Comments Add Comment

सप्तरीमा हात्तीका कारण घरभित्रै बस्न पनि त्रास

१९ वैशाख, सप्तरी । हात्तीको त्रासका कारण सप्तरीको पूर्वी भेगका बासिन्दा घरभित्र बस्न पनि डराएका छन् ।

नजिकै रहेको कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा निस्किने हात्तीले सर्वसाधारणको बालीनाली सखाप पार्ने, घर तोडफोड गर्ने र व्यक्तिमाथि आक्रमण गर्दै आएको छ ।

जिल्लाका कञ्चनरुप नगरपालिका, अग्निसाइर कृष्णासावरण तथा रुपनी गाउँपालिकाका वासिन्दा हात्तीका कारण हैरान छन् । अग्निसाइर कृष्णासावरण गाउँपालिकामा पछिल्लो पाँच दिनयता नियमित हात्ती प्रवेश गरिरहेको स्थानीय प्रदीप आचार्य बताउँछन् । उनका अनुसार बारीमा लगाइएको अन्न र तरकारी खाँदै हात्तीले सर्वसाधारणको घरसमेत भत्काएको छ ।

लकडाउनको समयमा सरकारले सर्वसाधारणलाई घरबाहिर ननिस्कन भनेको छ । तर यहाँका वासिन्दा घरभित्र बस्न पनि डराएका छन् ।

वैशाख १७ गते राति आएको हात्ती आँगनभित्र पस्दा त्रसित भएर भाग्न खोजेका अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ महुलीका भुवन आचार्य लडेर घाइते भएका छन् । ‘हात्ती आँगनमै पसेपछि उहाँ ज्यान जोगाउन दौडेर भाग्न खोज्दा लड्नुभयो’ प्रदीपले भने, ‘लडेपछि उहाँको नाक, छाती, निधारसहित शरीरमा अधिकांश ठाउँमा गम्भीर चोट लागेको छ ।’

उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ‘सम्बन्धित सबै निकायलाई हात्ती दैनिक पसेर जनतालाई सताइरहेको जानकारी छ’ उनले भने, ‘तर कसैले कुनै किसिमको ध्यान दिन सकेका छैनन् ।’

यसअघि गत माघ र फागुनमा हात्ती आक्रमणबाट यस क्षेत्रका दुई जनाले ज्यान गुमाइसकेका छन् । कञ्चनरुप नगरपालिका ५ कि ४१ वर्षीया चन्द्रिकादेवी मुखिया र वडा नम्बर ११ गोरपार बस्ने नन्दकिशोर मण्डलकी ५३ बर्षीया कौशिला देवी मण्डलको हात्ती आक्रमणमा ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment