Comments Add Comment

तिर्खाएका बामदेवलाई प्रधानमन्त्रीको ‘ललिपप’

परिहासयुक्त अभिव्यक्तिका लागि चर्चित छन् हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली । केही समययता कोरोनाको संकट र आफ्नै अस्वस्थताले उनको यो विशेषतालाई जनताले ‘मिस’ गर्दै आएका थिए । तर, बोलीमा नभएर के भो ? प्रधानमन्त्री ओलीले व्यवहारमै परिहास देखाउन थालेका छन् ।

बामदेव गौतमलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रधानमन्त्री ओलीले लकडाउनमा बसेका देशवासीलाई मनोरञ्जनको नयाँ मसला दिन खोजेका छन् । तर, दु:खको कुरा, ओलीको यो प्रस्तावले जनताको मुहारमा हाँसोभन्दा क्रोध बढी उत्पन्न गरेको छ ।

वर्तमान प्रधानमन्त्रीबाटै भावी प्रधानमन्त्रीका रुपमा आफ्नो नाम आएपछि गौतमको भित्री हृदय सल्बलायो नै होला। आखिर उनी प्रधानमन्त्री पदका लागि तड्पिएको लामै समय भइसक्यो । ओलीका निकटस्थहरूलाई पनि उनकै मुखारबिन्दबाट आएको प्रस्तावमा समर्थन जनाउन कर लाग्यो होला । अन्यथा, यो प्रस्तावले अरू कसैलाई पनि आकर्षित गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस केपी ओलीको प्रस्ताव : वामदेव प्रधानमन्त्री, माधव नेपाल तेस्रो अध्यक्ष

सचिवालय बैठक अगाडि प्रधानमन्त्रीबाट बामदेवको प्रस्ताव आउने कुनै गाइँगुइँ थिएन । बालुवाटारकै निर्देशनमा सत्तारुढ सांसदहरू सरकारको पक्षमा बहुमत देखाउन हस्ताक्षर संकलन गर्दै हिँडिरहेका थिए । प्रधानमन्त्री ओली अविश्वास प्रस्ताव आए फेस गर्ने मुडमा रहेको चर्चा थियो । उनका विश्वासपात्र भन्दै थिए, ‘यो सरकार ढाल्न असम्भव छ, उनीहरूले संसदमा कसरी बहुमत पुर्‍याउँछन् हेरौँला ।’

बालुवाटारमा प्रधानमन्त्री स्वयं भन्दै थिए, ‘म आफू कुनै कदम चाल्दिनँ । उनीहरू जस्तो बलिङ गर्छन्, त्यसैअनुसार ब्याटिङ गर्छु ।’

तर, व्यवहारमा प्रधानमन्त्री अन्धाधुन्ध ब्याटिङ गर्न थालेका छन् । आत्तिएर हो वा खेलाँची गरेर, उनले बल नबुझी ठूलो सट खेल्न खोज्दा क्याच आउट हुने सम्भावना बढेको छ ।

बामदेव गौतम प्रधानमन्त्री हुनै नसक्ने वा हुनै नहुने नेता अवश्य होइनन् । राजनीतिमा उनको लामो अनुभव र योगदान छ । विगतमा उपप्रधानमन्त्री भइसकेका पनि हुन् । तर, अहिलेको जुन राजनीतिक परिस्थिति र संवैधानिक व्यवस्था छ, त्यसले उनलाई कम्तीमा यो संसदीय कार्यकालमा प्रधानमन्त्रीको सपना नदेख्न कर लाग्छ ।

प्रधानमन्त्रीले कुन आशयले वामदेवको नाम अघि सारेका हुन् भन्ने पनि महत्वपूर्ण पाटो हो । के उनी साँच्चै प्रधानमन्त्री पद त्याग गर्न तयार भएका हुन् ? के साँच्चै वामदेवलाई आफ्नो उत्तराधिकारीका रुपमा देख्न चाहन्छन् ? यसमा विश्वस्त हुने आधारहरू छैनन् ।

समाचारमा आएअनुसार प्रधानमन्त्रीले अहिले होइन, कोरोनाको महामारी सकिएपछि बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् ।

नेपालमा कोरोनाले महामारीको रुप लिएको छैन । त्यसैले ओलीले विश्वबाटै महामारी अन्त्यको कुरा गरेको बुझ्न सकिन्छ । तर, कोरोनाको महामारी कहिले सकिन्छ भन्ने डब्लुएचओले नै भन्न सकेको छैन । न यसको भ्याक्सिन वा औषधि पत्ता लागेको छ । विज्ञहरूले महामारी अन्त्य हुन दुई वर्षसम्म लाग्न सक्ने बताइरहेका छन् । त्यसैले प्रधानमन्त्रीकै प्रस्तावअनुसार पनि वामदेवले कम्तीमा डब्लुएचओले विश्वबाट महामारी अन्त्य भएको घोषणा पर्खिनुपर्ने हुन्छ । त्यसका लागि कम्तीमा एक वर्ष लाग्न सक्छ ।

मानौं, त्यो अहिले अनुमान गरिएभन्दा चाँडो केही महिनाभित्रै महामारी रोकियो रे । त्यस अवस्थामा पनि ओलीले चाहँदैमा बामदेव प्रधानमन्त्री भइहाल्ने परिस्थिति छैन । यसकारण कि उनी चुनाव हारेका नेता हुन् ।

चुनाव हारेका नेतालाई प्रधानमन्त्री बनाउने प्रस्तावले ओलीलाई जनस्तरमा झन् आलोचित बनाउने छ । अहिले संकटको घडीमा सरकार ढाल्नु हुँदैन भनेर ओलीलाई साथ दिइरहेकाहरू समेत असामञ्जस्यमा पर्नेछन्

अहिलेको संवैधानिक व्यवस्थाले चुनाव हारेको नेता प्रधानमन्त्री बन्ने कल्पना गरेको छैन । यस अवस्थामा दुई विकल्प छन् : पहिलो, बामदेवलाई राष्ट्रिय सभामा लैजाने, त्यसपछि राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संसोधन गर्ने । तर, यो प्रक्रिया जटिल र व्यवहारमा असम्भव जस्तै छ । संविधान संसोधनका लागि दुईतिहाई चाहिन्छ । वामदेवलाई प्रधानमन्त्री बनाउने सवालमा नेकपाभित्रै आमसहमति जुट्न सक्दैन । अरू पार्टीले त झन् यसमा समर्थन जनाउने कुरै भएन ।

यसअगाडि पनि वामदेवलाई राष्ट्रिय सभामा लैजाने प्रयास भएको थियो । त्यसबेला उनलाई प्रचण्डहरुले बोकेका थिए भने ओली समूहले अवरोध गरेको थियो । अहिले ओली समूहले वामदेवलाई बोक्यो भने प्रचण्ड समूहले पक्कै अवरोध गर्नेछ । यसको अर्थ, वामदेव प्रधानमन्त्रीको प्रस्तावमा लोभिए भने ‘घरको न घाटको’ बन्न सक्नेछन् ।

अर्को विकल्प भनेको वामदेवलाई प्रत्यक्ष चुनाव उठाएर जिताउने हो । ल मानौं, कुनै एउटा निर्वाचन क्षेत्र खाली गराएर त्यसमा चाँडोभन्दा चाँडो उपचुनाव गराएर वामदेवलाई नेकपाले उम्मेदवार बनाउला । तर, उम्मेदवार बनाउने कुरा पार्टी वा ओलीको हातमा भए पनि जिताउने कुरा जनताको हातमा छ । अघिल्लो निर्वाचनमा आफ्नै क्षेत्रबाट हारेका वामदेवले नेकपाको गढमै गएर चुनाव लडे भने पनि जित्ने ग्यारेन्टी छैन ।

बरु हार्ने सम्भावना बलियो छ । एक त नेकपाको लोकप्रियता तीव्र ह्रास आइरहेको छ भने अर्को बामदेव आफैँ लोकप्रिय नेता होइनन् । उनले पछिल्लो समय अनैतिक तवरले चोरबाटोबाट सत्तामा पुग्न गरेको मरिहत्ते जनताले रुचाएका पनि छैनन् ।

अब प्रधानमन्त्रीको सम्भावित ‘गुप्त रणनीति’तिर जा‌औं । के उनले प्रचण्ड-माधव-वामदेव गुटलाई बिथोल्नका लागि नै यो जाल फ्याँकेका हुन् त ? केही समययता पार्टीका चार शीर्ष नेता एक ठाउँ हुँदा ओली पार्टीका सबै कमिटीमा अल्पमतमा परेका छन् । ओलीविरोधी मोर्चा निकै बलियो देखिएको छ । यस स्थितिमा उक्त मोर्चालाई कमजोर पार्न ओलीले यो हत्कण्डा अपनाएको अनुमान पनि छ ।

वामदेवलाई प्रधानमन्त्रीको ललिपप देखाएर आफूतिर तान्ने ओली पक्षको रणनीति हुन पनि सक्छ । प्रधानमन्त्री ताकिरहेका वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका छन् ।

आफ्नो प्रस्तावमा दुई नेता लोभिएको खण्डमा प्रचण्ड एक्लिने र उनीसँग पूर्वमाओवादी समूह र झलनाथ खनाल मात्र बाँकी रहने प्रधानमन्त्रीको आकलन हुन सक्छ । पूर्वमाओवादी समूहका पनि धेरै जना प्रचण्डसँग नरहन सक्छन् ।

यस्तो हो भने पनि यो आफैँमा गतिलो रणनीति होइन । चुनाव हारेका नेतालाई प्रधानमन्त्री बनाउने प्रस्तावले ओलीलाई जनस्तरमा झन् आलोचित बनाउने छ । अहिले संकटको घडीमा सरकार ढाल्नु हुँदैन भनेर ओलीलाई साथ दिइरहेकाहरू समेत असामञ्जस्यमा पर्नेछन् । यसले पार्टीमा ओलीकै समूहभित्र असन्तुष्टि सिर्जना गर्नेछ ।

दोस्रो कुरा, बामदेवलाई आफूतिर तान्न सफल भए भने पनि उनीसँग त्यति ठूलो समूह नेकपाभित्र छैन, जुन निर्णायक सावित होस् । निर्णायक समूह बरु माधव नेपालसँग छ । तर, प्रधानमन्त्रीको आशमा रहेका उनी ‘तेस्रो अध्यक्ष’ को प्रस्तावमा लोभिएर ओलीतिर आउलान् नै भन्न पनि सकिँदैन । प्रचण्ड र नेपाल एकातर्फ रहेसम्म ओलीको घाँटीमा खतराको तरबार झुण्डिइरहने छ ।

त्योभन्दा महत्वपूर्ण कुरा, ओलीको प्रस्तावले देशमा राजनीतिक अस्थिरता र किचलो झन् बढाउने भयो । अहिलेको विवाद कसरी छिटोभन्दा छिटो समाधान हुन सक्छ भन्ने गरी प्रधानमन्त्रीको प्रस्ताव आउनुपर्ने थियो । ओलीले तत्काल नेकपा अध्यक्ष त्याग गर्ने घोषणा गरेर त्यसमा माधव नेपाललाई प्रस्तावित गरेको भए त्यो सर्वोत्तम विकल्प हुन्थ्यो । प्रचण्डको समानान्तर अध्यक्ष बन्न पाए माधव नेपाल सन्तुष्ट बन्नसक्थे । सरकारमाथि आइपरेको संकट पनि टर्न सक्थ्यो । स्वास्थ्यका कारणले पनि प्रधानमन्त्री अहिले दोहोरो जिम्मेवारी निभाउन सक्ने अवस्थामा छैनन् ।

जहाँसम्म प्रधानमन्त्री त्याग्ने प्रश्न छ, नेपालमा कोरोनाको त्रास सकिएर जनजीवन सामान्य अवस्थामा आएपछि ओलीले यो जिम्मेवारी बिसाउँदा राम्रै हुन्छ । त्यसको घोषणा अहिले नै गरिरहनु आवश्यक छैन । कोरोना सकिएपछि सरकार छोड्छु भनेर अहिले घोषणा गर्दा सरकारमा रहेका मन्त्रीहरू नै कोरोना रोकथाममा निरुत्साहित हुन सक्छन्। जति चाँडो कोरोना सकियो, त्यति चाँडो मन्त्री खुस्किने भयो भने उनीहरू कसरी उत्साहित भएर कोरोना नियन्त्रणमा लाग्लान् ?

देश असामान्य अवस्थामा छ । जनता झण्डै डेढ महिनादेखि लकडाउनमा कैद छन् । यहीबेलामा सरकार ढाल्नेदेखि पार्टी फुटाउनेसम्मका खेल हुनु लाजमर्दो स्थिति हो देशका लागि । जनतालाई घरभित्र थुनेर नेताहरूले देखाइरहेको नग्न नृत्यले जनतालाई जनतालाई विरक्त तुल्याइरहेको छ । नेपालमा राजनीतिलाई फोहोरी खेल मानिएको त्यसै कहाँ हो र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment