा त लाज लाग्थ्यो, लाज लागेर पनि के गर्नु भोक लागेपछि लाज मानेर भएन’ शर्मिलाले सुनाइन् ।

लकडाउन सुरु हुनुअघि गाउँ जानेबारे पनि उनीहरुले सोचेका थिए । तर लामो समय घरबाहिर बसेकाले लकडाउनका बेलामात्र घर जाँदा परिवारका सदस्यले केही भन्छन् कि भन्ने अप्ठेरो लाग्यो ।

‘मरे जहाँ गए पनि मरिन्छ, गाउँ गएर चाहिँ केही हुने होइन बाउआमाले दुख गरेको ठाउँमा गएर खान उल्टै लाज हुन्छ । एक पैसा लैजान सकिदैन’ उनले भनिन्
खाना लिनेकै लाइनमा भेटिएका दुर्गाबहादुर तामाङ जहरसिंह पौवामा मजदुरी गर्थे । उनी र उनको साथी धनकुटासम्म हिँडेर जान थलीसम्म आएका थिए ।

उनीहरुलाई लिन गाउँपालिकाले बस पठाएको थियो । तर पछि बस नआएपछि बिचल्लीमा परे । त्यसपछि जोरपाटीमा साथीकोमा आएका उनीहरु साथीसँगै खाना खाने लाइनमा मिसिए ।

सुरुमा उनीहरुले साबुन पानीले हात धोए, स्वयंसेवकहरुले नामसमेत नसोधी खाना र पानी दिएपछि खुशी हुँदै साथीको कोठामा गए ।

खाना लिने लाइनमा १३ वर्षकी बालिका सानी बहिनीसँगै आएकी थिइन् । उनकी आमा गलैंचा बुन्छिन् भने बाबु घर बनाउने काम गर्छन् ।

अहिले काम नभएपछि विहान बेलकी सडकमै बाँडेको खाना लिन आउँछन् र कोठामा लगी बाँडेर खान्छन् ।

‘हामी त एक/दुई छाक भोकै थियौं, छिमेकी आन्टीले खाना बाँड्छट रे भनेर सुनायो नभन्दै हो रहेछ । यहाँको खाना पनि मिठो हुन्छ’ उनले खुसी हुदै भनिन् ।

भोको पेट भर्न सक्रिय

लकडाउनका कारण भोकै भएकाहरुलाई जोरपाटीको सुन्दरटोल जनजागृत टोलका युवाले २५ दिनदेखि यसरी नै खाना खुवाउँदै आएका छन् । उनीहरुलाई वडा कार्यालयले सहयोग गरेको छ ।

सुरुमा उनीहरु खाना पकाएर मोटसाइकलमा बाँड्दै हिँड्थे । अहिले पकाएर चोकमा लगेर बाँड्छन् ।

टोलकै महिलाहरुले खाना बनाउन सहयोग गर्छन् । पुरुषहरु खाद्यान्न र तरकारीको जोहो गर्छन् । खाना खान आउनेको ज्वरो नाप्नेदेखि हात धुने काममा सहयोग गर्छन् । खाना खानेहरुलाई एक बोतल पानी पनि दिन्छन् ।

उनीहरुले दैनिक १२ सय जनालाई खाना खुवाउँछन् । सुरुका दिनमा खाना खानेहरु सडकमा रात गुजार्नेहरु मात्रै हुन्थे । तर पछि संख्या थपिँदै गयो ।

‘केही गरी खाना सकिए उहाँहरुलाई भोकै पठाउदैनौं, चिउरा चाउचाउ भए पनि दिएर पठाउछौं, भोकै कसैलाई पनि पठाएका छैनौं,’ स्थानीय युवक पासाङ शेर्पाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment