Comments Add Comment

जापानमा कोरोनाको कम परीक्षणले उब्जाएको प्रश्न

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन विश्वका एकपछि अर्को मुलुकले लकडाउन गर्दा जापान खुला थियो । त्यसैले धेरै मानिसहरूले किन लकडाउन गरिएको छैन भनेर प्रश्न गरे । यो प्रश्न स्वाभाविक पनि थियो । अमेरिका र युरोपमा भाइरस फैलिरहेको देख्दा जापानमा पनि महामारी नफैलिएला भन्न सकिने अवस्था थिएन ।

यद्यपि एक हिसाबमा यो प्रश्न गलत थियो । ताइवान, हङकङ, दक्षिण कोरिया र चीनकै अधिकांश भागमा पूर्णरुपमा लकडाउन गरिएको थिएन । अहिले जापानमा स्वास्थ्य आपतकाल घोषणा गरिएको छ । यससँगै लकडाउनको प्रश्न पनि सकिएको छ ।

तर, जापानमा अहिले उठेको प्रश्न हो– कोरोना भाइरसको परीक्षण किन कम भइरहेको छ ? जर्मनी वा दक्षिण कोरियालाई हेर्ने हो भने जापानमा निकै कम मात्र परीक्षण भइरहेको छ ।

उदाहरणका लागि ९३ लाख जनसंख्या भएको राजधानी टोकियोमा फेब्रुवरीयता केवल १० हजार नौ सय ८१ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमध्ये चार हजारमा भाइरसको संक्रमण देखिएको छ । निकै कम परीक्षण हुनु र परीक्षण गरिएकामध्ये धेरैमा संक्रमण भेटिनुले यसप्रति शंका उब्जाएको छ ।

जापानमा गम्भीर बिरामी भएपछि मात्र कोरोनाको परीक्षण हुन्छ । आधिकारिक दिशानिर्देशअनुसार डाक्टरहरूले बिरामीलाई निमोनिया भए मात्र कोरोना भाइरस परीक्षणको सिफारिस गर्ने गरेका छन् ।

जापानको स्वास्थ्य मन्त्रालयका अनुसार उल्लेख्य मात्रामा कोरोना भाइरसको परीक्षण बढाउने निर्णय गरेको भए पनि अहिले सरकारले कुल क्षमताको आधा मात्र परीक्षण गरिरहेको छ ।

यही कारण जापानमा कोरोना भाइरसको परीक्षण गर्न चाहने मानिसको असामान्य कथाहरू सुनिन थालेको छ ।

जोर्डन हेले जापानमा काम गरिरहेकी अमेरिकी नागरिक हुन् । उनलाई खासै राम्रो जापानिज भाषा आउँदैन । अप्रिल १० मा उनको एक साथीलाई खोकी लाग्ने र ज्वरो आउने समस्या देखिएको थियो । सरकारको दिशानिर्देशअनुसार कोरोना परीक्षण गर्न चार दिन प्रतीक्षा गर्नुपर्ने थियो । त्यसपछि उनको श्वासप्रश्वासमा समस्या देखियो र अक्सिजनको अभावमा उनलाई रिंगटा लाग्न थाल्यो । जोर्डनले कोभिड हटलाइनमा फोन गरिन् । तर, उनीहरूले सहयोग गर्न मानेनन् र एम्बुलेन्स बोलाउन सुझाव दिए ।

त्यसको भोलिपल्ट अर्थात् अप्रिल १५ मा उनको साथीलाई एक क्लिनिकमा लगियो, जहाँ एक्स–रे परीक्षण गर्दा डाक्टरले उनलाई कोभिड–१९ को संक्रमण हुनसक्ने तर अस्पताल भर्ना गर्नुपर्ने जरुरी नभएको बताए । उनलाई घर गएर आइसोलेसनमा बस्न भनियो ।

भोलिपल्ट अर्थात् अप्रिल १६ को राति समस्या बढ्यो । उनलाई लगातार खोकी र हाच्छ्युँ आइरहेको थियो । उनलाई अस्पताल लगियो । तर, धेरै ठाउँमा भर्ना लिन मानेनन् । दुई घण्टापछि बल्ल एक अस्पतालले भर्ना लियो । उनको श्वासप्रश्वासको समस्या भने बढ्दो क्रममा थियो । अस्पतालमा एक्स–रे गरियो र स्थानीय स्वास्थ्य संस्थामा कोभिड–१९ परीक्षण गर्न भनियो । तर, सिफारिस पत्र भने दिइएन ।

भोलिपल्ट जोर्डनले स्थानीय स्वास्थ्य केन्द्रमा खबर गरिन् । दुई घण्टासम्म एकबाट अर्को डेस्कमा भौतारिइन्, सोधिएका प्रश्नहरूको उत्तर दिँदै गइन् । त्यसपछि बल्ल उनको साथीलाई अप्वाइन्टमेन्ट मिल्यो र विभिन्न शर्तमा उनको कोरोना भाइरस परीक्षण गरियो ।

यो कथाबाट जापान किन मानिसको जीवनप्रति गम्भीर बन्न सकेको छैन भन्ने प्रश्न उठाइएको छ । तर, अझै पनि जापानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने चार सयभन्दा कम छ ।

सामाजिक सञ्जालमा भने जापानले उपचार आवश्यक पर्ने मानिसहरूलाई पहिचान गरी मेडिकल सेवा दिने गरेकाले कोभिड–१९ बाट मृत्यु हुनेको संख्या कम भएको समाचारलाई चर्चाको विषयको रुपमा देखाउने गरिएको छ । किङ्स कलेज लण्डनका प्राध्यापक केन्जी शिबुयाका अनुसार यो गलत पनि होइन । उनी सामान्य संक्रमण देखिएका मानिसभन्दा पनि गम्भीर बिरामीमा ध्यान केन्द्रित गर्नुपर्ने बताउँछन् ।

परीक्षणमा पनि लक्षण देखिएका मानिसहरूलाई बढी प्राथमिकता दिनु उचित हुने उनको भनाइ छ । तर, धेरैलाई परीक्षण नगर्नु जापानका लागि निकै जोखिमपूर्ण हुने उनको भनाइ छ ।

गत साता टोकियोको केईओ युनिभर्सिटीले अस्पतालले गरेको अध्ययनमा कोभिड–१९ सँग सम्बन्धित नरहेका बिरामीमा गरिएको परीक्षणमा ६ प्रतिशतलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो । यो अध्ययनले जापानमा सामुदायिक स्तरमा उल्लेख्य मात्रामा यो भाइरसको फैलिने जोखिम रहेको शिबुया बताउँछन् । यो अध्ययनअनुसार जापानमा संक्रमितको संख्या २० देखि ५० गुणासम्म हुन सक्ने उनको अनुमान छ ।

जापानमा कोरोनाबाट मृत्यु भएकामध्ये केही चर्चित अनुहार छन् । जसमा चर्चित कमेडियन केन शिमुरा, नायिका कुमिको ओकाइलगायत पनि पर्छन् । सात सुमो रेस्लर, टीभी कार्यक्रम प्रस्तोता, दुई व्यावसायिक बेसबल खेलाडी र एक चर्चित स्क्रिन राइटरमा पनि संक्रमण देखिएको छ ।

जापानको मेडिकल एसोसिएसनका प्रमुख योसिताके योकोकुराका अनुसार टोकियोमा भेटिएका ७० देखि ८० प्रतिशत नयाँ संक्रमित भाइरसको महामारी फैलिएको मुलुकमा नगएका मानिसहरू छन् । त्यसैले टोकियोमा नयाँ संक्रमितको संख्यामा कमी आएपनि पर्याप्त परीक्षण नभएकाले संक्रमितको संख्या घटिरहेको छ भन्ने विश्वास गर्न सकेका छैनन् ।

यसले जापानमा स्वास्थ्य आपतकालीन अवस्था कहिलेसम्म कायम रहन्छ भन्ने अन्यौल कायमै छ । जापानमा ‘गोल्डेन विक’को बिदा सुरु भएको छ । यो अवसरमा ६० हजार मानिसले ओकिनावा टापुमा भ्रमणको लागि टिकट काटेका छन् । उक्त टापुका गभर्नरले भने सबैलाई आफ्नो भ्रमण रद्द गर्न आग्रह गरेका छन् । यसरी धेरै मानिस भ्रमणका लागि जानुले भाइरस फैलिने खतरा धेरै रहेको बताइएको छ ।

प्राध्यापक शिबुया अहिलेको अवस्थामा जापानले आफ्नो नीति परिवर्तन गर्दै परीक्षणको संख्या बढाउनुपर्ने बताउँछन् । ‘उल्लेख्य संख्यामा परीक्षण नगरेसम्म यो महामारी अन्त्य हुन निकै गाह्रो छ,’ उनले भने ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment